‘दलाई लामा भेटेर देउवाले चीनलाई चिढाए’
धनगढीः नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले भारतमा दलाई लामालाई भेटेर चिनियाँ नागरिकलाई चिढाएको बताएका छन्।
प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले भने,‘पार्टी सभापति देउवाले भारतमा गएर किन ‘फ्रि तिब्बत’ का नेतालाई भेटे? त्यो कुरा पार्टीलाई केही थाहा छैन।’
काँग्रेसको ‘एक चीन’ नीति भएको स्पष्ट पार्दै महामन्त्री कोइरालाले लामासँगको भेटघाट पार्टी सभापतिको ब्यक्तिगत भएको पनि बताए। ‘काँग्रेस उत्तरी छिमेकी चीन र दक्षिणको छिमेकी भारतसँग समदूरीमा बस्न चाहन्छ,’ उनले भने। ‘देउवाले गलत गरे भनेर म भन्दिन, तर यसले चिनियाँ नागरिकलाई चिढाउने काम भने भएको छ।’
कोइरालाले हिन्दु राष्ट्रका लागि जनमत संग्रहमा जानुपर्ने बताए। ‘अहिले संविधान कार्यान्वयनका लागि राज्य पुर्नसंरचनाको काम भइरहेको छ, अर्कोतिर महाभियोगको कुरा चर्चामा छ, अझ मुलकुका सामु तीन/तीन वटा निर्वाचनको चुनौती छ, त्यसैले हिन्दु राष्ट्रको कुरा अहिले नै चर्चामा ल्याउनु हुँदैन,’ उनले भने।
तीनवटा चुनाव सकिएपछि, धर्म निरपेक्षताका लागि जनतामा जानुको विकल्प नरहेको कोइरालाको भनाइ थियो। भारतले अहिले अंगीकृतको कुरा उठाएको चर्चा गर्दै उनले भने,‘भारतले सोनिया गान्धीलाई प्रधानमन्त्री हुन नदिने अनि नेपालमा अंगीकृतलाई प्रधानमन्त्री, राष्ट्रपति बनाउनुपर्छ भन्नुमा कुनै नैतिक आधार छैन।’
‘नेपाल सानो मुलुक भएकाले, भुपरिवेष्ठित भएकैले भारतीय नागरिकले नेपालका सम्पत्ती किन्न पाउँदैन, यो सन् १९५० को सन्धीमै छ, सानो मुलुक भएका नाताले यसको स्वतन्त्रताका लागि भारतले नै त्यो सन्धीमा हस्ताक्षर गरेको छ।’ उनले भने।