भारतीय नोट प्रकरणः नेपाली अन्योलमा
नयाँदिल्लीः पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लागेपछि भारतमा काम गर्ने नेपाली अन्योलमा परेका छन् । नेपालमा पैसा पठाउने बैंक तथा रेमिटान्स कम्पनीले पुराना नोटको कारोबार बन्द गरेका छन् ।
नयाँ नोट प्रचलनमा आएपछि कारोबार अघि बढाउने रेमिटान्स कम्पनीको भनाइ छ । भारतबाट नेपाल पैसा पठाउने प्रभु मनी ट्रान्सफरका कन्ट्री हेड सुनिल मि श्रले भने, ‘हामीले पुराना नोट लिन बन्द गर्यौं, नयाँ पाँच सय र दुई हजारका नोट आएपछि मात्र कारोबार सुरु गर्छौं ।'
औसतमा दैनिक ९० लाखदेखि एक करोड भारतीय रुपैयाँ नेपाल पठाउने प्रभु मनी ट्रान्सफरले नयाँ नोट आएपछि कारोबार सहज हुने विश्वास लिएको छ ।
भारतीय बैंकमा खाता नभएका तथा मनी ट्रान्सफर कम्पनीबाट नेपाल पैसा पठाइरहेका नेपाली प्रभावित भएका छन् । पाँच सय र हजार दरका नोट बैंकबाट साट्न सकिने व्यवस्था भारत सरकारले गरेको छ । तर त्यसका लागि आधार कार्ड, प्यान कार्ड, परिचयपत्र अनिवार्य गरेको छ । अधिकांश नेपालीले हुन्डी कारोबारबाट पैसा पठाउने गरेको अनुभव रेमिटान्स कम्पनीको छ ।
मुथुट फाइनान्सका अनिल कार्कीले भने, ‘नेपालीमा यो निर्णयपछि अन्योल बढेको छ । खाता नभएकाहरू आत्तिएका छन् ।'
भारतमा २५ वर्षदेखि बसोबास गर्दै आएका तिलबहादुर सिम्खडा भन्छन्, खाता नभएका नेपालीको पैसा धेरै ठूलो परिमाणमा हुँदैन । थोरै पैसा हामी साटेर दिन्छौं । जोसँग ठूलो परिमाणमा नगद छ उसले बैंकिङ च्यानलमा जानुको विकल्प हुँदैन ।'
यो निर्णयले तत्कालका लागि समस्या भए पनि कालान्तरमा भारतबाट नेपालमा औपचारिक माध्यमबाट पैसा पठाउने सम्भावना बढेको छ । नेपालले हुन्डीबाट भित्रिने पैसा कारोबार रोक्न नसकेका बेला भारत सरकारको यो निर्णयले सहयोग पुग्ने देखिन्छ ।
नयाँ आउने नोटमा सुरक्षा विशेषता मजबुत हुने भएकाले पनि यसले हुन्डी कारोबारीलाई प्रभावित गर्ने भारतीय अर्थविश्लेषकको भनाइ छ । भारतबाट नेपालमा पैसा पठाउने रेमिटान्स कम्पनीले यो व्यवस्था कार्यान्वयनमा ल्याउन चुनौती भए पनि यसले बैंकिङ कारोबारलाई बढावा दिने बताएका छन् ।