‘लगानीमैत्री वातावरण बनेन'
काठमाडौः नेपालमा लगानीमैत्री वातावरण बनाउन सके विदेशी लगानीकर्ता आकर्षित हुने सरोकारवालाले बताएका छन् । विदेशी लगानी भित्र्याउन कानुनी र प्रशासनिक सुधारसँगै अनुकूल वातावरण तयार गर्दै जानुपर्ने उनीहरूको तर्क छ । लगानीका लागि भर्जिन मुलुक मानिए पनि नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुन सकेका छैनन् ।
‘विश्वभर विदेशी लगानी भित्र्याउन प्रतिस्पर्धा चलिरहेका छ, विदेशी लगानीकर्ता आकर्षित गर्नका लागि अनुकूल कानुनसँगै लगानी सुरक्षा र प्रतिफलको प्रत्याभूत गर्नुपर्छ', उद्योगमन्त्री नवीन्द्रराज जोशीले भने, ‘लगानी भित्र्याउन राजनीतिक स्थिरता, ऊर्जा आपूर्ति, अनुकूल श्रमसम्बन्ध लगायतका विषयले महत्वपूर्ण भूमिका खेल्छन् ।'
मन्त्री जोशीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी विधेयक मस्यौदा अनुमोदनका लागि संसद्मा लैजाने तयारी भइरहेको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार ललितपुरमा आयोजना गरेको विदेशी लगानी सम्बन्धी गोष्ठीमा उनले भने, ‘सेज ऐन, औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन पारित भइसकेका छन् । यी कानुनको कार्यान्वयनसँगै नेपल विदेशी लगानीका लागि आकर्षक गन्तव्य बन्नेछ ।'
उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानले विदेशी लगानीकर्ता आकर्षित गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको बातावरण बनाउनुपर्नेमा जोड दिए । ‘विदेशी लगानी आकर्षित गर्ने विश्वभर होडबाजी छ, यस्तो बेलामा अरु देशमाभन्दा राम्रो वातावरण तयार गर्नुपर्छ', उनले भने, ‘नत्र लगानीकर्ता जुन देशमा लगानीमैत्री वातावरण छ, त्यतै लाग्छन् ।' द्वन्द्व, राजनीतिक अस्थिरता, विद्युत् कटौती, श्रम समस्यालगायतले उत्पादन लागत महँगो हुँदा विदेशी लगानीकर्ताका लागि नेपाल उत्साहजनक गन्तव्य नरहेको उनले बताए ।
पूर्वअर्थसचिव रामेश्वर खनालले नेपालमा विदेशी लगानीका उद्योग संकटमा रहेको बताए । ‘विदेशी लगानीका उद्योगले कर्मचारी तथा मजदुरलाई धेरै तलब दिएका हुन्छन्, तीनै उद्योग मजदुरकै कारण बढी संकटमा पर्ने गरेका छन्', उनले भने, ‘युनिलिभर, सूर्य नेपाल, डाबर नेपाल यसका उदाहरण हुन् जहाँ सधै मजदुरको हडताल हुने गर्छ ।'
नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले मुलुकले नयाँ संविधान पाए पनि समृद्धिको बाटोमा अगाडि बढ्न नसकेको गुनासो पोखिन् । राजनीतिक दलले अझै समृद्धिको बाटो समात्न नसकेको उनको भनाइ छ । मुलुकमा प्रशस्त विदेशी लगानी भित्राएर आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राखिए पनि पछिल्लो समय विदेशी लगानी उल्टै घटिरहेको बताइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले विदेशी लगानीको न्यूनतम सिलिङ तोक्नुपर्ने बताए । लगानीको सिलिङ नहुँदा सानो लगानी मात्र भित्रिएको यथार्थ औंल्याउँदै उनले ५० हजार डलरभन्दा कम लगानी स्वीकृत गर्न नहुने सुझाव दिए । तर, अर्थविद् शंकर शर्माले विदेशी लगानीको सिलिङ तोक्न नहुने बताए । उनले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकले भेन्चर क्यापिटल सम्बन्धि व्यवस्था सम्बोधन नगरेको भन्दै भेन्चर क्यापिटल सम्बन्धी प्रावधानलाई समेत समावेश गर्नुपर्ने सुझाव दिए ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्योग प्रतिष्ठानमा बन्द हडताल गर्न नहुने पक्षमा आफू रहेको बताए । ‘बरु कार्यकर्तालाई उत्पादनमा लगाउनुपर्छ । ताकी काम गरेर कमाएको पैसा चन्दा दिँदा कति गाह्रो हुने रहेछ भन्ने महशुस होस्', उनले भने । अर्का पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा विदेशी लगानी अत्यावश्यक रहेको तर्क राखे ।
अबको मुख्य एजेन्डा आर्थिक समृद्धि भएको हुँदा त्यसलाई पुरा गर्न विदेशी लगानी आवश्यक रहेको उनको भनाइ छ । कांग्रेस नेत एनपी साउदले निजी संस्थान र उद्योग बन्द गरेर राख्नुभन्दा चलाउनु उपयुक्त हुने देखेर सरकार बन्द उद्योग चलाउन कस्सिएको बताए । आफूहरू विदेशी लगानी भित्र्याउनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पार्दै उनले भने, ‘अहिले विदेशी लगानी भित्र्याउन राजनीतिक दल र कर्मचारतन्त्र बाधक देखिन्छन् ।'