फैलियो कफी कल्चर

फैलियो कफी कल्चर

काठमाडौः अस्ट्रेलिया पाँच वर्ष बस्दा दुईवटा लत लाग्यो, कफी र चकलेटको । घोट्टिएर काम गर्नुपर्ने र टुप्पी कसेर पढ्नुपर्ने दिन औंसी/पूर्णे जसरी फेरिरहन्थे । सुत्न/खान ठेगान हुन्नथ्यो, निद्रा भगाउन कफी पिउनुपर्‍यो, शरीरलाई क्यालोरी पुर्‍याउन चकलेट खानुपर्‍यो ।

निद्रा भगाउन पिउँदै जाँदा लत बसेको कफीले कुनै दिन सफल व्यापारी बनाउला भन्नेचाहिँ उनको दिमागमा आएको थिएन । गगन प्रधानले ‘हस्पिटालिटी' को काम गर्नेछु भन्नेचाहिँ बाल्यकालमै निधो गरेका थिए । ट्राभल एजेन्सी चलाउने बुवाले होटेलमा हुने विभिन्न कार्यक्रममा परिवारलाई लिएर जाने गर्थे ।

यसै क्रममा हस्पिटालिटीमै जान्छु भन्ने धारणा ३ कक्षामै पढ्दा दिमागमा आएको थियो, डाक्टर÷इन्जिनियर बन्ने कुरा अरुलाई आएजस्तै । लक्ष्यलाई पछ्याउँदै आइकम पास गरेपछि उनी होटेल म्यानेज्मेन्ट पढ्न अस्ट्रेलिया गए, सन १९९५ मा । पढ्ने पैसा जुटाउन काम गर्नुपथ्र्यो, पुग्ने पैसा जम्मा भएपछि कलेज जान्थे । यही बेला थियो, उनी कफी/चक्लेटको अम्मली भएको ।

सन् २००० मा घर फर्किएको तेस्रो दिनमै उनी पाँचतारे होटेलमा जागिरे भए । तर, एक साता नबित्दै उनलाई लाग्यो, म यो कामका लागि जन्मिएकै हैन । उनी अस्ट्रेलिया फर्किने गरी यहाँ आएका थिएनन् । बरु, अस्ट्रेलिया पुगेकै दिन उनले ठानेका थिए, पढाइपछि यहाँ बस्दिन, नेपाल फर्किन्छु ।

अस्ट्रेलियामै बस्दा उनले देखेका थिए-केही साथी अब नेपालमै काम गर्ने भनेर आए, केही महिना बसे, अन्तमा यहा“ मेरो काम छैन भन्दै अस्ट्रेलिया नै फर्किए । यो सबै देखेका उनी मचाहिँ कुनै हालतमा फर्किन्न, मुलुकमै केही गर्छु भनेर दह्रो मन बनाएर आएका थिए ।

कफी पसल खोल्ने दिमागमा आयो । काठमाडौंमा कफी कल्चर ठ्याम्मै थिएन । पाँचतारे होटेलमा समेत इन्स्ट्यान्ट (धेरैजसो नेसक्याफे) सर्व गर्थे, जुन कफीका असली पारखीका लागि हुँदै होइन । कफी पारखी इन्स्ट्यान्ट कफी भन्नसाथ नाक खुम्च्याउँछन् । अन्नपूर्ण कफी सपमा पनि एस्प्रेस्सो मेसिन थिएन । कफी पसल खोल्न सर्भेका लागि उनले सातवटा प्रश्न राखेर प्रश्नावली बनाए ।

विभिन्न कर्पोरेट हाउस, बैंक, पसल आदिको ढोका ढोका चहारेर प्रश्नावली भराए । प्रश्नावलीमा आएका उत्तरले उनलाई उत्साहित बनायो । अधिकांशले उनले खोल्न चाहेको कफी पसलमा दिनमा तीन चोटी आउने उत्तर लेखेका थिए । यसपछि उनी कफीको तालिम लिन अमेरिका गए । तीन हप्ताको ट्रेनिङ कफीको ‘क्रप टू कप' सिकाउने खालको थियो । कफीखेती कसरी गर्नेदेखि ग्राहकलाई कपमा कसरी सर्व गर्नेसम्मको कुरा उनले सिके । कफी बनाउने मेसिन आदि लिएर फर्किए ।

उनले हेरिटेज प्लाजाको ग्राउन्ड फ्लोरमा कफी पसल खोलेका थिए । त्यहाँ पसल खोल्नुमा पनि उनको अस्ट्रेलियाको एक्सपोजरले काम गरेको थियो । अस्ट्रेलियामा ठूलो कम्प्लेक्सको ग्राउन्ड फ्लोरमा सानो कफी पसल हुन्थ्यो जहाँ कम्प्लेक्समा काम गर्नेहरू बेला-बेला कफी÷चुरोट खान उत्रिन्थे र अफिसमा उक्लिन्थे । हेरिटेज प्लाजामा त्यतिबेला थुप्रै आफिस थिए ।

ती अफिसमा काम गर्नेहरू कफी÷चुरोट पिउन उक्लिन्छन् भन्ने विश्वास भयो । हेरिटेज प्लाजामा अफिस त टन्नै थिए, अस्ट्रेलियाको त्यो दृश्य यहाँ देखिएन । हजार, १२ सयको व्यापार थियो । एउटा घटनाले कथा अन्तै मोडियो । उनको सानो पसल, तर बिजुलीको बिल महिनामा ७० हजार प्लसको आउँथ्यो । एक दिन उनले पसलको सवमिटर अफ गरे । सातवटा अफिसमा झ्याप्प बत्ती गयो ।

उनको अनुमान सही सावित भयो-सात ठाउँमा बिजुली खपत हुँदा उनको सवमिटर घुम्ने रहेछ । हेरिटेजको व्यवस्थापन ठेकेदारले पैसाचाहिँ सबैसँग छुट्टाछुट्टै लिने रहेछ । त्यसपछि व्यवस्थापन ठेक्का लिएका भारतीय उनीबाट तर्किन थाले । ‘उनले मसँग जे हुनु भैहाल्यो, अब यस्तो हुँदैन मात्र भन्दिएको भए म पसल कन्टिन्यू गर्थे,' गगन सम्झिन्छन् । तर, कफीको सफल कथा लेखिन घटना अन्तै मोडिनु थियो ।

अस्ट्रेलियामै पढेका आनन्द गुरुङ उनको कफी पसलमा आइरहन्थे । उनले गगनसँग प्रस्ताव राखे, ‘ठमेलमा मेरो घर छ, त्यही कफी पसल खोलेर साझेदारी गरौं । ठमेलमा हिमालयन जाभा खुल्यो । घरवाला आनन्द साझेदार, आनन्दै थियो । तर व्यापार उत्साहजनक भएन । ठूलो ठाउ“मा एक पटकमा ३, ४ जनाभन्दा बढी ग्राहक हुन्थेनन्, पूरै कफी पसल सुनसान देखिन्थ्यो । व्यापार ४, ५ हजारको हुन्थ्यो ।

सफलताका लागि फेरि एउटा टर्निङ प्वाइन्ट आउनपथ्र्यो, आयो । कफी पसलमा एउटा टेलिभिजन थियो । खासमा, गगन २० इन्चको टीभी किन्न गएका थिए । चिनेकै टीभी बिक्रेताले उनलाई किस्तामा पैसा तिर्नु भनेर ५० इन्चको टीभी भिडाइदिए । त्यसमा उनीहरू कफीका डकुमेन्ट्री देखाउँथे । न्यूज पनि लगाउँथे । सन् २००२ को विश्वकप फुटवल सुरु भयो ।

एक दिन एकजना ग्राहकले फुटबल लगाउनुस् भने । उनले पनि लगाइ दिए । त्यसपछि त ५० इन्चको स्क्रिनमा फुटबल हेर्नेको भीड हिमालयन जाभामा लाग्न थाल्यो । भर्खर मोबाइल सेवा सुरु भएको थियो । फोन गरेर यहाँ ठूलो स्क्रिन छ, फुटबल हेर्न आउ भनेर साथी बोलाउन थाले । एकचोटी ३, ४ जना ग्राहक हुने कफी पसलमा भोलिपल्टै १२, १५ जना भए । एक हप्तामा तीन सयभन्दा बढी आए ।

फुटबल हेर्नेले कफी/चुरोट अर्डर गर्ने नै भए । एकचोटी आएपछि धेरै ग्राहक विश्व कपभरी फुटबल हेर्न आए । तिनमा धेरैजनासँग गगनको दोहोरो चिनजान भयो । तीमध्ये झन्डै सयजना त हिमालयन जाभाको नियमित ग्राहक बने ।

कफी पसल खोल्न सर्भेका लागि उनले सातवटा प्रश्न राखेर प्रश्नावली बनाए । विभिन्न कर्पोरेट हाउस, बैंक, पसल आदिको ढोका ढोका चहारेर प्रश्नावली भराए ।
कफीको गेडा (बिन्ज) किन्न बसन्तपुर फ्रेस हाउस जाँदा उनले नेपाली अग्र्यानिक कफी नामको कफी फेला पारे । त्यसैदिन उनले निधो गरे, नेपाली कफीमात्र बेच्ने ।
काठमाडौंका गल्ली गल्लीमा एस्प्रेस्सो मेसिन राखेर कफी पसल खुल्न थालेका छन् ।
काठमाडौंमा कफी पपुलर हुनुको प्रमुख कारण यहाँ घरपिच्छे कोही न कोही विदेशमा रहनु हो । विदेशमा बस्ने त्यहाँको कफी कल्चरसँग परिचित हुन्छन् ।

तारे होटेलका विदेशी पाहुनाले हिमालयन जाभामा कफी पिउन थालेपछि साहूजीहरूले चियो चर्चो गर्न थाले । काठमाडौं गेस्ट हाउसका साहू राजन शाक्यले ग्राहकका लागि गेस्ट हाउसमै सानो आउटलेट खोल्दिन अनुरोध गरे । पार्क भिलेज, क्लब हिमालयका लागि यस्तै प्रस्ताव आयो, उनले स्वीकारे ।

आफैं एस्प्रेस्सो मेसिन राख्न सोधीखोजी गर्न थालेपछि गगन आनन्दले मेसिन आयात गरी बेच्न थाले । २००३ मा लिंकन स्कुलका स्टाफलाई पायक पर्ने स्थानमा खोल्दिन अनुरोध आयो, रवि भवनमा खोल्दिए ।

यसरी विस्तारित हुँदै गयो । अहिले हिमालयन जाभाका १७ वटा आउटलेट पुगेका छन् । अमेरिकाको नेब्रास्कामा हिमालयन जाभाको फ्रेन्चाइज छ, मिनिसोट्टामा खुल्ने तयारी भइरहेको छ । क्यानडाको टोरन्टो, ल्हासा र भूटानको पारो विमानस्थलमा पनि हिमालयन जाभाको आउटलेट चलिरहेका छन् । तैपनि हिमालयन जाभाको सयौं आउटलेट विस्तार गर्ने योजना उनको छैन ।

नेपाली कफीको उत्पादन बढाउने ब्रान्डिङ/प्रवद्र्धन गर्ने र व्यापार गर्ने उनको खास योजना छ । यसका लागि उनले इलाममा जग्गा लिएर कफी खेती सुरु गरेका छन् । त्यही खेतीमार्फत उक्त भेगमा कफी उत्पादनमा क्रान्ति ल्याउने कुरा उनको दिमागमा नाच्छ । यस बाहेक उनले कफी ट्रेनिङ स्कुल चलाइरहेकै छन् । स्कुलमार्फत दक्ष हुने कफी मेकरले नै कफी पसल खोल्ने काम गर्नुपर्छ, भन्छन् ।

फरक रणनीति

हिमालयन जाभा अरुभन्दा कतिपय विषयमा फरक थियो । उनी सोकेसमा खेलौना राखेका थिए, किताब थियो । ‘खेलौना राखेपछि ग्राहकले किन राख्यो होला भनेर एकछिन सोच्छ, कम्तीमा एकछिन कफी सपसँग कम्युनिकेट त गर्छ', राख्नुको कारण यति नै थियो । गाउ“तिर डुल्दा मान्छे चौतारामा भेला भई चिया पिउँदै गफिएको देखेपछि उनले हिमालयन जाभामा कम्युनिटी टेबलको नाममा ठूलो टेबल राखे, गाउ“ले पारामा गफ गरुन भनेर ।

हिमालयन जाभामा काम गर्नेले श्रीमतीले पनि काम पाए जीविका सजिलो हुन्थ्यो भनेर उनलाई सुनाइरहन्थे । उनले आइडिया निकाले, असन इन्द्रचोकका कपडा पसलका ‘वेस्टेज' संकलन गर्ने, कामदारका श्रीमतीलाई बुन्न लगाएर सोभिनियर पिस बनाउने । यसरी बुनिएका सोभिनियर उनले जाभाकै सोकेसमा राखेर बिक्री गरे ।

मात्र नेपाली कफी

कफीको गेडा (बिन्ज) किन्न बसन्तपुर फ्रेस हाउस जाँदा उनले नेपाली अग्र्यानिक कफी नामको कफी फेला पारे । त्यसैदिन उनले निधो गरे, नेपाली कफीमात्र बेच्ने । आफैंले कफी ब्रान्डिङ गरी व्यापार नथालुन्जेल उनीहरूले त्यही कफी प्रयोग भयो ।

२००५ देखि २००८ को बीचमा उनीहरू देश–विदेश डुले । नेपाली कफी लिएर कफीका अन्तर्राष्ट्रिय एक्स्पोमा गए । कफी प्रवद्र्धन गरे, कफीको व्यापार गरे । ‘ग्लोबल कफी म्यापमा नेपाललाई पारेको हामीले हो', उनको दाबी छ ।

भारतमा कफीको उत्पादन वार्षिक तीन लाख टन, भियतनामले नौ लाख टन उत्पादन गर्छ । तर, नेपालमा अहिले वार्षिक उत्पादन सात सय टनमात्र छ । नेपालमा अहिले एक लाख टन उत्पादन गरे पनि तुरुन्त निर्यात हुने उनी ठोकुवा गर्छन् । नेपाली कफी स्तरीय छ । यसलाई एभरेस्ट भएको हिमाली देशको कफी भनेर ब्रान्डिङ गर्न सजिलो छ ।

अन्त मेसिनले कफी ग्रेडिङ गरिन्छ । हामीकहाँ महिलालो नाङलोमार्फत ग्रेडिङ गर्छन् । नाङलोमा ग्रेडिङ गरिएको फोटो देखाएर संसारभरिका कफी पारखीलाई नेपाली कफीतर्पm आकर्षित गर्न सकिन्छ ।


कफी उत्पादनमा दुईवटा समस्या छन्, अरु बालीजस्तो रोपेको ६ महिनामा उत्पादन हुने बाली हैन । कफी फल्न पाँच वर्ष कुर्नुपर्छ ।

तर, खेती गर्दै त्यसबाट गुजारा गर्ने आम नेपालीले पाँच वर्ष कुर्न सक्तैनन् । यसैले हुनेखाने नै यसमा नभिडी हुँदैन । अर्को कुरा, कफी उत्पादकले कफी पिउँदैनन् । रेस्टुरेन्टको सेफले आफूले पकाएको चाखेन भने खानाको गुणस्तर खस्किन सक्छ, यस्तै भएको छ । कफी संवेदनशील बाली हो । कंक्रिटको भुइँमा सुकाए सिमेन्टको बास्ना कफीमा आउँछ, धुँवा परे धुँवाकै बास्ना । पर्याप्त चेतना नहुँदा नेपाली कफीको गुणस्तर कायम राख्न अप्ठ्यारो छ ।

कफी कल्चर

नेपालमा कफी बेचेर कमाउनुमात्र नभई कफी कल्चर विकास गर्ने र स्थानीय कफी प्रवद्र्धनलाई साथसाथै लिएर हिँडेको उनी बताउँछन् । उनले कफीको मेसिन बेच्ने, रेसिपी सेयर गर्ने, ट्रेनिङ स्कुल चलाए । ‘नत्र हामी किन आफ्नै प्रतिस्पर्धी जन्माउदै हिँड्थ्यौं र,' उनी भन्छन् ।

काठमाडौंका गल्ली गल्लीमा एस्प्रेस्सो मेसिन राखेर कफी पसल खुल्न थालेका छन् । पोखरा लेकसाइडमा डेढ किलोमिटरमा करिब सयवटा एस्प्रेस्सो मेसिन छन्, जुन संसारमै विरलै हो । काठमाडौंमा कफी पपुलर हुनुको प्रमुख कारण यहा“ घरपिच्छे कोही न कोही विदेशमा रहनु हो । विदेशमा बस्ने त्यहा“को कफी कल्चरस“ग परिचित हुन्छन् । तिनलाई घरको भान्छामा पाक्ने इन्स्ट्यान्ट कफीले धित मर्दैन ।

अनि, बिन्ज कफी रोस्ट गरेर कफी बनाउने एस्प्रेस्सो मेसिन भएको पसलमा जान्छन् । साथीभाई, परिवारलाई पनि तिनैमा लैजान्छन र कफीका बारेमा सुनाउँछन् । ‘यसरी नै कफी लोकप्रिय भएको हो', उनी भन्छन् । तीमध्ये ९० प्रतिशत पसलमा नेपाली कफी नै पाक्छ ।

तैपनि नेपालमा कफी कल्चर विकास भइसकेको मान्न गगन तयार छैनन् । मन लागेको बेला कफी पिउने जमात बढ्दैमा कफी कल्चर बन्यो भन्न मिल्दैन । कफी स्वाद मानेर पिउने । त्यो कफीका बारेमा सोधीखोजी गर्ने, स्वादका बारेमा भन्न सक्ने जमात हुनुपर्छ । स्वादलाई परिभाषित गर्न सक्ने जमात बन्नुपर्छ । हिमालयन जाभाको ठमेल आउटलेटमा अहिले एकचोटीमा ३, ४ जनाले मात्र यसरी कफीका बारे चर्चा गरिरहेका हुन्छन, ती सबै पश्चिमा पर्यटक हुन्छन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.