‘अंगीकृतका नाममा संविधान संशोधनको प्रस्ताव तुहाइए सरकार ढल्छ
काठमाडौंः संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय सदस्य रेखा यादवले अंगीकृत नागरिकताबारेको विरोध देखाएर संविधान संशोधन तुहाउन खोजिए वर्तमान सरकारलाई कसैले जोगाउन नसक्ने चेतावनी दिएकी छन्।
उनले अंगीकृत नागरिकता मधेशको माग नै नभएको जिकिर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि बहानामा संशोधनलाई ओझेलमा पार्न खोजे सरकार ढल्ने चेतावनी दिएकी हुन्।
बिहीबार काठमाडौंको धोबिघाटमा पत्रकारहरुसँग कुराकानी गर्दै यादवले भनिन्,‘हामीले माग नै नगरेको एजेन्डा देखाएर नयाँ विवाद सिर्जना गरिएकोले संविधान संशोधन प्रक्रियालाई नै डाइभर्ट गर्न यस्तो षड्यन्त्र रचिएको हो कि भनेर गम्भीर आशंका छ।’
अंगीकृतको ठाउँमा वैवाहिक नागरिकताको प्रावधान हुनुपर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पार्दै उनले हुँदै नभएको मुद्दामा अल्झिएर संविधान संशोधनमा दिलाइ गरिए स्वीकार्य नहुने बताए।
‘संविधानबाट अंगीकृत शब्द नै हटाइदिए हुन्छ। विदेशी पुरुषभन्दा पनि बुहारीमाथिको कानूनी विभेद हाम्रो प्राथमिकताको मुद्दा हो,’ यादवले भनिन्।
उनले कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्ता नभए प्रधानमन्त्री प्रचण्डको विश्वासनीयता गुम्ने बताइन्।