ब्राजिलले सजिलै हरायो अर्जेन्टिनालाई

ब्राजिलले सजिलै हरायो अर्जेन्टिनालाई

बेलो होरिजोन्टेः विश्व कप छनोट फुटबल प्रतियोगिताको शुक्रबार बिहान भएको खेलमा ब्राजिलले बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनालाई ३-० गोलले हराएको छ । जितसँगै ब्राजिलले आफ्नो रुस यात्रालाई सहज बनाएको छ भने अर्जेन्टिनाको विश्व कप यात्रा थप अप्ठ्यारोमा परेको छ ।

मिनेइरो रंगशालामा भएको उक्त खेलमा अर्जेन्टिनामाथि सजिलो जित हात पारेपछि पाँच पटकको विश्व कप विजेता ब्राजिलले दुई वर्षअघि विश्व फुटबलमा आफूले भोग्नु परेको पीडालाई पनि निकै हदसम्म कम गराएको छ । सन् २०१४ को विश्व कपको सेमिफाइनलमा सोही रंगशालामा जर्मनीसँग ७-१ गोलले पराजित भएपछि विश्व फुटबलमा ब्राजिलको साख खस्किएको थियो ।

नयाँ प्रशिक्षक टिटेको नेतृत्वमा ब्राजिलले जितेको यो लगातार पाँचौं खेल हो । घरेलु मैदानमा भएको खेलको पहिलो हाफमै दुई गोल गरेको ब्राजिलले दोस्रो हाफमा एक गोल थपेको थियो । खेल सुरु भएको २५ औं मिनेटमा फिलिप कोउटिन्होले ब्राजिललाई अग्रता दिलाएका थिए ।

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर कोउटिन्होले गोल गर्नासाथ मिनेइरो रंगशालामा उपस्थित हजारौं ब्राजिलियन समर्थकहरूले ‘च्याम्पियन खेलमा फर्कियो, मेसीबिनाको विश्व कप' जस्ता लगाएका लगाएका थिए । रंगशालामा उपस्थित अधिकांश ब्राजिलियन समर्थकले अर्जेन्टिनाविरुद्घको खेललाई अघिल्लो विश्व कपमा जर्मनीसँग भोगेको नमीठो पराजयसँग जोडेर हेरेका थिए । महँगो टिकट मूल्यका कारण ६२ हजार दर्शक क्षमताको मिनेइरो रंगशालामा ५३ हजार दर्शकमात्र उपस्थित थिए ।

प्रारम्भदेखि नै उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलका लागि पहिलो हाफको इन्जुरी समयमा स्टार खेलाडी नेमारले दोस्रो गोल गरेका थिए । ५९ औं मिनेटमा पाउलिन्होले अर्को गोल थपेपछि ब्राजिलले सजिलै नतिजालाई आफ्नो पक्षमा पार्‍यो । रेफ्रीको भूमिकाको विषयलाई लिएर भने खेल केही विवादित बन्न पुगेको थियो ।

खेल गोलरहित बराबरीमा अघि बढिरहेको बेला आफ्नै क्षेत्रको डीबक्सभित्र ब्राजिलियन खेलाडी नेमारको हातमा बल ठोक्किएको थियो । तर, अर्जेन्टिनी खेलाडीले ‘अपिल’ गरे पनि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी प्रहारको अवसर भने दिएनन् ।

खेलपछि ब्राजिलका प्रशिक्षक टिटेले बलियो अर्जेन्टिनाविरुद्घ आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिए । ‘मेरा खेलाडीले गजबको प्रदर्शन गरे, अब म रातभर आरामले निदाउन सक्नेछु’, उनको कथन थियो । गत विश्व कपमा जर्मनीसँगको हारले बनाएको घाउमा मल्हम लगाउने जित हात पारेकाले मात्र होइन, अन्य कारणले पनि प्रशिक्षक टिटेले यस्तो प्रतिक्रिया दिएका हुन् । सन् २००७ मा टिटेकै प्रशिक्षकत्वमा एट्लेटिको मिनेइरो क्लब रेलिगेसनमा परेर ब्राजिलियन लिगको दोस्रो डिभिजनमा झरेको थियो ।

नौ वर्षपछि त्यही सहरमा खेलिएको खेलमा अर्जेन्टिनाविरुद्घ ब्राजिललाई महत्वपूर्ण जित दिलाएकाले पनि उनी बढी उत्साही देखिएका हुन् । ‘वास्तवमा त्यतिबेला मैले गतिलो प्रशिक्षकको भूमिका निर्वाह गर्न सकेको थिइनँ । म अहिले पनि सन् २००७ को त्यो क्षण बारम्बार सम्झन्छु’, उनले भने ।

दक्षिण अमेरिकी क्षेत्रको विश्व कप छनोटमा सबै टोलीले ११÷११ खेल खेलिसक्दा ब्राजिल २४ अंकसहित तालिकाको पहिलो स्थानमा छ । ब्राजिलले हालसम्म सात जित, तीन बराबरी र एक हारको नतिजा निकालेको छ । यसैगरी २३ अंकसहित उरुग्वे दोस्रो, १८ अंकसहित कोलम्बिया तेस्रो, १७ अंकसहित इक्वेडर चौथो, समान अंक भएको चिली पाँचौं, १६ अंकसहित अर्जेन्टिना छैटौं, १५ अंकसहित पाराग्वे सातौं, १४ अंकसहित पेरु आठौं, पाँच अंकसहित भेनेजुएला नवौं र चार अंकसहित बोलिभिया १० औं स्थानमा आसीन छन् ।

अब सहभागी १० वटै टोलीले सातसात खेल खेल्न बाँकी छ । अंकतालिकाको माथिल्लो चार स्थानमा आउने टोली सिधै सन् २०१८ मा रुसमा आयोजना हुने विश्व कपका लागि छनोट हुनेछन् । तालिकाको पाँचौं स्थानमा आउने टोलीले भने विश्व कपमा छनोट हुन प्लेअफ खेल्नुपर्ने प्रावधान छ ।

स्पेनको बार्सिलोनाबाट अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसीलाई आफ्नै जेटमा विश्व कप छनोटका लागि ब्राजिल लिएर आएका घरेलु टोलीका दुई खेलाडी नेमार र जाभियर मास्चेरानो खेल अवधिभर मैदानमा छाइरहे, यद्यपि मास्चेरानोले गोल भने गर्न सकेनन् ।

यी तीनैजना खेलाडी स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्छन् । ‘मेसीको प्रदर्शन सधैं झैं उत्कृष्ट रह्यो, उनी हरपल मैदानमा दौडिरहे तर, हामीले उनलाई गोल गर्ने कुनै मौका नै दिएनौं’, खेलपछि ब्राजिलियन मिडफिल्डर रेनाटो अगस्टोले भने । मेसीले भने विश्व कपमा छनोट हुन अर्जेन्टिनी टोलीमा सुधारको खाँचो रहेको धारणा व्यक्त गरे । अघिल्लो विश्व कपको फाइनलमा जर्मनीले अर्जेन्टिनालाई १—० गोलले हराएको थियो ।

दक्षिण अमेरिकी क्षेत्रकै अर्को छनोट खेलमा उरुग्वेले आफ्नै घरेलु मैदानमा इक्वेडरलाई २—१ गोलले हरायो । उरुग्वेका लागि सेबास्टियन कोएट्स र डिएगो रोलानले एकएक गोल गरे । इक्वेडरका फेलिप कासिडोले एक गोल फर्काएका थिए । चिलीले भने कोलम्बियालाई उसैको घरेलु मैदानमा गोलरहित बराबरीमा रोक्यो । अर्को खेलमा पेरुले तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी पाराग्वेलाई उसैको मैदानमा ४—१ गोलको फराकिलो अन्तरले पाखा लगायो । भेनेजुएलाले भने आफ्नै मैदानमा बोलिभियालाई ५—० गोलको विशाल अन्तरले पराजित गर्‍यो ।

विश्व कप छनोटको आगामी खेलमा चिलीले उरुग्वे, अर्जेन्टिनाले कोलम्बिया, इक्वेडरले भेनेजुएला, बोलिभियाले पाराग्वे र पेरुसले ब्राजिलको सामना गर्नेछन् । त्यसपछिका खेलमा ब्राजिलले उरुग्वे, पाराग्वे, इक्वेडर, कोलम्बिया, बोलिभिया र चिलीको सामना गर्नेछ । त्यसैले अर्जेन्टिनाले अन्य खेल क्रमशः चिली, बोलिभिया, उरुग्वे, भेनेजुएला, पेरु र इक्वेडरसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.