युवतीको हत्यापछि डेढ करोड फिरौती

युवतीको हत्यापछि डेढ करोड फिरौती

काठमाडौः झट्ट सुन्दा सिनेमाको कथाजस्तै लाग्ने घटना राजधानीमा चरितार्थ भएको छ । एक प्रेमीले प्रेमिकाको हत्या गरेपछि हराएकी भन्दै प्रहरीमा गुहार माग्नसमेत पुगे । सिन्धुपाल्चोक महांकाल घर भई हाल बूढानीलकण्ठ बस्दै आएकी सन्तोषी भन्ने एलिसा नेपाली कात्तिक १३ गते एकाएक हराइन् भन्दै परिवारका सदस्य प्रहरीमा गुहार माग्न पुगेका थिए ।

त्यतिखेर एलिसाका बाबुलाई ‘छोरी चाहिने भए डेढ करोड रुपैयाँ ल्याऊ' भन्दै अपरिचित व्यक्तिले धम्क्याएका पनि थिए । यो घटनाबारे सुरुमा महानगरीय प्रहरी वृत्त ठिमीमा जानकारी आएको थियो । यसको थप अनुसन्धान भने महानगरीय प्रहरी अपराध महाशाखाले गर्‍यो । सुरुमा प्रहरीले एलिसा अपहरणमा परेको आशंकामा अनुसन्धान अघि बढाएको थियो ।

एलिसाको फोन नम्बरको लोकेसन ‘ट्रेस' गर्दा उनी कात्तिक १२ गते बिहान चाबहिलस्थित गोपीकृष्ण हलनजिकै पुगेको देखियो । उनको नम्बरमा फोन गर्ने व्यक्ति थिए रामेछाप ओख्रेनी घर भई हाल भक्तपुर ठिमीस्थित बोडे बस्दै आएका रेशम भन्ने मुक्तिनाथ लामिछाने । तर लामिछाने स्वयं परिवारका सदस्यसँग एलिसा हराएको जानकारी दिन प्रहरी कार्यालयमा पुगेका थिए ।

मुक्तिनाथमाथि शंका गर्ने क्रम नरोकिए पनि उनैले हत्या गरेको निष्कर्षमा पुग्न प्रहरीलाई अप्ठ्यारो पर्‍यो । कात्तिक २० गते मध्यपुर ठिमी नगरपालिकास्थित मनोहराखोलाबाट बोडेतर्फ जाने कच्ची सडक किनारमा बोरामा प्याक गरेको अवस्थामा युवतीको शव फेलापर्‍यो । सुरुमा मृतक युवती सन्तोषी नै हुन् भन्ने नखुले पनि पछि एलिसाका परिवारले शवको सनाखत गरे । परिवारले प्रहरीमा निवेदन दिँदा नै मुक्तिनाथ र एलिसाको ‘लभ अफेयर' बारे उल्लेख गरेका थिए ।

शंकाको घेरामा रहेका मुक्तिनाथलाई महाशाखाले कात्तिक २२ गते पक्राउ गर्‍यो । सुरुमा आनाकानी गरेका मुक्तिनाथले अन्ततः प्रहरीसमक्ष हत्या स्वीकारे ।

यसरी भएको थियो प्रेम

गत वैशाखमा बूढानीलकण्ठस्थित रिफ वाटर प्रोसेस नामको पानी उद्योगमा चिनजान भएका एलिसा र मुक्तिनाथबीच प्रेम सम्बन्ध थियो । प्रेमिकालाई खुसी बनाउन मुक्तिनाथले समयसमयमा पैसासमेत दिँदै आएका थिए । कामकै सिलसिलामा मुक्तिनाथको आचरण ठीक नभएको कारण देखाएर पानी उद्योगले उनलाई कामबाट निकालिदियो । दसैंअघि मुक्तिनाथले एलिसाको अर्को केटा श्याम श्रेष्ठसँग प्रेम सम्बन्ध रहेको जानकारी पाएपछि उनीहरूबीच तनाव उत्पन्न भएको थियो ।

यसरी भएको थियो हत्या

महाशाखाका अनुसार हत्याको योजना बनाएका मुक्तिनाथले कात्तिक १२ गते एलिसालाई फोन गरी चाबहिलस्थित गोपीकृष्ण हलनजिकै बोलाएका थिए । त्यहाँ चिया खाएर मुक्तिनाथले एलिसालाई बोडेस्थित आफू बस्ने घर लगे । कोठामा पुगेपछि मुक्तिनाथले आफूले दिएको पैसा र श्यामसँगको अफेयरबारे एलिसालाई सोधे । एलिसा उल्टै आक्रोशमा आएपछि मुक्तिनाथले घरको भ¥याङमुनि रहेको काठको गुन्द्री बुन्ने हत्तासो उनको टाउकोमा प्रहार गरे । एलिसा भुइँमा लडेपछि पनि मुक्तिनाथले पटकपटक प्रहार गरिरहे ।

कात्तिक १२ गते नै हत्यापछि मुक्तिनाथले अपराह्न १२ बजे एलिसाको ज्याकेट, ब्याग, जुत्ता तथा रगत लागेको कोठाको कार्पेटसमेत बोरामा हालेर नीलबाराही जंगलमा फालेको बयान प्रहरीसमक्ष दिएका छन् ।
हत्यापछि विक्षिप्त बनेका मुक्तिनाथ मूलपानी हुँदै कोटेश्वर पुगे र एलिसाका बाबुलाई फोन गरी हिन्दी भाषामा ‘एलिसा चाहिने भए एक करोड ५० लाख रुपैयाँ ल्याउनू' भनेर धम्क्याई पुनः बोडे पुगे ।

हत्या भएकै राति १० बजे मुक्तिनाथले एलिसालाई कुखुराको दाना हाल्ने प्लास्टिक बोरामा हालेर घरभन्दा करिब दुई सय मिटर पश्चिममा लगी सडक किनारामा फालेका थिए । हत्यामा प्रयोग भएको हत्तासो भने उनले घरपछाडि फालेका थिए ।

‘एलिसाको हत्या मुक्तिनाथले नै गरेको हो भन्ने कुरा सुरुमा पत्याउन प्रहरीलाई नै मुस्किल पर्‍यो', महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले भने, ‘फिल्मी शैली अपनाएर योजनाबद्ध रूपमा एलिसाको हत्या भएको देखिन्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.