खस्किँदै नेपाली रुपैयाँ
काठमाडौंः पाँच वर्षको अवधिमा नेपाली मुद्रा ३० प्रतिशतले अबमूल्यन भएको छ । पछिल्लो समय नेपाली रुपैयाँको अबमूल्यन भएपछि त्यसको प्रत्येक्ष असर दैनिक जनजीवनमा परेको छ । ‘पाँच वर्ष अघि एक सय रुपैयाँको तरकारी किन्दा दुई छाक पुग्थ्यो’, बालाजु बनस्थलीकी सुमन शाक्यले भनिन् ‘अहिले एक छाक पनि आउन गाह्रो पर्छ ।’ चार जना सदस्य रहेको उनको परिवारमा सय रुपैयाँले एक छाक पनि तरकारी नआउने अवस्था छ ।
‘पाँच वर्ष अगाडि पाँच सयमा पाँच किलोसम्म दाल आउँथ्यो तर अहिले तीन किलो पनि मुस्किलले आउँछ’, मालीगाउँकी उमा कार्की भन्छिन् ‘ कति साह्रो महँगिएको बजार, नेपाली रुपैयाँ त खोस्टा सरहनै भयो ।’ नेपाल राष्ट्र बैंककी पूर्वसहायकनिर्देशकसमेत रहेकी उनले यसअघि यसरी नेपाली रुपैयाँ अबमूल्यन भएको महसुस गरेकी थिइनन् ।
पाँच वर्षको अवधिमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३०.४० प्रतिशतले अबमूल्यन भएको छ । युरोपेली मुलुकको आर्थिक संकट, अमेरिकी डलरसँग भारतीय रुपैयाँ अबमूल्यन र विश्व बजारमा अमेरिकी डलरको माग उच्च हुँदा नेपाली मुद्रा अबमूल्यन भएको हो ।
गत साउनमा एक अमेरिकी डलर बराबर एक सय ६ रुपैयाँ ७२ पैसा रहेकोमा एक महिनाको अवधिमा अर्थात भदौमा आउँदा १३ पैसाले नेपाली मुद्रा अवमूल्यन भएको छ भने कात्तिक २१ गते एक अमेरिकी डलर बराबर एक सय सात रुपैयाँ विनिमय दर पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
अमेरिकी डलर निरन्तर बलियो बन्दै गएको छ भने नेपाली रुपैयाँ कमजोर हँदै गएको छ । यस अवधिमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ मात्र होइन, अन्य परिवत्र्यय मुद्रा पनि खस्किँदै गएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
पाँच वर्षको अवधिमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३०.४० प्रतिशतले अबमूल्यन भएको छ ।
आर्थिक वर्ष २०६८÷६९ मा एक अमेरिकी डलर बराबर ८१.४३ रुपैयाँ रहेको नेपाली रुपैयाँ आव २०७२/७३ मा १०६.१९ रुपैयाँ पुगेको छ । भारतीय रुपयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर हुनाले भारु कमजोर बनेपछि सोही अनुपातमा नेपाली रुपैयाँ पनि कमजोर भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए ।
अर्थशास्त्रको सिद्धान्तअनुसार खुला अर्थतन्त्रमा बजारमा माग र आपूर्तिका आधारमा वस्तुको मूल्य निर्धारण हुने भए पनि नेपाली बजारमा भने भारतीय रुपैयाँको अधिमूल्य तथा अबमूल्यनको प्रभाव पर्छ,’ उनले भने, ‘यो बजार पनि आर्थिक क्रियाकलापले निर्धारण गर्छ ।’ तर, अहिले भएको नेपाली रुपैयाँको अबमूल्यन नेपाली आर्थिक क्रियाकलापले नभई भारतीय रुपैयाँ अबमूल्यनका कारण भएको हो ।
नेपालमा खुला बजार अर्थतन्त्रको अभ्यास भए पनि भारतीय रुपैयासँग स्थिर विनिमयका कारण यहाँ मूल्य वृद्धि भएको अर्थात नेपाली रुपैयाँ अबमूल्यन भएको हो । ‘त्यसमाथि पनि हाम्रो आयातित अर्थतन्त्र भएको मुलुकमा यसको असर त पर्ने नै भयो,’ पौडेलले भने, ‘अर्थशास्त्रमा उतार चढाव नभएको स्थिर बजारलाई राम्रो मानिन्छ ।’ मुद्राको अबमूल्यनले बजार मूल्यलाई असर पार्ने तथा वस्तुको भाउ बढ्ने गर्छ । समीक्षा अवधिमा ८.३ प्रतिशत रहेको मूल्य वृद्धिदर ९ दशमलव ९ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा अन्तर्राष्ट्रिय मुद्रा बजारमा युरो र पाउन्ड स्टर्लिङसमेत घटेकाले डलरको मूल्य बढ्न मद्दत पुगेको हो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा मात्रै ६ दशमलव ६५ प्रतिशतले नेपाली मूद्रा अबमूल्यन भएको छ ।
बेलायतमा भएको जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट बाहिरिने मत परिणाम सार्वजानिक भएसँगै पाउन्ड स्टर्लिङको मूल्यसमेत घटेको छ । ‘बेलायत युरोपियन युनियनबाट बाहिरिँदा त्यसको राजनीतिक असर पर्ने अनुमानमा मुद्रा व्यापारी युरो र पाउन्ट बेचेर अमेरिकी डलर किन्न उत्साहित भए, त्यही कारण अमेरिकी डलरसँग युरो र पाउन्ड अबमूल्यन भएको हो ।