विदेशमा नेपाली हस्तकलाको माग बढ्यो
पोखराः नेपाली हस्तकलाको माग विदेशमा बढ्दै गएको छ । माग बढे पनि माग अनुसार हस्तकलाका सामग्री उत्पादन हुन नसकेको व्यवसायीले बताएका छन् ।
प्रत्येक वर्ष विदेशमा नेपाली हस्तकलाका सामग्रीका माग बढे पनि उद्योगलाई चाहिने कच्चापदार्थको असहजता र लगानी बढाउँन पुँजीको अभावले उत्पादन बढाउँन समस्या परेको व्यवसायीले बताएका हुन् ।
युरोप, अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान, हङकङलगायतका देशबाट नेपाली हस्तकलाका सामानको माग बढी आउने गरे पनि त्यस अनुसार उत्पादन गर्न नसकिएको महिला सिप विकास संस्था पोखराकी कार्यकारी निर्देशक तथा कास्की पोखरा हस्तकला संघकी उपाध्यक्ष रामकली खड्काले बताइन् ।
आफूले उत्पादन गरेको हस्तकलाका सामग्रीमध्ये ८० प्रतिशत विदेशमा निर्यात हुने गरेको उनले सुनाईन् । २० प्रतिशत उत्पादन स्वदेशमै खपत हुने गरेको उनले जानकारी दिइन् ।
भूकम्पपछि भने स्वदेशमा हुने व्यापार घटेको उनले सुनाइन । विदेशमा भने माग झनै बढेको छ । क्वालिटीको सामग्री निमार्ण गर्न सके नेपाली हस्तकलाको उत्पादन विश्व बजारमा पठाउँन भ्याईनभ्याई हुने उनले सुनाइन् । हामीले कटनका झोला, खेलौना, टोपी, मफलरलगायत हस्तकलाका सामग्री निमार्ण गर्छौं । माग बढी भएकाले माग अनुसारको उत्पादन गर्न नसकिएको उनले बताइन् । विदेशबाट इमेल र फोनमार्फत अडर आउने गरेको हो ।
भूकम्प जानुअघि करिब ३ करोडको कारोबार भएकोमा त्यसपछि बिक्री घटेकाले दुई करोडमा झरेको उनले बताइन् । विदेशबाट आएको मागले गर्दा प्रतिकुल अवस्थामा पनि उद्योग राम्रो चलेको उनले सुनाइन् । सरकारले हस्तकलाको सामाग्री उत्पादनलाई प्रोत्साहन दिने गरी उद्योगमैत्री निती व्यवहारमा ल्याउनु पर्ने व्यवसायीको माग छ ।
गाउँ गाउँका महिला दिदीबहिनीले आफ्नो घरआगनमै बसेर रोजगारी पाउँने यस्तो उद्योगलाई पनि सरकारले प्रोत्साहन नगर्दा हस्तकलाका उद्योग धारासायी भएको उनले सुनाइन् । कच्चा पदार्थको सहजता र हस्तकलाका उद्योगलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने, पानी र बिजुलीको नियमीतता भए हस्तकलाका सामग्री उत्पादन गरी महिला दिदीबहिनीहरूले विदेशी मुद्रा आर्जन गर्न सक्ने उनले बताइन् ।
हस्तकलाका सामग्री उत्पादन गर्ने जनशक्तिको अभाव नरहेको उनले सुनाइन । संस्थाले १२ हजार महिलालाई हस्तकालाका सामग्री निमार्ण गर्ने तालिम दिएको ४३ वर्षदेखि महिलालाई स्वरोजगार बनाउन महिला सीप विकास संस्थाको स्थापना गरी लागिपरेकी खड्काले जानकारी दिइन् ।
महिला सीप विकास संस्थामा पाँच सय ८६ सदस्य रहेका छन् । महिलालाई स्वरोजगार बनाउने उद्देश्यले संस्थाले सञ्चालन गरेको उद्योगमा ४ सय महिलाले दैनिक रोजगारी पाएका छन् । दक्ष जनशक्ति भएर पनि सरकार साना उद्योगको विकासमा सहयोगी नहुँदा हस्तकालाका सामग्री उत्पादन गर्ने उद्योग स्थापित हुन नसकेको उनले सुनाइन् ।
उद्योगलाई चाहिँने रङ स्वदेशकै कच्चापदार्थबाट उत्पादित भए पनि कटन धागो भने भारतबाट ल्याउनु पर्ने अवस्था रहेको कास्की पोखरा हस्तकला संघकी सदस्य इन्द्रकला देवकोटाले बताइन् । धागो पनि यही उत्पादन गर्न सके विदेशिने रकम देशमै रहने र उत्पादन लागत पनि घट्ने उनले सुनाइन् ।
भूकम्पपछि पर्यटकको आगमनमा कमी आउँदा हस्तकलाका सामग्री विदेश निर्यातबाटै टिकेको उनको भनाइ छ । विश्व बजारमा नेपाली हस्तकलाका सामग्रीको माग बढे पनि सरकारले साना उद्योगको विकासमा ध्यान नदिँदा गाउँ गाउँमा स्वरोजगारको अबसर सृजना गर्ने हस्तकलाका उद्योगको विकास हुन नसकेको कास्की पोखरा हस्तकला संघकी अध्यक्ष हिरा भट्टराईले बताइन् ।
महिलाले सञ्चालन गरेको उद्योगलाई सहुलियतदरमा ऋण सुविधा दिने सरकारी निती भए पनि कार्यान्वयन नभएको पनि उनले सुनाइन् । हस्तकला संघमा ५१ हस्तकला उद्योग आवद्ध छन् । सबैको एउटै समस्या उद्योगलाई चाहिँने कच्चापदार्थ सहज रूपमा नपाइनु र लगानी बढाउँन सहज ऋण नपाइने गरेको संघकी अध्यक्ष तथा पदमावती हस्तकला उद्योगकी सञ्चालक भट्टराईले बताइन् ।