'राष्ट्रहितमा बोल्दा मलार्इ लम्पसारवादी भन्ने ?'
काठमाडौं: माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई घेराबन्दी गरेर आक्रमण गरिएको स्वीकार गर्दै प्रतिवाद गर्न युवा विद्यार्थीलाई अपिल गरेका छन् ।
पार्टीका संगठन विभाग प्रमुख रामबहादुर थापालाई बायाँ र अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठलाई दायाँ राखेर प्रधानमन्त्री दाहालले राष्ट्रिय नाचघरमा खचाखच भरिएका युवा/विद्यार्थीलाई बुधबार प्रतिवादमा उत्रन भनेका हुन् । पार्टीभित्र र बाहिरबाट आफूमाथि चौतर्फी घेराबन्दी र आक्रमण भएपछि प्रधानमन्त्री दाहालले अनेरास्ववियु क्रान्तिकारीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनेक्रममा आफू अझै नयाँ क्रान्ति गर्ने सोचाइमा रहेको बताए ।
रुस, चीन र माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र संघर्षका कथा समेट्दै उनले आफूलाई सही साबित गराउने प्रयाससमेत गरे । सामाजिक सञ्जालमा आफूलाई गरिएका गालीगलौज र टिप्पणीप्रति 'अपडेट' भएझैं गरी प्रस्तुत भएका दाहालले ती गालीगलौजलाई रकेट र मेसिनगनसँग तुलना गरेका थिए ।
'हाम्रो आशा तपाईं (युवा/विद्यार्थी) हरूमाथि छ । तपाईंहरूले कुरा बुझ्नुभएन भने यो देश, कम्युनिस्ट आन्दोलन र माओवादी आन्दोलन ठूलो दुर्घटनामा पर्न सक्छ । थुप्रै मिडियामा हामीमाथि आक्रमण र घेराबन्दी भएको छ । जुन वर्ग, शक्ति र तत्त्वले हामीलाई हमला गरेको छ, त्यसले आजमात्रै हमला गरेको होइन', दाहालले भने । जनयुद्ध सुरु गर्ने बेला र जनयुद्धको नेतृत्व गर्ने बेलामा पनि आफूलाई त्यही शक्ति र तत्त्वले हमला गरेको दाहालले स्मरण गराए ।
'अहिले उसले फेसबुक र ट्विटरमा मरेको लास झुन्ड्याएर, गाली गरेर वा अनेक गरेर प्रतीकात्मक रूपमा हाम्रो टाउको काट्ने काम गरिरहेको छ । त्यतिबेला हाम्रा नेताको टाउकाको मूल्य तोक्ने यिनीहरू नै होइनन् त ? ' दाहालले भने, 'तपाईंहरू आत्तिन पनि सक्नुहुन्छ तर हामीलाई त्यस्तो लाग्दैन । झोलामा टाउको ल्याएर लाखौं पैसा लैजाऊ भन्ने मान्छेहरूले अहिले गाली गरेको देख्दा न्यानो लाग्छ ।'
४० वर्षदेखि आफूहरू निरन्तर प्रतिक्रियावादी वर्गको आक्रमणमा रहेको दाहालले बताए । 'हामीले प्रतिवाद र प्रतिरोध पनि गर्दै आएका छौं । शान्तिप्रक्रियाको यो १० वर्षको अवधिमा पनि भिन्न रूपमा त्यो संघर्ष जारी छ', सामाजिक सञ्जालमा आफूले भारतसँग सम्बन्ध सुधार्न गरेको प्रयासलाई लम्पसार परेको भनेर गरिएको टिप्पणीप्रति पनि दाहालले भने, 'हामीलाई अहिले लम्पसार परेको भनेर गाली गर्नेले हामीले हिजो सुरुङयुद्धको कुरा गर्दा देशभक्त भनेर सम्बोधन गरेका थिए त ? हिजो मैले प्रधानमन्त्री पदबाट राजीनामा दिई राष्ट्रिय स्वाधीनता र नागरिक सर्वोच्चताको लडाइँ लड्दा अहिले गाली गर्नेले महान् देशभक्त भनेर प्रचार गरेका थिए त ? '
२५ औं वर्षसम्म विदेशीको चाकडी र दलाली गर्नेहरूले रातारात राष्ट्रवादीको ढोङ फुक्दा जनताले पत्याउने कुनै आधार नभएको दाबी गर्दै उनले भने, 'नेपालको सिमानाभित्र बस्ने सबै जातजाति, भाषाभाषी, वर्ग, लिंग र समुदायलाई एकताबद्ध गर्नु राष्ट्रवाद हो कि एउटा समुदायको पक्ष लिएर अरू समुदायलाई निषेध गर्न खोज्नु राष्ट्रवाद हो ? '
राष्ट्रवाद र लोकतन्त्रलाई छुट्याउन नसकिने दाबी गर्दै उनले आफूहरूलाई प्रगतिशील राष्ट्रवादीका रूपमा प्रस्तुत गरे । उनले भने, 'हामीले जातजाति, भाषाभाषी, वर्ग, लिंग, समुदायलाई एकताबद्ध गर्ने र सामन्त दलाल नोकरशाहलाई एक्ल्याउने नीति अपनाउँछौं भने हाम्रो विदेशनीतिको मर्म पनि त्यही हुन्छ ।' लोकतान्त्रिक तरिका नअपनाएसम्म विदेशनीति स्थिर नहुने उनको भनाइ थियो ।
माओवादीको कार्यदिशा अरूसँग नमिल्ने दाबी गर्दै उनले आफूहरूको कार्यदिशा मौलिक रहेको बताए । 'हामीमाथि चौतर्फी हमला भएको हुनाले कहिलेकाहीं तिलमिलाएजस्तो पनि हुन सक्छ, सधैंभरि रकेट र मेसिनगनले प्रहार भयो भने भरुवा बन्दुक धेरै टिक्न सक्दैन, यसलाई प्रतीकात्मक रूपमा बुझ्नुहोला', उनले भने ।
पार्टी र नेतृत्वको रक्षा गर्न अपिल गर्दै दाहालले दुश्मन नफेरिए पनि आफ्ना नेताकार्यकर्ता फेरिएको बताए । 'राजनीतिक रूपले एकताबद्ध भएर प्रतिवाद गर्नुको विकल्प छैन । पहिले नेतृत्वको टाउको काटेर ल्याऊ भन्दा तपाईंलाई गर्व लाग्थ्यो कि घृणा ? त्यही दुस्मन, वर्ग र विचार हो, उसले अहिले पनि हमला गर्न छोडेको छैन तर तपाईं-हामी कन्फ्युजमा छौं', दाहालले भने ।
दाहालले आफू ६२ वर्षको भए पनि बूढो नभएको र अर्को क्रान्ति सुरु गर्ने सोचिरहेको पनि युवालाई बताए । उनले भने, 'कतिपयले हामीलाई बूढो भइसके भनेर गाली गरेको सुनेको छु । अन्तिम पर्यो भने एउटा नयाँ क्रान्ति सुरु गर्छु ।'