क्याफे कर्नर-मलिनाको मेनु
खानाको रुचि र मान्यताका विषयमा कुरा गर्न हामीले निम्तो गर्यौं पूर्वमिस नेपाल एवं अभिनेत्री मलिना जोशीलाई । बुधबार मध्याह्न घडीको काँटाले दुई बजाइनसक्दै उनी राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा टुप्लुक्क देखा परिन् । मलिनाको 'पङ्चुआलिटी' सायद उनको सफलताको एउटा आधार पनि हो । उनको नम्र, मिजासिलो तर खुलस्त कुरा गर्ने बानी अर्को आकर्षण थियो ।
बजारमा चलिरहेको चलचित्र 'द विनर'की नायिका मलिनासँग इन्द्रेणी फुडल्यान्डको रेस्टुराँमा गफिन थाल्यौं । मिडियाले मानिसको जीवनशैलीमा सुस्त प्रभाव पारिरहेको हुन्छ । चलचित्रले त आमनेपालीलाई प्रत्यक्ष प्रभाव पार्ने नै भयो । चलचित्रका संवाद, शैली, रहनसहन, पहिरन र खवाइको प्रभाव सामान्य जीवन जिउने मानिससम्म परेको हुन्छ ।
चलचित्र क्षेत्रमा पहिचान बनाउँदै गरेकी सुन्दरी नायिका मलिना कस्तो खान्छिन्, के रुचाउँछिन् ? खानामा उनको रुचि र अरुचि के छ ? धेरैलाई चासोको विषय हुनसक्छ ।
यिनै प्रसंगका गफका क्रममा हाम्रो अगाडि उभिएका वेटरलाई उनले सादा नान र अचार अर्डर गरिन् । किन त्यतिमात्रै ? 'म अचेल खानामा अलि सचेत छु', उनले कारण खुलाइन् । उनलाई आफ्नो तौल बढ्ला कि भन्ने चिन्ता छ । स्लिम हुनु उनको रहरमात्रै होइन, चलचित्रको कथाले पनि त्यस्तै मागेको छ । अहिले उनी चलचित्रको छायांकनमा छिन् । मिस नेपाल २०११ को ताज चुमेपछि अर्को वर्ष चलचित्र ऋतुमार्फत रजतपटमा डेब्यु गरेकी हुन् । पाँच फिट सात इन्च अग्ली उनको तौल आठ वर्षअघि ६४ किलो थियो । अहिले उनको तौल ५८ किलो छ । 'म अझै तीन किलो तौल घटाउने योजनामा छु', मलिनाले भनिन्, 'म खानाको सोखिन त होइन तापनि खानामा नियन्त्रण गर्न सजिलो छैन ।'
राजमाकी सोखिन
पूर्व मिस नेपाल तथा नायिका मलिनालाई विशेष गरी नेपाली खाना दाल, भात, तरकारी मन पर्छ । नेवार परिवारमा जन्मिए पनि उनको पहिलो रोजाइ यही हो । त्यसपछि उनको रोजाइ भनेको राजमा राइस हो । दिदीले बनाएको सबै परिकार मन पराउने मलिनालाई रसबरी र काजुबर्फी असाध्यै खाऊँखाऊँ लाग्छ ।
'तर के गर्नु, डाइटिङमा छु, खानै मिल्दैन', नायिका हुन गाह्रो भएको सुनाउँदै उनले भनिन्, 'मेन्टेन गर्नैपर्छ ।' चिया, कफी खाँदै नखाने मलिनालाई ननभेजमा चिकेनमात्रै मन पर्छ । रातो मासु खायो कि जीउ भद्दा अनुभूति हुने गरेको उनले सुनाइन् । मलिनाको सुझाव छ, 'मन पर्छ भन्दैमा धेरै भारी खाना खानु पनि हुँदैन । अझ उमेरसँगै जे पायो वा रुच्यो भन्दैमा खाइहाल्नु पनि हुन्न ।'
बिहान उठ्नेबित्तिकै पानी पिउने मलिनाले पानी पिउन सबैलाई सुझाव पनि दिइन् । त्यसपछि उनी १०/११ बजेतिर निम्की, भुजिया वा चना र अन्डा खान्छिन् । दिउँसो सामान्यतया रोटी या खाना खान्छिन् । बेलुकीको खानामा भने उनी सुप वा हल्का खानेकुरामात्रै खाने गरेको सुनाउँछिन् ।
मम, चिकेन परिकार र चिप्सको पारखी भए पनि अचेल त्यति धेरै नखाने गरेको उनले सुनाइन् । सानो छँदा दाल र भातबाहेक अन्य खानेकुरा छुँदा पनि नछुने उनलाई आमाले 'पैसा दिन्छु, खाइदेऊ' भन्दै फकाएको धूमिल सम्झना अहिले पनि आइरहन्छ ।
नेभर ड्रिंक्स
मलिनालाई रातो मासु, चिज, पनिर, बटर र मसलेदार खाना मन पर्दैन । 'यसले स्वास्थ्यलाई फाइदा पनि गर्दैन', उनले भनिन्, 'जिब्रोको स्वादका लागि शरीरलाई दुःख दिनु हुन्न ।' आजसम्म चुरोट, रक्सी, वाइनको स्वादै नपाएको बताउन चाहने उनले यी चिज नखानसमेत आग्रह गरिन् । 'रक्सीले मेरा धेरै आफन्तको ज्यान गएको छ', उनले भनिन्, कतिको जीवन बिग्रेको छ, परिवार र प्रतिष्ठा खत्तम भएको देखेकी छु ।
त्यसैले यो खानेकुरा होइनजस्तो लाग्छ ।' नेपाली समाज अझै पनि परम्परागत सोचको परिवेशमा चलिरहेको बताउने मलिनाले भनिन्, 'शरीरले स्वीकार्ने खानुपर्छ, समाजमा पच्ने गर्नुपर्छ ।'