चिनियाँ रााष्ट्रपतिको नेपाल भ्रमण चाँडैः परराष्ट्रमन्त्री महत
काठमाडौँः परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण निकट भविष्यमा हुने बताएका छन् ।
मंगलबार पररााष्ट्र मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री महतले भारत र चीनसँग सरकारको समान धारणा रहेको बताउँदै निकट भविष्यमा चिनियाँ राष्ट्रपति सी जिङपिङले नेपाल भ्रमण गनर्ने बताए ।
‘दुवै छिमेकी मुलुकसँगको सरकारको धारणा समान छ । निकट भविष्यमा चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्नु हुनेछ, त्यसका लागि आवश्यक तयारी भइराखेको छ,’ उनले भने ।
मन्त्री महतले नेपालका गतिविधिप्रति चीनको आपत्ति भन्ने समाचारका विषयमा मन्त्रालयले मंगलबार नेपालस्थित चिनियाँ राजदूतावासका पदाधिकारीसँग छलफल गर्दा उनीहरु सन्तुष्ट नै रहेको समेत जानकारी गराए ।
एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धतामा नेपाल र चीन सरकारको कुनै द्वीविधा नभएको समेत महतले स्पष्ट पारेका छन्।
उनले केही छापा माध्यममार्फत् सार्वजनिक भएको समाचार कपोलकल्पित, भ्रामक र कलुषित आशयबाट प्रेरित भएको आरोप लगाए ।
यसै सन्दर्भमा मन्त्री डा महतले परराष्ट्र सम्बन्ध जस्तो अतिसंवेदनशील विषयमा हल्का ढङ्गले समाचार नलेख्न सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गरे । ‘परराष्ट्र विषयसँग जोडिएको समाचार नियोजित ढङ्गले आएको महसुस भएको छ,’ महतले भने ।
मन्त्री महतले भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उच्चस्तरीय भेटवार्ता पनि मुलुकको हितमा नै रहेको स्पष्ट पारे ।
‘नेपालको कुनै पनि नेताले परराष्ट्र मन्त्रालयको प्रतिनिधि बिना विदेशी नेता वा प्रधानमन्त्रीलाई भेट्नै हुदैन भन्ने छैन्, प्रतिनिधि राख्दा राम्रो,’ उनले भने ।