मितेरी साइनोको मूल्य
कथाकार भवानी भिक्षुले लेख्नुभएको दुई मीतको प्रसिद्ध कथाले मीतको गरिमा र महिमाको महत्वलाई उजागर गरेको छ । नेपाली साहित्यका अन्य विधाहरू, अनि चलचित्र र नाटकमा समेत मीतको प्रसंगलाई यथास्थान दिइएको पाइन्छ ।
त्यसो त नेपाली संस्कृतिमा एउटा रोचक परम्पराको रूपमा रहेको मितेरी साइनोका करुण रसले भरिएका अनेकौं कथा र किस्सा हाम्रा आमा, बुवा र हजुरआमाहरूले भन्नुहुने लोककथाहरूमा आज पनि सुन्न पाइन्छ । प्राचीन परम्पराको अटुट निरन्तरताको रूपमा आजसम्म पनि नेपाली संस्कृतिमा जीवन्त रहेको मितेरी लगाउने प्रचलन गाउँघरमा रहेकै छ ।
साइनो र सैना लगाउने संस्कारमा लौकिक मान्यताको साथसाथै पौराणिक आख्यान्नहरू रहेका पाइन्छन् । उपनिषद्हरूमा म सबै प्राणीलाई मित्रवत् व्यवहार गर्छु, मलाई पनि मित्रको रूपमा स्वीकार गर्नुहोस् भन्ने भावार्थको प्रार्थनाका श्लोकहरू पाइएको तथ्य शास्त्रकार र संस्कृति मर्मज्ञहरू बताउँछन् ।
यस प्रार्थनाले मानव र प्रकृतिबीचको अगाध स्नेह र सम्बन्धलाई उजागर गरेको छ । महाकाव्यकालको प्रख्यात कृति रामायण महाकाव्यमा वर्णित भगवान् रामचन्द्र र वालीसँगको मितेरी साइनो र भागवत पुराणमा वर्णित भगवान् श्रीकृष्ण र सुदामाबीचको आत्मिक, आध्यात्मिक र भावनात्मक सम्बन्धले मितेरी साइनोको सम्बन्धको महत्व र गरिमालाई उजागर गरेको छ ।
आज पनि मितेरी साइनो र वैवाहिक सम्बन्धलाई शुभेक्षा र शुभकामना अभिव्यक्त गर्दा भगवान् रामचन्द्र र शवरीको जस्तो अनि श्रीकृष्ण र सुदामाको जस्तो पवित्र, प्रगाढ र दीर्घायु रहोस् भन्दै तिनै पौराणिक पात्रहरूको सम्झना गरिन्छ ।
मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले तत्कालीन समाजको निम्न वर्गकी मानिने शवरीलाई हार्दिक स्वागत र श्रद्धा गर्दै शवरीको जुठो खाएर मानवताभन्दा माथि कुनै महायज्ञ छैन भन्ने आदर्श सिद्धान्तलाई स्थापित गराइदिए भने महामानव श्रीकृष्ण र गरिब सुदामाबीचको सम्बन्धले सम्बन्धका आयामहरूमा उचता र निचताको ग्रन्थीले कुनै स्थान पाउँदैन भन्ने आदर्श भावनालाई हाम्रै महाकवि देवकोटाले ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन' भन्ने उच्च विचारले अझ मजबुत बनाएको छ ।
सबैले रुचाएको पौराणिक ग्रन्थ श्री स्वस्थानीको कथामा पनि स्वस्थानीको प्रसाद छोरा नभए मीत छोरालाई दिनु भन्ने सन्दर्भले पनि मीतको महत्वलाई दर्शाएको छ । गाँस छोड्नु तर कुनै पनि मूल्यमा साथ नछोड्नु भन्दै साथीको महत्वलाई नेपाली समाजले उच्च स्थान दिएको छ ।
अझ सात गोत्र एक मित्र भन्ने भनाइले सात पुस्तासम्मको आफ्नो परिवारले गर्ने सहयोग एकै मित्रबाट पाइन्छ भन्ने मूल भावनालाई मितेरी साइनोले चरितार्थ गरेको छ । असल साथीको पहिचान जीवनको कठिन परिस्थितिमा हुन्छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा मितेरी सम्बन्धलाई कूटनीतिक चालबाजीका रूपमा प्रयोग गरेका थिए । सन् १७४१ तिर उपत्यका प्रवेश गरेका पृथ्वीनारायण शाहले भक्तपुरका राजा रणजित मल्लका छोरा वीरनरसिंह मल्ल र कान्तिपुरका युवराज जयप्रकाश मल्लसँग मितेरी साइनो गाँसेका थिए ।
जस्तै तुफान आँधी आउँदा पनि निष्ठाको दीप अटुट रूपमा प्रज्ज्वलित रहिरहन्छ भन्ने भनाइ रहेझैं कस्तै कठिन परिस्थितिको क्षणमा पनि असल साथीले साथ छाड्दैनन् भन्ने आध्यात्मिक निष्ठाको दर्शनलाई मितेरी साइनोको मूल मर्मले अँगालेको हुन्छ । खराब बाटोतिर उन्मुख आफ्नो साथीलाई माया, ममता र करुणाको साथसाथै गाली गरेर पनि सही मार्गमा डोर्याउनसक्ने अधिकार असल साथीको रूपमा लिइएको र दिइएको हुन्छ ।
भौतिकवादी दृष्टिबाट हेर्दा साथी र मितेरी साइनोको सम्बन्ध बीचमा एकै प्रकारको भावार्थ रहेको जस्तो देखिए पनि आध्यात्मिक र धार्मिक दृष्टिबाट साथीभन्दा मितेरी साइनोको निकै माथिल्लो स्तरको सम्बन्ध रहेको मानिन्छ । विशेषगरी अन्य देशहरूमा कतै पनि प्रचलनमा नरहेको यो चलन नेपाल र भारतमा भने प्राचीनकालदेखि नै प्रचलित देखिन्छ ।
त्यसो त मितेरी साइनो गाँस्नका लागि धार्मिक र सांस्कृतिक विधिविधानहरू रहेका छन् । धार्मिक प्रवृत्तिका मितेरी जोडीले आफ्नो साइनो सम्बन्धको दीर्घायुको अपेक्षताका साथ यस प्रकारको साइनो सम्बन्धलाई धार्मिक मान्यता दिएको पाइन्छ ।
मितेरी साइनो गाँस्ने क्रममा कुनै मन्दिरमा गई वा उपयुक्त स्थानमा मण्डप वा वेदी नै तयार गरी गणेश, दीप र कलशको स्थापना गरी हवन गराई अष्टचिरञ्जीवी र नवग्रहहरूको पूजा गरी गराई मितेरी साइनो सम्बन्ध गाँस्ने परम्परा रहेको पाइन्छ । सामान्य अवस्थामा भने मन, मुुटु, स्वभाव र भावना मिलेका साथीहरूबाट गक्षअनुसारको उपहारका वस्तुहरू साटासाट गरी मीत लगाउने प्रचलन गाउँघरतिर अद्यापि देख्न सकिन्छ ।
कतिपय धनीमानी व्यक्तिले मितेरी साइनो गाँस्दा पञ्चैबाजा बजाई विशेष पूजाआजाका साथ भोजभतेर खुवाउने गर्छन् । नेवारहरूमा ईही संस्कारको सप्तपानको पातमा हिँडाउने विधि सकेपछि मीत लगाउने विधि गरिन्छ । यो भनेको सात पाइला सँगै हिँडेपछि मित्रको छनोट गर्नु भनिएको हो ।
यस संस्कारमा आफ्ना बच्चीहरूको मन मिल्ने साथीसँग मीत लगाई मीत (साथी)को महत्वलाई स्वीकारेको छ । यो विधिमा पुरोहितले नै विधिपूर्वक नै एकआपसमा उपहारको आदानप्रदान गराई ईश्वर साक्षी राखी मितेरी साइनो लगाइन्छ (मञ्जरी प्रधान, नेवार समाज र इही, पृ.सं.४४) ।
स्वयम्भू अवस्थित हारती मातासँग पनि आफ्ना बच्चाहरूको मीत लगाउने प्रचलन छ । हारती मातासँग मीत लगाउँदा आफ्ना बच्चाहरू निरोगी हुन्छन् भन्ने जनविश्वास छ ।
मितेरी लगाइसकेपछि यस सम्बन्धले पारिवारिक सदस्यको मान्यता प्राप्त गर्छ । मीतमीतलाई धार्मिक संस्कारले समेत एकआपसमा जोड्ने मानिन्छ । मर्दापर्दा, जन्म, विवाह आदि संस्कारमा संस्कार लाग्ने, जुठोसुतक बार्नुपर्ने, श्राद्ध र तर्पणसमेत दिनुपर्ने शास्त्रीय र सामाजिक मान्यता छ । विशेष अवस्थामा मितेरी साइनोलाई नेपालको कानुनले समेत मान्यता दिएको छ ।
मितेरी साइनोको आयामभित्र धार्मिक र सांस्कृतिक चिन्तनका साथसाथै सामाजिक मूल्य र मान्यता रहेको पाइन्छ । पहिलेपहिले अहिलेजस्तो बाटोघाटो र यातायातको सुविधा थिएन । त्यस अवस्थामा धेरै दिनसम्म लामो पैदलयात्रा गर्नुपर्ने हुन्थ्यो ।
खानपानको समस्याका साथसाथै बीच बाटोमा बास बस्नुपर्ने हुन्थ्यो । तर, यसरी विभिन्न ठाउँका हितैषी मित्रहरूसँग साइनो गाँसिसकेपछि त्यही साइनोको आधारबाट आफ्नो मीतज्यूकहाँ खानपान गर्ने र बास बस्ने यात्राको तालिका बन्थ्यो ।
बाहिरी आँखाबाट हेर्दा मितेरी साइनोभित्र केही स्वार्थ जस्तो देखिए पनि तत्कालीन परिस्थितिमा यस्ता साइनो सम्बन्धहरू धार्मिक, सांस्कृतिक, सामाजिक र भौगोलिक सम्बन्धका आधार थिए ।
यस्ता साइनो सम्बन्धले सामाजिक दूरता र भौगोलिक विकटतालाई मानसिक रूपमा नजिक ल्याई सामाजिक र सांस्कृतिक सञ्चारको माध्यमबाट अनेकतामा एकताको भावनालाई बलियो बनाउने आधारहरू थिए । अझ भिन्न जातजाति र संस्कृतिबीच मितेरी लगाउने प्रचलनले धार्मिक र सांस्कृतिक चेतनाका आदानप्रदानमा सकारात्मक र प्रभावकारी भूमिका खेलेको पाइन्छ ।
प्राचीन समयमा राजामहाराजाहरू परचक्रीले आफ्नो देशमा आक्रमण नगरून् भन्ने उद्देश्यले (मितेरी साइनोको प्रतीकात्मक अर्थमा) छिमेकी राज्यहरूसँग वैवाहिक सम्बन्धका साथसाथै अन्य सन्धि सम्झौताहरू गर्ने गर्थे । यद्यपि यस्ता सम्झौताहरू तत्कालीन समयका परराष्ट्रनीतिका अभ्यासहरू थिए । नेपालको इतिहासमा पनि शासकहरूले मितेरी सम्बन्धलाई सम्बन्ध गाँस्ने एउटा सेतुको रूपमा लिइएको पाइन्छ ।
उपत्यकाका मल्ल राजाहरूले पाल्पा, गोरखा र मकवानपुरका राज्यहरू बीचमा गर्ने सम्झौताहरूमा एकानी शत्रु एकानी मित्रुको सन्धि मितेरी साइनोको एउटा रूप हो । गोरखाका राजा राम शाहले ललितपुरका राजा सिद्धिनरसिंह मल्लसँग, गोरखाका राजा पृथ्वीपति शाहले काठमाडौंका राजा नृपेन्द्र मल्लसँग र नरभूपाल शाहले रणजित मल्लसँग मीत लगाएको रोचक इतिहास छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा मितेरी सम्बन्धलाई कूटनीतिक चालबाजीका रूपमा प्रयोग गरेका थिए । सन् १७४१ तिर उपत्यका प्रवेश गरेका पृथ्वीनारायण शाहले भक्तपुरका राजा रणजित मल्लका छोरा वीरनरसिंह मल्ल र कान्तिपुरका युवराज जयप्रकाश मल्लसँग मितेरी साइनो गाँसेका थिए । कालान्तरमा गएर यो मितेरी साइनो नै पृथ्वीनारायण शाहका लागि उपत्यका विजय गर्ने विभिन्न कूटनीतिक आधारहरूमध्ये एउटा आधार र मल्ल राजाहरूको पराजयको कारण बन्न पुग्यो ।
पृथ्वीनारायण शाहका मीतबाबु बनेका रणजित मल्लले उनको कूटनीतिलाई बुझ्न सकेनन् भने अर्कोतिर पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण गर्ने अनन्त अभिलाषाको भावनाले अभिप्रेरित भएर मीतको मूल मर्म र आदर्शमाथि झेल गर्नुपर्ने युगीन बाध्यता र आवश्यकता आइपरेको थियो ।
मितेरी साइनोको यस राजनीतिले गोरखा राज्यका लागि राज्य विस्तार गर्ने एउटा अवसर भयो भने पछि यही मितेरी साइनो नेपाल–अंग्रेज युद्धमा नेपालको हार हुनुका विभिन्न कारणमध्ये एउटा अप्रत्यक्ष र गौण आधार बन्न पुगेको ऐतिहासिक यथार्थ इतिहासका पानामा पढ्न पाइन्छ ।
पश्चिम किल्ला काँगडा र गढवालसम्म नेपालले राज्यको सिमाना विस्तार गर्दा अंग्रेजहरू नेपालको बढ्दो शक्तिसँग सशंकित थिए । नेपालीहरूको आस्था, विश्वास, मूल्य, मान्यता र संस्कृतिको कमजोरीलाई बुझेका अंग्रेज प्रशासक मेजर जनरल अक्टर लोनीले आफ्ना छोरा लुनीअक्टरसँग बडाकाजी अमरसिंह थापाका छोरा राम थापाको मितेरी साइनो लगाइदिएका थिए ।
यस मितेरी साइनोबाट अंग्रेजसँग नजिक भई आफ्नो शक्ति मजबुत गराउने अमरसिंह थापाको अभीष्टलाई भौतिकवादी चिन्तन र दृष्टिकोणबाट कूटनीतिक लाभ उठाउने प्रवृत्ति भएका अक्टरलोनीले धुलो चटाइदिएका थिए । परिणामस्वरूप नेपालीहरूले कुमाउ र गढवालबाट हात धुनु परेको थियो । (इन्दिरा जोशी, नेपाल अंग्रेज युद्ध, पृष्ठ १०३)
पछि आएर राणाकालमा पनि मितेरी साइनोका रोचक प्रसंगहरू इतिहासमा पढ्न पाइन्छ । इतिहासअनुसार नेपाल भोट युद्ध हुँदा नेपाली सेनाको नेतृत्व गर्दै युद्धस्थलसम्म जाने क्रममा जंगबहादुर राणा मुस्ताङ पुग्दानपुग्दै बीच बाटोमा बिरामी भए । पछि उनले सल्लाको अग्लो रूखसँग मीत लगाएका थिए ।
मीत लगाइसकेपछि उनलाई सन्चो भयो र युद्ध गर्न गए । अन्त्यमा नेपालले भोटसँगको युद्धमा विजय प्राप्त गरेको रोचक इतिहास छ । जंगबहादुर राणाले रूखसँग मीत लगाउने यस प्रकारको सन्दर्भले समेत मानव र प्रकतिबीचको निष्ठापूर्ण सम्बन्धको महत्वलाई नै मुखरित गरेको सन्देश मिल्छ ।
राणाकालमै अर्का प्रधानमन्त्री चन्द्रशमशेरले लमजुङका एकजना स्थानीय मल्लाल लामिछाने गुरुङसँग मीत लगाएका थिए भन्ने भनाइ छ । शासकहरूले रैचीसँग मीत लगाउने प्रचलनले रैती र शासकबीचको सम्बन्धलाई अर्थपूर्ण संकेत गर्छ । तर, यसको अर्थ राणाहरू जनप्रेमी थिए भन्ने भने होइन (डा.जगमान गुरुङसँगको कुराकानीमा आधारित) ।
पश्चिमाञ्चलको पोखरामा मीतको एउटा रोचक प्रसंग रहेको संस्कृतिविद् जगमान गुरुङ सम्झना गर्छन् । उनका अनुसार पोखराका नेवारहरूका धनीमानी नेवार चौधरी सुब्बा जितारामले कप्तान खांगे गुरुङसँग मितेरी साइनो गाँसेका थिए । सुब्बा जितारामले पोखरास्थित भीमसेनटोलमा भीमसेनको मन्दिर स्थापना गरेका थिए । अनु श्रुतिअनुसार खांगे गुरुङले श्रीमतीको सुनका गहना मन्दिरलाई चढाएका थिए, जुन गहना अद्यपि देख्न सकिन्छ भन्ने भनाइरहेको छ । (डा. जगमान गुरुङसँग कुराकानीमा आधारित)
परिवर्तित नेपाली समाजमा मितेरी साइनोको मूल मर्म मर्दै गएको महसुस हुन्छ । लामो यात्रा गर्दा अपरिचित गाउँमा बास माग्ने र बास बस्ने प्रचलन विगतको राजनीतिक द्वन्द्व र आधुनिकताको अन्धाधुन्द अनुकरणका कारण लोप भएर गएको छ । विश्वमा नेपाल एकमात्र देश थियो जहाँ मध्यरातमा कसैको घरमा गएर बास माग्दा न्यानो अतिथि सत्कारसहितको बास पाइन्थ्यो ।
यो आतिथ्य अब इतिहासको विस्मृत पानामा खोज्नुपर्ने परिस्थिति आएको छ । नेपाली संस्कृतिको अभिन्न अंग र अटुट परम्पराका रूपमा रहेको मितेरी साइनो गाँस्ने चलन पनि लोपोन्मुख अवस्थामा छ । मानिसहरू एकातिर व्यक्तिगत स्वार्थमा लागेका छन् भने अर्कोतिर सामाजिकताको भाव हराउँदै गएको संकेत देखिन्छ ।
सामाजिक एकतालाई कायम गराई धर्म, संस्कृति, आस्था र विश्वासजस्ता मानवीय निधिहरूलाई मजबुत बनाउने मितेरी साइनोको संस्कृतिलाई पुनः जगाउनुपर्ने बेला आएको छ । पृथ्वीनारायण शाहले भूगोलको मात्र एकीकरण गरेका थिए । तर आज आएर हामी सबै नेपाली मानसिक रूपमा समीकरण भई एकताको हातेमालो बढाउन मितेरी साइनोले प्रभावकारी भूमिका खेल्छ ।
हिमालवासीले तराईवासीसँग र तराईवासीले पहाडवासीसँग मीत लगाई राष्ट्रिय एकता मजबुत बनाउन मितेरी संस्कृतिले प्रभावकारी भूमिका खेल्नसक्छ । व्यक्तिगत र पारिवारिक समस्यामात्र होइन कि नेपालको हालको राजनीतिक समस्यालाई निराकरण गर्न मितेरी साइनो सम्बन्धले प्रभावकारी भूमिका खेल्नसक्ने देखिन्छ ।
अझ विभिन्न राजनीतिक दलका नेताहरूले एकआपसमा आत्मीयताको मितेरी साइनो गाँसी राष्ट्रिय समुन्नतिको महाअभियानमा अग्रसर भइदिए राष्ट्रको मुहार छिट्टै फेरिन्थ्यो र अमूर्त संस्कृतिका रूपमा रहेको यस मितेरी साइनोको संस्कृतिले पनि निरन्तरता पाउने थियो ।