प्रवासमा प्रेमराजा महत

प्रवासमा प्रेमराजा महत

रिल क्यासेट जमानामा नेपाली लोकगीतका राजा बनेका प्रेमराजा अहिले नेपालमा छैनन् । २० वर्ष भयो उनी अमेरिका बस्न थालेको । के उनी अमेरिका भासिएका हुन् ?

'नहोउ पर आउ वरवर
तिम्रो म छु मेरो पो को छ र ?
सिमसिमे पानीमा
ज्यानले बेमान गर्छ कि जिन्दगानीमा'

पचासको दशकमा सर्वाधिक चर्चित अधिकांश नेपालीको जिब्रोमै झुन्डिएको थियो यो गीत । गीतसँगै चर्चित थिए प्रेमराजा महत पनि । यही गीतका पुरुष स्वर । 'बाँझो खेतमा', 'सालैको पातैमा', 'हिउँचुलीमा हिउँ' जस्ता सर्वाधिक चर्चित गीतसँगै जोडिएर आउँछ उनको नाम । रिल क्यासेट जमानामा नेपाली लोकगीतका राजा बनेका प्रेमराजा अहिले नेपालमा छैनन् । २० वर्ष भयो उनी अमेरिका बस्न थालेको । के उनी अमेरिका भासिएका हुन् ?

महत यो स्वीकार गर्दैनन् । अमेरिकामा पनि नेपाली सरकारकै काम गरेर बसेको दाबी गर्ने महत नेपालको कलासंस्कृति प्रवद्र्धनमा लागिपरेको बताउँछन् । नेपाली संस्कृतिलाई संसारमा पुर्‌याउने उद्देश्यले आफू विदेश बसेको उनी दाबी गर्छन् । विदेशमा बस्दा पनि आफूले नेपालको संस्कृति र पर्यटनलाई 'ग्लोबल भिलेज'सम्म चिनाइरहेको भन्छन् उनी ।

'बाहिर' बस्नु भन्नुको अर्थ परदेशमै धुरीखाँबो गाडेर बसेको बुझ्न नहुने उनको तर्क छ । नेपालकै सपना देख्ने र नेपाललाई नै सहयोग गर्दै आफूले आफ्नो समय व्यतीत गरेको उनी बताउँछन् । चराहरू गुँड छोडेर गए पनि अन्ततः घर फर्कने सन्दर्भ जोड्दै उनी स्पष्ट पार्छन्, 'देशको माया नै नभएर वा खान नपाएर म अमेरिका बसेको होइन ।'

२०३६ सालमा रेडियो नेपालमा प्रवेश गरेका महतले गाएको पहिलो गीत थियो, 'तारा खसेको, कसरी बिर्सने सँगै बसेको' ।
'म्युजिक नेपाल' स्थापनापश्चात् स्थापित भएका महत दामभन्दा पनि नामका लागि गायनमा लागेको भन्छन् । तर, चर्चाको शिखरमा रहँदा नै उनी अमेरिका पसे । रेडियो नेपालमा लोकगीत प्रबन्धकसम्मको जिम्मेवारी सम्हालेका महत २०५३ सालमा अमेरिका छिरेका थिए ।

अब त उनले ग्रिनकार्ड लिएको पनि १० वर्ष पुगिसकेको छ । ग्रिनकार्डलाई नकारात्मक रूपमा नबुझ्न आग्रह गर्दै उनी भन्छन्, 'यो लामो समयसम्म बस्नका लागि अनुमतिपत्र मात्र हो, देशलाई माया मार्ने परिचयपत्र होइन ।'

महत अमेरिकामै भए पनि उनका बाबुआमा, दाजुभाइ, दिदीबहिनीलगायत आफन्त सबै नेपालमै छन् । त्यसैले उनी नेपालसँगको आफ्नो सम्बन्ध जीवन्त भएको दाबी गर्छन् । र, दम छ त्यो दाबीमा पनि ।

'हिमालयन कल्चरल गु्रप'समेत चलाएर बसेका महत नेपाली गीतसंगीतको श्रीवृद्धिमा नै खटिरहेका छन् । प्रवास बसाइको अवधिमा उनले १० वटा गीति एल्बम पनि निकालिसकेका छन् । हालै उनले नाकाबन्दीको पीडा समेटेर 'आयो नेपाली, आयो नेपाली' बोलको गीत तयार पारेका छन् । नेपाली सेनाले यो गीतलाई सैनिक गीत बनाउने कुराकानी भएको उनले बताए ।

गीतसंगीतमा मात्र होइन, विभिन्न समयमा आवश्यकताअनुरूप सहयोग जुटाउने काममा पनि उनी उत्तिकै सक्रिय छन् । महाभूकम्पको समयमा उनी लगायतले अमेरिकावासी नेपाली र अन्य शुभेच्छुकबाट करोडौं रुपैयाँ सहयोग रकम जुटाएका थिए ।

त्यतिमात्र होइन, हरेक वर्ष उनी नेपाल पुगिरहेका हुन्छन् । अमेरिकामा नेपालको पर्यटन बढाउन सक्दो भूमिका खेलिरहेका हुन्छन् । उनको निम्ति पर्यटन सेवा 'डेभेलपमेन्ट विदाउट इन्भेस्टमेन्ट' (लगानीबिनाको विकास) हो । अर्को वर्ष अगस्टमा वासिङ्टनका मेयर लगायतको टोलीलाई पर्यटक बनाएर नेपाल भित्र्याउँदैछन् । 'मैले व्यक्तिगत रूपमा देशलाई योभन्दा ठूलो के गर्न सक्छु ? ' महत भन्छन्, 'नेपालको विकास गर्न पर्यटन उद्योगभन्दा अरू केही पनि छैन ।'

अमेरिका बस्दा कहिल्यै पनि दोस्रो दर्जाको नागरिकको अनुभव गरेका छैनन् उनले । छिमेकीहरूले आफूलाई देउतासरह मान्ने गरेको उनी बताउँछन् । अमेरिकाका गभर्नर, मेयरलगायतका विशिष्ट व्यक्तिहरूसँग काम गरेका महत 'नेपाल हाउस' नामक संग्रहालयमार्फत देशलाई चिनाइरहेका छन् ।

भन्छन्, 'नेपाल हाउसमा सिंगो नेपाललाई चाख्न पाइन्छ ।' विदेशमा बसेका नेपालीलाई नेपालीले नै चिढ्याएको उनको बुझाइ छ । त्यसो नगर्न आग्रह गर्छन् उनी । नेपालमा अवसर नभएकाले नै नेपालीहरू बिदेसिन बाध्य भएको उनको तर्क छ । मान्छेको जात नै अवसरको खोजी गर्ने जात भएकाले आफू पनि अवसरको खोजीमा उता गएको उनी स्वीकार्छन् ।

नेपाल छोडेकोमा महतलाई पटक्कै पश्चात्ताप छैन । 'नेपाललाई मैले घात गरेको छैन बरु सहयोग गरिरहेको छु', भन्छन्, 'मैले त राज्यले गर्ने काम व्यक्तिगत तवरले गरिरहेको छु ।' अस्पताल, एम्बुलेन्सलगायतमा सहयोग गरिरहेका छन् महतले । बाहिर बसेका नेपालीले पनि निरन्तर सहयोग गरिरहेका कारण नै नेपालको विकास सम्भव भएको उनको दाबी छ ।

अमेरिकामा रहने नेपालीको अवस्था सरदरमा राम्रो रहेको उनी बताउँछन् । कलाकारका रूपमा अमेरिका भित्रिएका धेरैजसो नेपालीले आफ्नो हैसियत राम्रो बनाएर बसेको महत बताउँछन् । मानवअधिकारको स्थिति राम्रो भएकाले नेपालीले दुःख नपाएको उनको अनुभव छ ।

देशबाहिर रहेका नेपालीलाई भगौडा, पलायन भन्नुभन्दा पनि उनीहरूसँग भएको पुँजी, प्रविधि र सीपलाई उपयोग गर्नु उपयुक्त हुने उनको मत छ ।

त्यसो त अमेरिका नै बसिरहने सोचमा छैनन् महत । २०७५ सम्म नेपाल फर्किने योजना छ उनको । आफ्नो जन्मथलो तनहँमा कृषि फर्म खोल्ने योजनामा छन् उनी । प्रेमराजा महतको पुनः आगमनले नेपाली लोकगीतसँगै उद्यममा पनि थप टेवा पुर्‌याउँछ कि ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.