देउवाले दिल्लीमा भने, 'हामी एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छौं' -
दिल्ली : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक चीन नीतिप्रति नेपाल सरकार र आफ्नो पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
गोवामा भारतको सत्ताधारी दल भारतीय जनता पार्टीसँग नजिक मानिने इन्डिया फाउन्डेसनले आयोजना गरेको सेमिनारमा देउवासँगै निर्वासित तिब्बतीहरुको सरकारका प्रधानमन्त्री पनि आमन्त्रित भएपछि चीनको अप्रशन्नताबारे अड्कलबाजी भइरहँदा देउवाले दिल्लीमा मंगलबार यस्तो प्रतिबद्धता जनाएका हुन् ।
गोवाको कार्यक्रम सकेर राजनीतिक भेटवार्ताका लागि दिल्ली आइपुगेको देउवाले अन्नपूर्ण पोष्टसँग भने, 'म तीनपटक प्रधानमन्त्री भइसकेको व्यक्ति हुँ। म, मेरो पार्टी र नेपाल सरकारको पूर्ण प्रतिवद्धता छ एकचीन नीतिप्रति।'
उक्त गोष्ठीमा दलाइ लामा वा तिब्बती कुनै पनि विद्रोही नेताहरुसँग आफ्नो भेट नभएको उनले स्पष्ट पारे।
देउवाले मंगलबार भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गरेका छन् । भेटवार्तामा संविधान कार्यान्वयन, आगामी चुनाव, भूकम्पपछिको पुर्ननिर्माणलगायतका विषयमा छलफल भएको थियो । मोदीले सबै मिलेर संविधानको कार्यान्वयनमा जुट्न सुझाव दिएका थिए भने पुर्ननिर्माणमा भारतको सक्दो सहयोग हुने आश्वासन पनि दिएका थिए ।