काठमाडौं-सिन्धुली साइकल यात्रा

काठमाडौं-सिन्धुली साइकल यात्रा

काठमाडौः मंगलबार काठमाडौंदेखि सिन्धुलीगढीसम्म साइकल यात्रा हुने भएको छ । गोर्खाली सेनाले तत्कालीन अंग्रेजी सेनालाई पराजित गरी फर्काइदिएको इतिहासको सम्झनामा ऐतिहासिक साइकल यात्रा हुने भएको हो । मंगलबारबाट आयोजना हुने उक्त यात्रामा ७० जना साइकल यात्रामा सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्त साइकल यात्रा कात्तिक २३ र २४ गते काठमाडौं–धुलिखेल हुँदै वीपी राजमार्गको बाटो सिन्धुली पुग्नेछ । ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा विजयोत्सवको रूपमा आयोजना गर्न लागिएको हो ।

सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन अंग्रेजी सेनालाई पराजित गरी वीरगाथा कमाएको ऐतिहासिक स्थल हो । त्यहाँ हरेक वर्षको कात्तिक २४ गते त्यसकै सम्झनामा विजयोत्सव मनाउने गरिएको छ ।

आगामी वर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० वर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई वर्षैभरी विशेष कार्यक्रम गरेर मनाउने योजना बनाएको छ । साइकल यात्रा त्यसैको सुरुआत भएको कार्यक्रम संयोजक सौरभ ढकालले जानकारी दिए ।

‘साइकल यात्राको माध्यमबाट सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य हो’, संयोजक ढकालले भने, ‘यस्तो साइकलयात्रा हरेक वर्ष गर्ने हाम्रो योजना छ ।’ ‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक वर्ष व्यावसायिक साइकलयात्रीलाई यात्रामा सहभागी गराउने समृद्ध सिन्धुली नागरिक अभियानका मिडिया कोअर्डिनेटर लिलानाथ घिमिरेले बताए ।

‘सिन्धुलीगढी ऐतिहासिक स्थल हुँदै हो, जापान सरकारले बनाइदिएको रमणीय वीपी राजमार्गले यस ऐतिहासिक स्थलसम्म पुग्न सहज बनाएको छ’, कोअर्डिनेटर घिमिरेले भने, ‘यस रमणीय सडकको अवलोकन गर्दै पुगिने सिन्धुलीगढीसम्मको यात्राले साइकल यात्रीलाई रोमाञ्चक अनुभूति दिने हामीले विश्वास लिएका छौं ।’

साइकल यात्रामा पर्यटन बोर्डले सघाउने भएको छ । स्थानीय रूपमा सिन्धुलीगढी संरक्षण समितिले कार्यक्रमको प्रवन्ध मिलाउने आयोजकले जनाएको छ । ‘राइड टु सिन्धुलीगढी’ मा यात्रा गर्न ७० जना साइकल यात्रीले नाम लेखाएका छन् । साइकल यात्राको नेतृत्व प्रसिद्ध विश्व साइकल यात्री पुस्कर शाह र देवेन्द्र बस्नेतले गर्नेछन् ।

साइकल यात्रीले काठमाडौंबाट झन्डै एक सय ३५ किलोमिटर यात्रा तय गर्नेछन् । उनीहरू पहिलो दिन सिन्धुलीको खुर्कोटमा बास बसेर भोलिपल्ट विहान विजयोत्सवमा सहभागी हुन सिन्धुलीगढी पुग्ने छन् ।

सिन्धुलीगढीमा कात्तिक २४ गते नेपाल पत्रकार महासंघ सिन्धुली शाखा र जिल्ला विकास समिति सिन्धुलीले विशेष कार्यक्रमको आयोजना गर्ने कार्यक्रम छ । कमलामाई नगरपालिकाले सिन्धुलीमाढीदेखि गढीसम्म म्याराथन दौडको आयोजना गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.