अमेरिकी जनताको निर्णय

अमेरिकी जनताको निर्णय

अमेरिकी निर्वाचन पद्धतिको सर्वाधिक सुन्दर पक्ष सम्भवतः त्यहाँका मुख्य पराजित प्रतिद्वन्द्वीबाट दिइने 'कनसेसनल स्टेटमेन्ट' (पराजय स्वीकार) हो । चुनाव अभियानबीचका तीक्तता र विभाजनभन्दा माथि उठेर विजयीलाई 'हाम्रो राष्ट्रपति' भएको उद्घोष अनि सहयोगको प्रतिबद्धता त्यसका सार सन्देश हुन् ।

हिलारी क्लिन्टनले त्यही परम्परा निर्वाह गरिन् । नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यही परम्परा र शालीनता अभिव्यक्त गरे, जुन चुनाव अभियानताका बनेको उनको छवि र त्यसका आधारमा उनीबाट अपेक्षा गरिएको व्यवहारभन्दा फरक थियो । यद्यपि हारेको भए के उनले कनसेसनल स्टेटमेन्टको त्यो परम्परालाई निर्वाह गर्थे होलान् त भन्ने प्रश्न एउटा 'काल्पनिक' र प्राज्ञिक बहसको विषय रहिरहनेछ ।

अमेरिका विश्वकै ठूलो अर्थतन्त्र र सैन्य शक्ति हो । त्यसैले अमेरिकामा हुने सर्वाधिक महत्त्वपूर्ण राजनीतिक घटना अर्थात् राष्ट्रपतिको चुनाव विश्वकै लागि चासोको विषय बन्ने गर्छ, अस्वाभाविक हैन । त्यस अर्थमा यो चुनाव नतिजालाई अमेरिकामा जस्तै बाहिरी जगत्मा पनि फरक-फरक तरिकाले हेरिनेछ, व्याख्या गरिनेछ ।

निर्वाचनमा डोनाल्ड ट्रम्पले खासगरी इस्लाम धर्मावलम्बीहरू तथा अमेरिकामा बस्दै आएका आप्रवासी समूह समुदायविरुद्ध लक्षित टिप्पणी गरेपछि उत्पन्न आशंका र अमेरिकी राज्यले भन्ने गरेको 'अमेरिकी मूल्य' बीच व्यापक अन्तर छ । तर अमेरिकी मूल्य के हो ? त्यो अमेरिकी जनताको बुझाइ र अभिव्यक्तिबाट पनि परिभाषित हुने हो । अमेरिकी जनता आफ्नो मतमार्फत बोलेका छन् ।

मतको त्यो अभिव्यक्तिमा जे कारण भए पनि अत्यधिक बहुमतको स्वविवेक र निर्णयमा उनी निर्वाचित भएका छन् ।अमेरिकी जनताको निर्णय उनीहरूको असुरक्षा र भय अनि ट्रम्पले सन्देश दिएको अमेरिकी विशिष्टता र अमेरिकी सुरक्षाको चाहनासँगै केही हदसम्म क्लिन्टनप्रतिको नकारात्मक धारणा अनि डेमोक्रेटिक पार्टीले प्रतिनिधित्व गरेको संस्थापनविरुद्धको मानसिकता आदिद्वारा प्रभावित भएका हुन सक्छन् । यो निर्वाचनले केही तथ्य र केही अवधारणा र मान्यता जन्माएको छ, जन्माउनेछ ।

आगामी दिनमा अर्थात् जनवरी २० मा ट्रम्पले सत्ता ग्रहण गरेपछि लिइने नीतिबाट अमेरिकी जनता र विश्वले त्यसको सही परिप्रेक्ष र आफूले सामना गरेको भोगाइबाट जाँच्नेछ । तर अहिलेका केही अवधारणाबाट जन्मिएका नतिजा त्यति सुखद छैनन् । अमेरिकी बजार र व्यापारमा त्यसका नकारात्मक लक्षण देखा पर्न थालेका छन् ।

अमेरिका विश्वका विभिन्न ६ वटा अत्यधिक हिंसा र उग्रवादबाट ग्रस्त मुलुकहरूमा विद्यमान युद्धस्थितिमा संलग्न छ । त्यहाँ शान्तिको लागि र त्यहाँका जनताको आत्मनिर्णयको अधिकारको पक्षमा अमेरिका कसरी उभिएला, यो एउटा महत्त्वपूर्ण कसी हुनेछ, ट्रम्प नेतृत्वको परीक्षणको ।

अमेरिकी अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभावबारे ट्रम्प सचेत देखिन्छन्, त्यसैले आफ्नो कार्यकालमा अमेरिकी अर्थतन्त्रलाई 'दोब्बर' वृद्धि र आयतन दिने घोषणा उनले गरे, निर्वाचित हुनेबित्तिकै । तर अमेरिकी अल्पसंख्यक र आप्रवासी समूह तथा समुदाय कत्तिको सुरक्षित महसुस गर्लान्, भोलि त्यो अमेरिकी 'भ्यालु' र परम्परा अनि उसको बाहिरी छविसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो ।

'रिपब्लिकन पार्टी' को बहुमत कांग्रेसमा रहे पनि ट्रम्पको व्यक्तित्व र नाराबाट दलका प्रभावशाली व्यक्तिहरू रुष्ट छन्, त्यसैले त्यहाँभित्र उनले कत्तिको सहयोग पाउलान्, त्यो पनि उनको लागि ठूलो चुनौती बन्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.