तीन महिना बित्दासमेत भिसा पाइएन 

तीन महिना बित्दासमेत भिसा पाइएन 

विदुरः नेपाल-चीनबीच हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकाबाट चीन प्रवेशका लागि प्रक्रिया सुरु गरिएको तीन महिना बितीसक्दा पनि मल्टि इन्ट्री भिसा प्राप्त हुन नसकेपछि सरोकारवाला चिन्तित भएका छन् । आवेदन दिएको तीन महिना हुँदासमेत कसैले पनि उक्त भिसा प्राप्त गर्न नसकेपछि परराष्ट्र मन्त्रालयले विशेष प्रक्रिया थालेको छ ।

मल्टि इन्ट्री भिसाका लागि रसुवा प्रशासनले दुई सय ४१ थान आवेदन दर्ता गरी भिसाको लागि तीन महिना अगाडि सिफारिससहित गृह मन्त्रालय पठाएको थियो । सो प्रक्रिया हालसम्म नटुंगिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक केसीले बताए ।

ट्रक, कन्टेनर, उद्योगी व्यवसायी गरी दुई सय ४१ थान आवेदन दर्ता गरी भिसाको लागि गृहमन्त्रालय पठाइएकोमा गृह र परराष्ट्र मन्त्रालयबीच छलफल भइरहेको केसीले वताए । परराष्ट्र मन्त्रालयमार्फत चीनको अध्यागमन पुगे पछि मात्र सो भिसाको प्रक्रिया सुरु हुने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
यस सम्बन्धमा परराष्ट्रले विशेष प्रक्रिया सुरु गर्ने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताए । उनले यसबारे आफूले सहजतका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि बताए ।

मन्त्रालयले कुटनीतिक रूपमा चीनसँग छलफल गरिरहेको र केही हप्तामा समस्या समाधान हुने परराष्ट्रमन्त्री डा. महतको दाबी छ । उनले यसपछि रसुवागढी नाकाबाट आवतजावतमा सहजता हुने बताए ।

रसुवा प्रशासनले तीन सयजनाका लागि मल्टि इन्ट्री भिसा आवश्यक रहेको दाबी गरिरहेको छ । उक्त भिसा प्राप्त गरिसकेपछि रसुवागढी नाकाबाट व्यापारिक प्रयोजनका लागि उद्योगी, व्यवसायी, कन्टेनर चालकहरू केरुङसम्म आवतजावत गर्न पाउने छन् ।

भिसाका लागि यस अधि असोज महिनासम्मको समय लाग्ने जानकारी आए पनि कात्तिकको दुई साता बितिसक्दा पनि कुनै टुंगो नलागेको रसुवाका सहायक प्रजीअ दीपक केसीले जानकारी दिए । तर व्यवसायीले भने बडादसैं र तिहारमा सामान आयात गर्न समस्या परेको बताए ।

सरकारले तत्काल तदारुकता देखाएर भिसाको प्रक्रिया सुरु गर्नु पर्ने रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङ नुर्वु तामाङले बताए । भिसा प्राप्त गरेको भए तिहारमा सजिलै सामान आयात हुने उनको भनाइ थियो ।

रसुवा प्रशासनबाट उक्त भिसाका लागि सिफारिस भएकामा चालकको एक सय २२ थान र यातायात तथा उद्योगी व्यवसायीको एक सय १९ थान आवेदन रहेको छ । रायसुझावसहित फारम गृहमन्त्रालयमा पठाइएको थियो । ‘भिसा कहिले पाइने हो ठेगान छैन,’ अर्का व्यापारी मानवहादुर तामाङले बताए ।

 

उक्त आवेदन गृहमन्त्रालय हुँदै सिमा प्रशासन र परराष्ट्र मन्त्रालय हुँदै चीन सरकारसमक्ष पुगेको जनाइएको छ । सहज रूपमा मल्टि इन्ट्री भिसाका लागि गृह, परराष्ट्र र वाणिज्य मन्त्रालयले सहजीकरण गरिरहेको रसुवा प्रशासनले जनाएको छ ।

सरकारीस्तरमै छलफल भइरहेका कारण कात्तिकभित्रमा मल्टि इन्ट्री भिसा प्राप्त हुने विश्वास गरिएको छ । रसुवागढी नाकाबाट नेपालीलाई चीनीयाँ पक्षले ब्यबहारिकता हेरेर केरुङसम्म मात्रै प्रवेश दिदै आएको छ ।

चीनले मल्टि इन्ट्री भिसा प्रदान गरेपछि व्यापारिक कारोवारका लागि सुविधा पुग्ने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रसुवा प्रशासनमा मल्टि इन्ट्री भिसाको सिफारिसका लागि निवेदन परेका सबै आवेदन गृहमन्त्रालय पठाइएको थियो ।

गृहमन्त्रालयले मल्टि इन्ट्री भिसाका लागि परराष्ट्र मन्त्रालयलाई पठाउने नीति रहेको छ । परराष्ट्र मन्त्रालयले चीन पक्षलाई मल्टि इन्ट्री भिसाका लागि अन्तिम सिफारिससहित पठाउने जनाइएको छ । परराष्ट्र मन्त्रालयले चीनको अध्यागमनलाई पठाउने र भिसा प्रक्रिया सुरु हुने रसुवाका प्रजीअ कृष्णप्रसाद अधिकारीले बताए ।

रसुवा प्रशासनले रसुवामा दर्ता भएका आठ वटा ट्रक-कन्टेनर व्यवसायी, संघसंस्था, रसुवा उद्योग वाणिज्य संघ, नेपाल–चीन उद्योग व्यापार संघ, हिमालय सिमा व्यापार संघलगायत विभिन्न संघसंस्थामार्फत मल्टि इन्ट्री भिसाका लागि आवेदन दर्ता गरेको रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङ नुर्वु तामाङले बताए । उनका अनुसार उद्योग वाणिज्य संघमार्फत एक सय निवेदन दर्ता भएका थिए ।

रसुवामा दर्ता भएका आठ वटा ट्रक-कन्टेनर व्यवसायी संघसंस्थाले सिन्धुपाल्चोकको तातोपानी नाका हँदै सञ्चालन भएका ट्रक कन्टेनरलाई भने सञ्चालन गर्न नदिने जनाएका छन् । गोसाइकुण्ड, पासाङल्हामु ट्रक-कन्टेनर व्यावसायी संघलगायत तातोपानी नाकामा सञ्चालित ट्रक कन्टेनरले महिनाको तीन पटक केरुङ पुगेर सामान आयातनिर्यात गरिरहेका छन् ।

रसुवामा दर्ता भएका ट्रक-कन्टेनर व्यवसायी संघसंस्थाले भने महिनाको एक पटक मात्र सामान आयातनिर्यात गर्न पाएको गुनासो गोसाइकुण्ड ट्रक कन्टेनर व्यवसायी समितिका सचिव अशोक अधिकारीले बताए । उनले तातोपानी नाकामा सञ्चालन भइरहेका ट्रक–कन्टेनरलाई रसुवागढी नाकामा प्रवेश गर्न दिन नहुने आफूहरूको माग रहेको बताएका छन् ।

उनीहरूको मागलाई मुख्य राजनीतिक दल काँग्रेस, एमाले, माओवादी तथा नयाँशक्ति पार्टिले पनि समर्थन गरेका छन् । यसो गर्दा सिन्डिकेट हुने तातोपानीमा सञ्चालित ट्रक–कन्टेनर व्यवसायीले बताएका छन् ।

आफूलाई यसको आधिकारिक जानकारी नभएको दाबी गर्दै रसुवाका प्रजीअ कृष्णप्रसाद अधिकारीले सिन्डिकेट कानुन विपरीत भएको बताए । काठमाडौंबाट एक सय ५५ किलोमिटर दुरीमा रहेको रसुवागढी नाका नेपाल-चीन प्रवेशको छोटो तथा ठुलो नाका हो ।

सो नाकाबाट गत वर्षदेखि आयातनिर्यात सञ्चालन गरिएको थियो । हाल सिन्धुपाल्चोकतर्फको तातोपानी नाका बन्द रहेको अवस्थामा रसुवागढी नाका मात्र सञ्चालनमा रहेको छ ।

रसुवागढी नाकाबाट सहज व्यवस्थापनका लागि नेपाल तथा चीनीयाँ पक्षसँग छलफल जारी रहेको रसुवा प्रशासनले जनाएको छ । नेपालीले चीनबाट मल्टि इन्ट्री भिसा पाएपछि द्विपक्षिय व्यापारमा निकै बढोत्तरी आउने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक केसीले बताए ।

चीनले दिने मल्टि इन्ट्री भिसाको अवधी ६ महिनाको हुने जनाइएको छ । सो भिसाबाट चीन प्रवेश गर्ने उद्योगी, व्यवसायी, कन्टेनर सबैलाई सुविधा पुग्ने रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङ नुर्वु तामाङले बताए ।

हाल रसुवागढी नाका हुदै केरुङ प्रवेशको लागि रसुवाबासीलाई परिचय पत्र तथा अन्य व्यक्तिलाई एक दिने प्रवेश पासको व्यवस्था गरेको छ । चीनको केरुङ नाका प्रवेशको मल्टि इन्ट्री भिसाका विषयमा ट्रक–कन्टेनर व्यावसायीले सिन्डिकेट लगाउन खोजेको अरोप लागेको छ ।

मल्टि इन्ट्री भिसाका विषयमा गोसाइँकुण्ड कन्टेनर व्यवसायी समितिले गाडी संख्याको आधारमा कोटा पाउनुपर्ने जनाएको थियो । मल्टि इन्ट्री भिसाका लागि आवेदन दिनेमा ८० प्रतिशत कन्टेनर तथा मालवाहक गाडीका चालक र २० प्रतिशत उद्योगी व्यापारी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.