म्याद नाघेका १७ हजार लिटर तेल नष्ट

म्याद नाघेका १७ हजार लिटर तेल नष्ट

निजगढ ः म्याद नाघेपछि बिक्रीका लागि राखिएको लाखौ मूल्य बराबरको तेल जिल्ला प्रशासन कार्यलयले नष्ट पारेको छ ।

निजगढस्थित ईशा सप्लायर्सको गोदामबाट बरामद गरिएको ‘सदाबहार’ ब्रान्डको म्याद नाघेका १७ हजार लिटर रिफाइन स्वायविन तेल प्रशासनले बकैया खोलामा जलाएर नष्ट पारेको हो । नष्ट गरिएको तेलको मूल्य २५ लाख रुपैयाँ बराबरको रहेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

अखाद्य तेलको बिक्रीवितरण भइरहेको सूचना पाएपछि पुगेको जिल्ला अनुगमन टोलीले दुई साताअघि ईशा सप्लायर्सबाट तेल बरामद गरेको थियो । दुई सयभन्दा बढी जर्किनमा भरेर गोदाममा राखिएको अवस्थामा तेल फेला पारेपछि टोलिले सप्लायर्सका सञ्चालक रमेश दंगाललाई नियन्त्रणमा लिई तेलको नमूना हेटौडास्थित खाद्य प्रयोगशालामा पठाएको थियो ।

प्रयोगशालाबाट बरामद गरिएको तेल खान योग्य नरहेको र स्वास्थ्यमा गम्भिर असर पुर्याउने बताएपछि प्रशासनले जलाएर नष्ट पारिएको हो । अखाद्य तेल बिक्रीका लागि राखेका सञ्चालकलाई भने प्रशासनले एक लाख धरौटीमा छाडेको छ । जिल्ला प्रशासन कार्यलय बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले दंगालमाथि कालोबजारी नियन्त्रण ऐनअन्तर्गत कारवाही सुरु गरिएको बताएका छन् ।

‘बढी नाफा कमाउने उद्देश्यले अखाद्य तेल बिक्रीका लागि राखिएको पाइयो’ सहायक प्रजिअ केशरीले भने ‘सञ्चालकमाथि कारवाही प्रक्रिया सुरु गरिसकेका छौ र अखाद्य तेल नेपालमा कसरी भित्रियो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको छ ।’ खाद्य प्रयोगशालाका अनुसार बरामद गरिएको पाँच महिनाअघिनै तेलको म्याद गुज्रिसकेको थियो ।

प्रयोगशालामा परीक्षण गर्ने क्रममा तेलले स्वास्थ्यमा गम्भिर असर ल्याउन सक्ने देखिएको खाद्य अनुसन्धान अधिकृत प्रेमचन्द्र झाले बताए । ‘यो तेल बजारमा गएको भए नराम्रो असर पर्न सक्थ्यो,’ झाले भने ‘तेलको पेरोअक्साइड भ्यालु १० हुनु पर्नेमा ४० देखियो । उक्त तेल खानका लागि योग्य मानिदैन् ।’

सहायक प्रजिअ केशरीले भारतबाट अवैध रूपमा आयात गरी नयाँ जर्किनमा राखिएको तेल देशका विभिन्न जिल्लामा पुर्रयाएर बिक्री हुने गरेको बताए । अनुगमन टोली गोदाममा पुग्दा नौ हजार लिटरभन्दा बढी तेल ग्यालिनमा राखेको अबस्थामा फेला परेको र बा“की भारतीय कम्पनीको प्याकेटमा नै रहेको केशरीले बताए ।

प्याकेटमा राखिएको उक्त तेल २०१५ को नोभेम्बरमा प्याकिङ गरिएको थियो र सो अवधीले अहिले म्याद नाघेको पाँच महिना नाघिसकेको केशरीले बताए । ‘कम्पनीको प्याकेटमा उल्लिखित समयावधी हेर्दा पाँच महिना नाघिसकेको छ । यस्तो अवस्थाको तेललाई नयाँ जर्किनमा भरेर बिक्रीका लागि पठाउन खोजेको पाइयो’ केशरीले भने ‘बढी मुनाफाका लागि स्वास्थ्यसँग खेलबाड गर्नु अपराध हो, हामी कारवाही गर्छौ ।’

म्याद नाघेको तेल कसरी र कहिले भित्रिएको भन्ने बारेमा अनुसन्धान सुरु भइसकेको भन्दै केशरीले अखाद्य वस्तु नेपाल भित्रिनु गम्भिर बिषय भएको बताए । धरौटी राखेर रिहा भएका सप्लायर्सका सञ्चालक दंगालले भने नाकाबन्दीको समयमा आयात गरिएको तेल समयमै बिक्री गर्न नसक्दा म्यान नाघेको र उक्त तेल बिक्रीका लागि गोदाम नराखिएको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.