माओवादी कार्यालय कब्जा गरेर बसेका पूर्व लडाकूलाई प्रहरीले हटायो
काठमाडौंः नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय कब्जा गरेर बसेका माओवादीका बर्हिगमित लडाकूहरुलाई प्रहरीले हटाएको छ। परिवारसहित पार्टी कार्यालयभित्र छिरेर बसेका बर्हिगमित लडाकूहरुलाई मंगलबार बिहान प्रहरीले त्यहाँबाट हटाएको हो।
पार्टी कार्यालयमा पूर्व लडाकूहरु बसेको र उनीहरुलाई त्यहाँबाट हटाउन प्रधानन्त्री पुष्पकमल दाहालले सुरक्षा निकायलाई निर्देशन दिएपछि प्रहरीले हटाएको हो। करिव दुई सय जनाको संख्यामा रहेका पूर्व लडाकूलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।
उनीहरुलाई यसअघि सोमबार दिउँसो बर्हिगमित पूर्व लडाकूहरुले माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालय कब्जामा लिएका थिए। बर्हिगमित लडाकूहरु परिवार तथा बालबच्चासहित माओवादी केन्द्रको पार्टी कार्यालयभित्रै एक रात विताए।
सेना समायोजनका क्रममा अयोग्य ठहरिएका बर्हिगमित लडाकूहरुले सेना समायोजनका बेला आफूहरुलाई अयोग्य ठहर गरिएपनि आफूहरुलाई अझैसम्म न्याय नदिलाएको र सरकारसँग यसअघि भएका सहमतिको कार्यान्वयन नगरिएकाले पार्टी कार्यालयभित्रै आन्दोलन गर्नु परेको बहिगर्मित जनमुक्ति सेना नेपालका अध्यक्ष लेलिन विष्टले बताए।
बर्हिगमित लडाकूहरुलाई तत्कालीन माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बर्हिगमित लडाकूहरुलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो। विष्टले भट्टराई सरकारसँग भएको ७ बुँदे सहमति कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेका छन्।