'अन्तरिम संविधानअनुरूप संशोधन'
नयाँदिल्ली: कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अंगीकृत नागरिकका हकमा अन्तरिम संविधानमा भएको प्रावधानबमोजिम संविधान संशोधन हुने बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंगलबार भेट गरेपछि नयाँदिल्लीको लीला होटलमा अन्नपूर्णसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताएका हुन् ।
मधेसी दलले अंगीकृत नागरिकलाई संवैधानिक पदमा जान निषेध गरिएको भन्दै संविधानको यो प्रावधान हटाउन माग राख्दै आएका छन् ।
देउवाले भने, 'अन्तरिम संविधानमा भएका धेरै कुरा यो संविधानमा छुटेको छ । सोहीअनुरूप संशोधन गरिन्छ ।'
बुधबार काठमाडौं फर्कन लागेका देउवाले आफू स्वदेश फर्केलगत्तै संविधान संशोधन प्रस्ताव दर्ता गरिने बताए ।
भारतका प्रधानमन्त्री मोदीसँग करिब ३५ मिनेट कुराकानी गरेका देउवाले भेट मुख्यतः दुई विषयमा केन्द्रित रहेका जनाए । उनका अनुसार भूकम्पपछिको पुनर्निर्माण र संविधान संशोधनमा भेट केन्द्रित थियो ।
भूकम्पपछिको पूनर्निर्माणबारेमा जानकारी गराएपछि प्रत्युत्तरमा मोदीले भूकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणमा भारत सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको आश्वासन दिएको देउवाले जनाए ।
संविधानबारेमा मोदीको जिज्ञासामा आफूले असन्तुष्ट पक्षलाई समेटेर संविधान संशोधन गर्न लागिएको जानकारी गराएका थिए । सबैलाई समेटेमा संविधान कार्यान्वयनमा सहज हुने मोदीलाई उद्धृत गर्दै देउवाले जनाए ।
गोवामा सत्ताधारी भारतीय जनता पार्टी नजिक मानिने इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी भएका देउवासँगै निर्वासित तिब्बती सरकारका प्रधानमन्त्री लोब्साङ साङेलाई आमन्त्रित गरिएपछि विपक्षीका साथै आफ्नै पार्टीका सदस्यबाट पनि आलोचना भएको छ ।
यो प्रसंगमा देउवाले भने, 'गोवाको कार्यक्रममा एउटै मञ्च सेयर गरेको भन्ने कुरा सरासर गलत हो । कुनै तिब्बती नेतासँग मेरो भेट भएको छैन ।'
चीनको अप्रसन्नताको अडकलबाजी भइरहेका बेला देउवाले भने, 'एक चीन नीतिप्रति सरकार तथा कांग्रेस पूर्ण प्रतिबद्ध छ । नेपालमा चीनविरुद्धका गतिविधि हुन दिनु हुँदैन भन्ने मैले राम्ररी बुझेको छु । एक चीन नीतिको विरुद्धमा जाने त्यस्तो कुनै काम भएको छैन ।'
उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोगका सन्दर्भमा प्रक्रियागत रूपमा पार्टीले निर्णय लिने जानकारी गराए ।
गोवामा इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी हुन शुक्रबार पत्नी आरजू देउवासहित आएका देउवालाई जवाहरलाल नेहरू विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो ।