‘संविधान संशोधनका लागि उठाइएका मुद्दाहरु उचित छैनन्, हाम्रो सहमति हुँदैन’
काठमाडौंः नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधनका लागि मधेसवादी दलहरुले उठाएका मुद्दा उचित नरहेकाले त्यसमा आफूहरु सहमत हुन नसक्ने स्पष्ट पारेका छन्।
सोमबार बिहान आफ्नै निवास कोटेश्वरमा नेपालका लागि अमेरिकाका राजदूत अलाइना टेप्लिजसँग भएको भेटवार्तामा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले मधेसवादी दलहरुको मग अनुसार यसअघि संविधानका दुई धारा संशोधन भइसकेकाले अब विनाकारण संविधान संशोधन नहुने बताएका हुन्।
उनले भने,‘संविधानका दुईवटा धारा संशोधन भइसकेको छ। यति छोटो अवधिमा विनाकारण छिटो–छिटो संविधान संशोधन गर्ने अभ्यास कतै छैन। उनीहरुले उठाएका मुद्दाहरु उचित छैनन् त्यसमा सहमत हुन सकिन्नँ।’
भेटमा राजदूत टेप्लिजले नेपालको विकास र प्रगतिमा आफ्नो मुलुक साझेदार रहेको चर्चा गर्दै नेपालको आर्थिक विकास, राजनीतिक स्थिरता र सुशासनका लागि सदैव सहकार्य गर्ने बताएकी थिइन्। नेपालमा नयाँ संविधान बनेपछि राजनीतिक स्थिरता हासिल गर्नेतर्फ भएका उपलब्धिको प्रशंसा गर्दै राजदूत टेप्लिजले यस दिशामा सबै राजनीतिक दलहरु एक ठाउँमा आउने विश्वास व्यक्त गरिन्।
पूर्वप्रधानमन्त्री नेपालले अमेरिकाका तर्फबाट नेपाललाई हुँदै आएको सहयोगका लागि धन्यवाद दिँदै नयाँ संविधान बनेपछि सिर्जित स्थायित्वको परिवेशमा थप सहयोग र लगानीलाई आफ्नो मुलुकले स्वागत गर्ने बताएका थिए।