निर्धारित समयभन्दाअघि सम्पन्न गरे पुरस्कृत गरिने
दोलखाः प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्धारित समयभन्दा अघि नै सम्पन्न गरे पुरस्कृत गरिने घोषणा गरेका छन् ।
मंगलबार बिहान आयोजनाको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले समयमै काम सक्न र अघि सके पुरस्कृत गरिने बताएका हुन् । माथिल्लो तामाकोशी ४ सय ५६ मेगावाटको काम सकिए धेरै राहत पुग्ने उनको भनाई थियो ।
‘यो आयोजना समयभन्दा अघि नै सकिए अरु मेगा प्रोजेक्ट पनि स्वदेशी लगानीमा निर्माण गर्न प्रेरणा मिल्छ ।’ उनले भने ।
माथिल्लो तामाकोशी २०७५ भित्र सक्ने लक्ष्य छ ।
प्रधानमन्त्री दाहाल आयोजनाको निरीक्षण गर्न मंगलबार बिहान ८ बजे नेपाली सेनाको हेलिकोप्टर चढेर आयोजनास्थाल लामाबगरको गोजरमा आइपुगेका हुन् ।