बेलायती राजकुमार ह्यारीकी प्रेमिका डिभोर्सी
संसारकै चर्चित अविवाहित पुरुषका रूपमा हेरिएका बेलायती राजकुमार ह्यारी आफ्नो प्रेमिकाका बारेमा बोल्न बाध्य भएका छन् । बेलायती सञ्चारमाध्यमले उनको प्रेमप्रसंगका बारेमा बारम्बार समाचार प्रकाशित गर्न थालेपछि वास्तविकताका बारेमा मुख खोल्न उनी बाध्य भएका हुन् ।
३२ वर्षीय राजकुमारको प्रेमप्रसंगको समाचारले यति बेला सबैको ध्यान तानेको छ । बेलायतको सम्मानित किङ्स्टन प्यालेसमा राजकुमारी बनेर भित्रने भाग्यमानी महिला को बन्ने भन्ने विषयलाई चासोका साथ हेरिएका बेलामा ह्यारीको प्रेमिकाका रूपमा अमेरिकी नायिकाको मेघन मार्कलको नाम सार्वजनिक भएको हो । ३५ वर्षीया मार्कल टेलिभिजन पर्सनालिटीका रूपमा पनि प्रख्यात छिन् । उनको टीभी नाटक 'सुट्स'ले उनलाई प्रसिद्धिको उचाइमा पुर्याएको हो । मेघन मार्कलको स्थायी घर भने क्यानडा हो ।
ह्यारी र मेघनको सम्बन्धका बारेमा बारम्बार समाचार आएपछि किङ्स्टन प्यालेस मंगलबार पे्रस विज्ञप्ति जारी गर्न बाध्य भएको हो । विज्ञप्तिमा ह्यारीले आफ्नो निजी जीवनका बारेमा सञ्चारमाध्यमले एकोहोरो 'फोर्स' गरेकाले उनी अलि आक्रामक रूपमा देखिए । विज्ञप्तिमार्फत उनले आफ्नो प्रेमसम्बन्ध र प्रेमिकाका बारेमा जे पायो त्यही लेख्न बन्द गर्न आग्रह पनि गरेका छन् ।
ह्यारीले प्रेमिकाको सुरक्षाका कारण कतिपय कुरा खुलाउन नचाहेको स्पष्ट पारेका छन् । आफ्नो प्रेमसम्बन्ध सार्वजनिक भएपछि मेघनको सुरक्षालाई लिएर उनले पछुतो पनि मानेका छन् । ह्यारीसँगको प्रेमसम्बन्ध सार्वजनिक भएपछि मेघन मिडियाको तारो बनेकी छन् ।
मेघनकी आमाका अनुसार फोटोग्राफरहरू उनको घरमा अनुमतिबिना प्रवेश गर्न खोजिरहेका छन् । केही पत्रिकाले उनीहरूको सम्बन्धका बारेमा बोल्न लोभ्याइरहेका छन् । ह्यारीले आफ्नो प्रेमिकाका बारेमा 'रेसियल' र 'सेक्सिएस्ट' भनेर गरेको कमेन्टप्रति बढी आक्रोश पोखेका छन् । सञ्चारमाध्यमले सीमा नाघेको तर्क गर्दै उनले सबैलाई 'प्रोफेसनल' बन्न आग्रहसमेत गरेका छन् ।
क्यानडाकी मेघनसँग ६ महिना अघिदेखि मात्रै ह्यारीको अफेयर्स सुरु भएको बताइएको छ । तर, यति थोरै समयमा उनीहरूको अफेयर्स अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय बनेको छ । ३२ वर्षीय राजकुमारले पनि लामो दूरीको सम्बन्धमा रहेको स्वीकार गरेको बताइएको छ । उनीहरूको पहिलो भेट क्यानडामै भएको थियो । अंगभंग भएका सिपाहीहरूको समर्थनमा 'इनभिकस गेम' (स्पोर्टिङ इभेन्ट)मा सहभागी हुने क्रममा उनीहरूको भेट भएको थियो । एक दशक सेनामा बिताएका ह्यारीले उनीहरूलाई देख्दा साँच्चै पग्लिएको प्रतिक्रिया दिएका थिए ।
मेघनकी आमा काला जातिको भएकाले बाल्यकालमा भेदभाव सहनु परेको बताएकी छन् । खानाकी सोखिन उनले आफ्नो ब्लगमार्फत विभिन्न प्रकारका रेसिपी प्रस्तुत गर्दै आएकी छन् । निकै संघर्षशील मेघनकी आमा आफैंलाई उत्प्रेरणाको स्रोत मान्छिन् । मेघन पनि लैंगिक समानताको एक अभियन्ताका रूपमा चिनिएकी छन् । एघार वर्षको उमेरदेखि उनी यस्तो अभियानमा लाग्न थालेकी हुन् । महिलालाई भान्सामा मात्रै सीमित गर्नु हुँदैन भन्ने भनाइ राख्दै आएकी मेघन डिभोर्सी भएको प्रसंगले पनि धेरै चर्चा पाएको हो ।
मेघनकी पूर्वपति
मेघन मार्कलले ३९ वर्षीय चलचित्र निर्देशक ट्रेभोर एन्गलसनसँग विवाह गरेकी थिइन् । उनीहरूको भेट सन् २००४ मा भएको थियो । भेटपछि उनीहरूको अफेयर्स सुरु भएको थियो ।
अफेयर सुरु भएदेखि नै धेरैले उनीहरूलाई सुन्दर जोडीका रूपमा लिन्थे । लामो समयको प्रेमसम्बन्धपछि सन् २०११ सेप्टेम्बरमा उनीहरूले विवाह गरे । तर विवाह भएको दुई वर्षपछि नै उनीहरू अलग भए । ट्रेभोरसँग डिभोर्स भएपछि एकल रहेकी अमेरिकी नायिका मेघन ह्यारीको रोजाइमा परेकी हुन् ।