जेलको कमाइबाटै परिवार पाल्छन् कैदी
रोल्पा: विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका रोल्पा कारागारका कैदी स्वरोजगारमूलक कार्य गर्दै आयआर्जनसँगै कैद भुक्तान गरिरहेका छन्।
आयआर्जनका लागि कारागारभित्रै मुडा, टोपी तथा बरियो बुन्ने गरेको कैदीले बताएका छन्। समय पनि पास हुने, आयआर्जन पनि हुने भएका कारण यस्तो गरेका छौँ, कैदी खिमबहादुर थापाले बताए।
मासिक प्रतिव्यक्ति ५/६ हजार रुपैयाँ आम्दानी गर्ने गरेको कैदीले बताएका छन्। घरको कमाइ गर्ने मूलमान्छे नै कारागार बस्नु पर्दा जीविकोपार्जनमा समस्या भोगिरहेका कैदीका परिवारलाई सो आम्दानीले दैनिक कामकाजमा निकै सहयोग गरेको अर्का कैदी मेखबहादुर रोकाले बताए।
महिला कैदीले भने साधनको अभावमा चाहेर पनि स्वरोजगारमूलक काम गर्न नपाएको गुनासो गरेका छन्। 'स्वरोजगारका लागि सिलाइकटाइ गर्ने चाहनाअनुसार जिल्लाका राजनीतिक दल र प्रमुख जिल्ला अधिकारीलाई समेत पटकपटक व्यवस्था गरिदिन अनुरोध गर्याैं, तर अहिलेसम्म सुनुवाइ भएको छैन', नाइके मनिसरा विकले दुखेसो पोखे।
जेलभित्र उत्पादित सामान गुणस्तरीय हुने भएका कारण ग्राहक सामान खरिदका लागि कारागारमै आउने गरेको तथा बढी भएका सामान घर्तीगाउँ, सुलिचौर, लिवाङलगायतका स्थानीय बजारमा पठाउने गरेको कैदीले बताएका छन्।
जिल्लाको उत्पादनलाई प्रवद्र्धन गर्ने भन्दै उपहार दिँदा वा सम्मान गर्दा कारागारभित्र उत्पादित ढाकाटोपी, सल आदि प्रयोग गर्ने प्रचलन समेत रोल्पामा बढ्दै गएको छ। रोल्पा कारागारमा हाल ६७ पुरुष, १० महिला कैदीसहित तीन जना नाबालक रहेको चौकीदार हुकुम बुढामगरले जानकारी दिए। रासस