बिउ आलु बिक्री गर्दै किसान
स्याङ्जाः विगतमा आलु लगाउन बाहिरी जिल्लाबाट बिउ आलु खरिद गर्ने यहाँका किसान यस वर्षदेखि बिक्री गर्न सफल भएका छन् । तुलसीभन्ज्याङका आलु किसानले यस वर्ष एक सय ४३ मेट्रिक टन बिउ आलु बिक्री गर्नेे जानकारी दिएका छन् । ती मध्ये आधाजसो बिक्री भैसकेको छ भने बाँकी खरिदकर्ता आउने क्रममा छन् ।
गत वर्ष काभ्रेबाट ३० मेट्रिक टन बिउ आलु खरिद गरी खेती गरेका यहाँका किसानले यस वर्ष तनहुँ, पर्वत र गुल्मीमा बिउ आलु बिक्री गरेका हुन् । उन्नत बिउबाट यहाँ उत्पादित जनकदेव आलु तनहुँमा ५० मेट्रिक टन, पर्वतमा २५ मेट्रिक टन, गुल्मीमा १० मेट्रिक टन र स्याङजाका लागि २५ मेट्रिक टन आलुको माग रहेको आलु उत्पादक किसान रुमलाल कँडेलले जानकारी दिए । कँडेलका अनुसार तनहुँ र पर्वतमा भने क्रमशः ३५ मेट्रिक टन र १२ मेट्रिक टन आलु बिक्री गरिसकिएको छ । पुस्ता अनुरुप बिउ आलु प्रतिकिलो ६५ देखि ९० रुपैयाँसम्ममा बिक्री गरिएको छ ।
कृषि विभागको एकीकृत सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको नमुना नगदे बालीअन्र्तगत बिउआलु उत्पादनका लागि तुलसीभन्ज्याङलाई छनोट गरिएको हो । यहाँका किसानले दुई वर्षदेखि तुलसीभन्ज्याङ गाविसलाई नमुना बिउ आलु उत्पादन स्रोत केन्द्र बनाउन क्लस्टर प्रणाली, सामूहिक वा व्यक्तिगत रूपमा व्यावसायिक आलुखेती गर्दै आएका छन् ।
गत वर्ष काभ्रेबाट ३० मेट्रिक टन बिउ आलु खरिद गरी खेती गरेका यहाँका किसानले यस वर्ष तनहँु, पर्वत र गुल्मीमा बिउ आलु बिक्री गरेका हुन ।
कृषि विकास कार्यालय स्याङ्जाको पनि तुलसीभन्ज्याङ गाविसलाई बिउ आलु उत्पादन स्रोत केन्द्र बनाई स्याङ्जालाई बिउआलुमा आत्मनिर्भर जिल्ला बनाउने उदेश्य रहेको वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले जानकारी दिए ।
यहाँका किसानले गएको वर्ष पहिलो चरणमा २७ हजार एक सय १२ किलो जनकदेव आलुका बिउ लगाएका थिए । यहाँ तीन सय ५० सय मेट्रिक टन आलु उत्पादन भएको छ । तीमध्ये एक सय ८० मेट्रिक टन भैरहवास्थित कोल्ड स्टोरमा राखिएको छ भने बाँकी आलु खान र बिक्रीमा प्रयोग भएको कृषि सेवा केन्द्र प्राविधिक मेघराज पौडेलले जानकारी दिए । यस वर्ष आलु रोपण क्षेत्र थप १० हेक्टर विस्तार गर्ने योजना रहेको पनि पौडेलले बताए ।
स्याङ्जाको हावापानी सुहाउँदो र उत्पादन पनि अत्यन्त राम्रो भएका बताउँदै जनकदेव जातको बिउ आलु क्लस्टर अनुरुप लगाईएको हो । क्लस्टर प्रणालीमा खेती गर्नेले जग्गामा अन्य बाली लगाउँदैनन् ।
तुलसीभन्ज्याङ गाविस आलु उत्पादन पकेट क्षेत्र हो । आलुबाट यहाँका किसानले बर्सेनि लाखौं रुपैयाँ आम्दानी गरेका छन् । गत वर्ष रुमलाल कडेलले मात्र ७ लाख रुपैयाँ आम्दानी गरे । उनले यस वर्ष पनि ५० रोपनी जग्गामा व्यक्तिगत रूपमा आलु लगाउने भएका छन् । उनीलगायत दर्जनौं यहाँका किसानले आलुबाट लाखौ रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।
स्थानीय बासीले अन्य थप १५ हेक्टरमा सामूहिक तथा अन्य किसानले छुट्टाछुट्टै रूपमा पनि आलु लगाएका हुन् । गाविसका एक सय ७१ घरधुरीले सामूहिक रूपमा बिउ आलु उत्पादन गरेका छन् ।
किसानले क्लस्टर, सामूहिक र व्यक्तिगत रूपमा लगाइएको आलुबाट सात सय मेट्रिक टन आलु उत्पादन भएको नमुना नगदेबाली संयोजक रुमलाल कँडेलले जानकारी दिए । कडेलका अनुसारखान र बिक्रीका लागी चार सय मेट्रिक टन प्रयोग गरिएको थियो भने र अन्य तीन सय मेट्रिक टन बिउ आलुका लागि भैरहवास्थित चिस्यान केन्द्रमा राखिएको थियो ।