जाेए रुटको शतकसँगै इङ्ल्यान्डको गतिलो सुरुआत
राजकोटः भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इङ्ल्यान्डले गतिलो सुरुआत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो दिन बुधबारको खेल सकिँदासम्म चार विकेट गुमाएर तीन सय ११ रन जोडेको छ । इङ्ल्यान्डका जोए रुटले शतकीय पाली खेले । उनले एक सय २४ रन बनाए । मोइन अली शतक बनाउनबाट केवल एक रनले पछाडि छन् ।
कप्तान एलेस्टर कुक २१, हासिम हमिद ३१ र बेन डुकेट १३ रन बनाएर आउट भए । नाइट वाचम्यान बेन स्टोक्स १९ रनमा अविजित छन् । रुटले एक सय ८० बलको सामना गरी एक छक्का र ११ चौका हिर्काए । २६ वर्षीय रुटले ११ औं टेस्ट शतक बनाएका हुन् । ४९ औं टेस्ट खेलिरहेका उनले २३ वटा अर्धशतक पनि बनाएका छन् । रुटले एसियामा बनाएको यो पहिलो टेस्ट शतक हो ।
पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेको इङ्ल्यान्डलाई रुट र अलीले सम्हालेका हुन् । यी दुईबीच चौथो विकेटका लागि एक सय ७९ रनको साझेदारी भएको थियो । इङ्ल्यान्डले दोस्रो विकेट ७६ रन र तेस्रो विकेट एक सय दुई रनको स्थितिमा गुमाएको थियो । रुट र अलीको साझेदारीलाई उमेश यादवले तोडेका थिए ।
टेस्ट श्रृंखला सकिएपछि भारत र इङ्ल्यान्डबीच तीनवटा एक दिवसीय र तीनवटा टीट्वेन्टी प्रतियोगिता पनि हुने छ ।
टेस्ट क्रिकेटमा ‘डेब्यु’ गरिरहेका १९ वर्षीय हासिमले सन्तोषजनक प्रदर्शन गरे । हासिमलाई कुकको जोडीका रूपमा प्रारम्भिक ब्याट्सम्यानका रूपमा उतारिएको थियो । अलीले सम्हालिएर खेलिरहेका छन् । उनले एक सय ९२ बलको सामना गरिसके पनि केवल नौ चौका प्रहार गरेका छन् ।
भारतका बलर रविचन्द्रन आश्विनले दुई तथा उमेश यादव र रवीन्द्र जडेजाले एकएक विकेट हात पारे । भारतको सुरुआत राम्रो हुन सकेन । भारतले दिनको पहिलो आधा घन्टामै तीनवटा क्याच छुटाएको थियो ।
इङ्ल्यान्डले भर्खरै बंगलादेशमा घरेलु टोलीसँग दुई खेलको टेस्ट शृंखला १–१ को बराबरी खेलेको थियो । यो प्रदर्शनले इङ्ल्यान्डको आलोचना भएको थियो । इङ्ल्यान्ड र भारतबीच पाँच खेलको टेष्ट शृंखला हुनेछ । टेस्ट शृंखला सकिएपछि भारत र इङ्ल्यान्डबीच तीनवटा एकदिवसीय र तीनवटा टीट्वेन्टी प्रतियोगिता पनि हुनेछ ।
भारतले सन् २०१२ यता घरेलु मैदानमा एउटा पनि टेस्ट खेल हारेको छैन । भारत अन्तिम पटक घरेलु मैदानमा इङ्ल्यान्डसँगै पराजित भएको थियो ।