राज्य सञ्चालन र योग साधना

राज्य सञ्चालन र योग साधना

संसारमा दुई कुरा निकै कठिनकै विषय रहेछन्— योग्यता, क्षमता र स्पष्ट प्रणालीमा आधारित भै सञ्चालन हुने राज्य व्यवस्था अनि शारीरिक तथा नैतिक अनुशासन कायम गर्दै अघि बढ्ने धर्म योग साधना । प्रायः सबै मानिसले यी कुरा मन पराउँछन् तर अनुसरण गर्न भने असमर्थ हुन्छन् ।

मान्छेहरू जोडिएर समाज बन्छ र समाज जोडिएर राष्ट्र बन्छ । त्यसैले हरेक मान्छेको ज्ञान, विवेक तथा व्यवहारले समाज र राष्ट्रलाई असर पारिरहेको हुन्छ । असल कुराहरूको अभ्यास गर्न मानिसले खोजिरहन्छ तर असमर्थ हुन्छ खोज्न र निरन्तरता दिन अर्थात् त्यसमा चुक्तै पनि जान्छ ऊ ।

आधारभूत कुराहरूको जग नबसाली ठूलो प्रतिफलको आशा गर्न सकिन्न । राज्य सञ्चालनबाट राम्रो प्रतिफल ल्याउन सिद्धान्त, नीति, ऐननियम र त्यसको व्यवहारको अति महत्व छ ।

योग साधनाबाट पनि प्रतिफल प्राप्त गर्न यम, नियम अर्थात् शील सदाचार र अभ्यास अनि समर्पणको महत्व छ । त्यसैले कुशल ढंगले राज्य सञ्चालन गर्न र राम्रो योग साधना पथमा अघि बढ्न केही शाश्वत कुराहरू बुझ्न र अनुसरण गर्न आवश्यक छ ।

राज्य सञ्चालन बृहत्तर रूपको सामूहिक अभ्यासको कुरा छ र योग साधना भने व्यक्तिगत र आन्तरिक कुरा छ । यी दुवैका प्रतिफलले सुख र आनन्दको प्राप्तिमा ध्येय राख्छन् । तर, सुख र आनन्द फरक विषय छन् अनि योग साधना आनन्दको प्राप्तिभन्दा अगाडिको विषय पनि छ । राज्य सञ्चालनमा भौतिकताको रूप, गुण र आधारको व्यापकता छ तर योग साधनामा सूक्ष्म ज्ञान र तत्व रहस्यको ।

त्यसैले यी दुई विषयका कार्यक्षेत्र, आयाम र अभ्यासका तरिका केही फरकजस्ता छन् । राज्य सञ्चालन बढी देखिने अर्थात् भिजिबल, प्रत्यक्ष र सामूहिक अभ्यासको विषय छ र यसको प्रतिफल सामूहिक उपलब्धितर्फ उन्मुख हुन्छ ।

योग साधना भित्री तथा अन्तरआत्माको विषय भएकाले सूक्ष्म र वैयक्तिक पनि छ । कुशल राज्य सञ्चालनले मानिसमा अमनचैन, बाह्य शान्ति र भौतिक समृद्धि ल्याउँछ । योग साधनाद्वारा मानिसमा आन्तरिक स्वतन्त्रता र दिव्य आनन्दको प्राप्ति हुन्छ । यसका साथै विवेक र ज्ञानको उदय पनि सँगसँगै प्रवाहित हुन्छ । किनकि यी दुवै विषय शरीर र मनको शुद्धताका प्रतिफल हुन् ।

कुशल राज्य सञ्चालन गर्ने क्षमता र कुशल योग साधना अभ्यास दुवै लोभलाग्दा विषय छन् । त्यसैले यी विषयको चाहना राख्नु स्वाभाविक छ । तर, निरन्तरको अभ्यास महत्वपूर्ण विषय छ । अध्यात्म र राजनीतिको अन्तरसम्बन्ध पनि अभ्यासको विषयसँग गाँसिएको छ ।

राजनीति दूरदृष्टि र निरन्तर अभ्यासको विषय छ, अध्यात्म अभ्यास र वैराग्यको । तर शारीरिक र नैतिक अनुशासन दुवैतर्फ साझा अर्थात् अनिवार्य तत्व छन् । यी मूलभूत कुराहरूको कमीले गर्दा धेरै राष्ट्र असफल छन्, अलमलमा परेका छन् र व्यक्ति पनि बाह्य र आन्तरिक रूपमा असफल छन् ।

राज्य सञ्चालनमा होस् वा साधना अभ्यासमा, तपस्याको महत्व छ । योगी मनको महत्व छ । योगी मन चाहिने स्थानमा रोगी र भोगी मनहरूको बाहुल्यले राज्य सञ्चालनको अवस्था बिग्रिएको छ ।

बाहिर सफल देखिए पनि आन्तरिक रूपमा भने असफल छन् । समकालीन भारतमा देखिएको विकृति, सदाचारको ह्रास, हिंसाजन्य अपराध आदि दुरवस्थाबाट पार पाउन स्वामी विवेकानन्दले भन्नुभएको थियो— सत्वलाई बढाऊ, रजलाई स्थिर गर र तमलाई दबाऊ । यो प्रकृतिको गुण धर्मलाई सन्तुलित गर्ने र विचलित मानसिकतालाई उपचार गर्ने चेष्टाको कुरा हो । प्रकृतिमा व्याप्त गुण धर्म ऊर्जाको अवस्था र प्रवाहबाट सञ्चालित हुने विषय हो ।

स्थूलताको भविष्य सूक्ष्म तत्व रहस्यमा आधारित छ । सबै स्थूल जगत् सूक्ष्म जगत्बाट र सूक्ष्म जगत् कारण जगत्बाट सञ्चालित छ । सूक्ष्म र कारण जगत्को आधार तत्व ऊर्जा र चेतना हो ।

गीतामा पनि प्रकृतिको गुण धर्म अर्थात् सत्व, रज र तम गुणबारे चर्चा छ । सबै गुण धर्मको आगमनमा आहारको महत्व दर्शाइएको छ । आहारले मन बनाउँछ, मनले अगाडिको ध्येय र मार्ग निर्धारण गर्छ । आनन्द मनकै अनुभूति हो । गीताले गुण धर्म बिग्रँदा मान्छेमा पैदा हुने विकृति, सदाचारको अभाव, शारीरिक र मानसिक अनुशासनमा पर्ने प्रभावलाई इंगित गरेको छ ।

स्वामी विवेकानन्दले शरीरिक र मानसिक रूमपा योग्य नागरिकबाट नै सबल राष्ट्र बन्नसक्छ भन्ने कुरालाई जोड दिनुभएको छ । उहाँले यस्तो गुणधर्मयुक्त अभ्यासका लागि आफ्ना शिष्यहरूलाई शिक्षित र दीक्षित गराउनुभयो कि एउटा मग्न ध्यानमा बसेको साधक तताण खेतमा गएर परि श्रम गर्न तयार होस् ।

अर्थात्, साधना र कर्म व्यवहारको उत्कृष्टता पनि सँगसँगै आर्जन गर्न सामथ्र्य शिष्यको निर्माण नै स्वामीको ध्येय थियो । हाम्रो देशको अवस्थालाई हेर्दा नागरिकमा शारीरिक र मानसिक अनुशासनको दुरअवस्था बढ्दो छ । यो दुरअवस्था जनतामा भन्दा नेतामा बढी छ, कार्यकर्तामा बढी छ । यसको परिणाम हो- आफूलाई योग्य देख्ने तर आफ्नो गल्ती र कमजोरीचाहिँ नदेख्ने ।

मनकै कारण मान्छे बन्धनमा पर्छ र मुक्त अवस्था पनि प्राप्त गर्छ । सबै महान् अध्यात्म ग्रन्थ र महापुरुषहरूले यही कुरामा जोड दिएका छन् । मोक्ष र निर्वाणको अवस्था भने पनि मनलाई जितेको अर्थात् तृष्णाबाट मुक्त अवस्था हो । त्यसैले आध्यात्मिक र राजनीतिक तथा भौतिक सबै उन्नतिमा मनको आयतनको महत्व छ । मनलाई बुझ्न र अभ्यासद्वारा सही दिशामा उपयोग गर्न जरुरी छ ।

 

राम्रा मनको अभिव्यक्ति राम्रो नै हुन्छ, कार्य पनि त्यहीअनुरूप हुन्छ । सबै खराब आचरण र व्यवहारहरू प्रकृतिको गुण धर्म बिग्रिएर र त्यसको असर मनमा परेर नै हो । मनले शरीरलाई डोर्‍याउने हुँदा सबै असल र खराब कार्यहरूको स्रोत पनि मन हो ।

अध्यात्मचाहिँ मनभन्दा पनि परको विषय छ, अर्थात् अमनको विषय भएकाले अझ सूक्ष्म र गहनतम विषय छ । प्रज्ञा र तत्व रहस्यको विषय छ । त्यसैले यसको उपलब्धि आन्तरिक स्वतन्त्रतामा जोडिन्छ । तर, राज्य सञ्चालन भने मनभित्रको विषय छ । किनकि यो दृष्यवान् भौतिक जगत्को भौतिक सुख, प्राप्त र समृद्धिको विषय छ ।

चाहे राज्य सञ्चालनमा होस् वा साधना अभ्यासमा, तपस्याको महत्व छ । योगी मनको महत्व छ । योगी मन चाहिने स्थानमा रोगी र भोगी मनहरूको बाहुल्यले राज्य सञ्चालनको अवस्था बिग्रिएको छ । संसारका सफल र उन्नत राष्ट्रहरू कुनै निश्चित कालखण्डमा त्यहाँका राजनेताहरूको अखण्ड तपस्या, अविचलित निष्ठापूर्ण मन र समाजका अगुवाहरूको परि श्रम र सीपबाट समृद्ध बनेका हुन् । अभिप्सा, समर्पण र कर्मव्यताबिना राष्ट्र उन्नत बन्न सक्तैन र टिक्न पनि कठिन पर्छ ।

नेताले देखावटी होइन, आन्तरिक र हार्दिक रूपमा अर्थात् स्वच्छ मन र हृदयबाटै राष्ट्र बनाउने उत्प्रेरणा उजाउन सक्नुपर्छ । त्यसैलाई दूरदृष्टि अर्थात् ‘भिजन’ पनि भनिन्छ । यही नै नेताहरूको तपस्या हो, योग हो । राष्ट्र निर्माणमा पनि र योग साधनामा पनि मनकै खेल छ । मन सुधँ मंगल हुन्छ, कल्याण हुन्छ । मनले नै बुद्ध र अंगुलीमाल निर्माण गर्छ ।

मनलाई जित्दा जित हुन्छ, मन नै शत्रु र मित्रु हो । त्यसैले जसले आफ्नै मन सुधार्छ उसले संसारलाई सुधार्नसक्छ भनिएको हो । रुग्ण र लोभी मन भएकाहरूले राज्य सञ्चालन गर्दा लोभ र पाप नै बढ्छ, आज सर्वत्र त्यही रूप देखिन्छ । शरीरले नभएर मनले शरीरलाई सञ्चालन गर्ने हुँदा निर्णायक भूमिका मनको छ । मन ऊर्जाबाट प्रेरित छ ।

मनको अवस्था शरीरमा प्रवाहित हुने सूक्ष्म ऊर्जाको स्तर र गतिमा निर्भर गर्छ । जस्तो ऊर्जा शक्ति वातावरणमा व्याप्त छ, सोहीअनुरूप मन तयार हुन्छ । ऊर्जाको गति अधोगमनतर्फ बढी प्रवाहित हुने चेष्टामा छ भने मन त्यहीअनुरूप अघि बढ्छ र शरीरलाई अघि बढाउँछ । सूक्ष्म र निर्मल ऊर्जाले स्वच्छ मन निर्माण गर्छ ।

ऊर्जाको गुण र स्तरअनुसार सत्व, रज र तम गुण धर्मको बाहुल्यता कायम हुन्छ । प्रकृतिको गुण धर्म भन्नु नै ऊर्जा शक्तिको स्तरको तलमाथि हो । मन अगाडिका संस्कार, आहार, शिक्षा र साधनाबाट प्रेरित हुन्छ । त्यसैले संस्कार, आहार, शिक्षा र साधनामा हामी जति परिस्कृत हुन्छौं, समाज र राष्ट्रको गति सोहीअनुरूप अघि बढ्ने हुन्छ । यिनै कुराहरूको सुधारमा राष्ट्रको भविष्य छ । अध्यात्म र राजनीति पृथक विषय होइनन् । दुवैको ध्येय मानव कल्याण हो, व्यक्तिगत र सामूहिक कल्याणको विषय हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.