निर्यात खुला नहुँदा १० हजार मेट्रिक टन सुपारी दुर्इ वर्षदेखि गोदाममै
काँकडभिट्टा: दुई वर्षदेखि किसानले उत्पादन गरेको करिब दस हजार मेट्रिक टन सुपारी गोदाममै थन्किएको छ।
जिल्लामा उत्पादित सुपारीको माग बङ्गलादेशमा भएपनि सरकारले निर्यात खुला नगरिदिँदा लाखौँ रुपैयाँको सुपारी बुधबारेस्थित गोदामै सड्न थालेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले जानकारी दिए।
जिल्लामा दुई हजार ६८५ हेक्टरमा वार्षिक ९ हजार ७०० मेट्रिक टनभन्दा बढी सुपारी उत्पादन हुने गरेको छ। यहाँ उत्पादन भएको काँचो सुपारी भारतले खरिद गर्न नमान्नु, नेपालमै प्रशोधन कारखाना नहुनु जस्ता कारणले किसान मारमा परेका अध्यक्ष खतिवडाले बताए।
जिल्लाका शनिअर्जुन नगरपालिका, बाहुनडाँगी, शान्तिनगर, बुधबारे, चारपाने, खुदुनाबारी, दुवागढी, धाइजनलगायत गाविसमा किसानले व्यावसायिक सुपारी खेती गर्दै आएका छन्। रासस