'संविधान संशोधन हुनै सक्दैन भन्ने एमालेको सोच अतिवादी'
पोखरा: नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताएका छन्।
नेपाली काँग्रेस कास्कीले सोमबार पोखरामा अायाेजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले मधेसवादी र जनजाति समुदायका गुनासालाई संविधान संशोधनबाट सम्बोधन गरेर संविधान कार्यान्वयनका दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।
विसं २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयन हुनसक्ने बताउँदै उनले यतिका उपलब्धि भइसकेपछि पनि सानातिना कुरामा अल्झेर प्राप्त उपलब्धि गुम्न नदिन सबै राजनीतिक दलसँग आग्रह गरे।
संविधान संशोधन हुनै सक्तैन भन्ने एमालेको अतिवादी सोच र आफूले भनेका सबै माग पूरा हुनैपर्छ भन्ने मधेसवादी दलले हठ त्यागेर सबै लचक भई एक ठाउँमा आउनुपर्नेमा नेता पौडेलको जोड थियो ।
काँग्रेस पद्दति, प्रक्रिया, संस्थागत र समझदारीद्वारा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पार्टी कार्यकर्ताको सही मूल्याङ्कन भएमा मात्रै पार्टी एकता हुने बताए। रासस