देश र जनताको शिर झुक्न दिन्नः ओली
गाईघाटः एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा संविधान संशोधन भए पनि देश र जनताको शीर झुक्ने काम हुनै नसक्ने बताएका छन् ।
एमाले उदयपुर कटारी नगर समितिको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले संविधान संशोधनको बाधक नभएको तर संविधान संशोधन गर्ने नाममा देशको शीर झुकाउने र जनताको शीर निहुरिने काम कदापी हुन नदिने बताएका हुन् ।
संविधान संशोधन गरेर देश बिखण्डन गर्ने जातीय र क्षेत्रीय नाममा मधेस र पहाडलाई टुक्राटुक्रा पार्ने काम एमालेले गर्न नसक्ने उनको भनाइ थियो ।
‘वर्तमान अवस्थामा देशमा संविधान कार्यान्वयन गर्नु आवश्यक छ, समयमा निर्वाचन गर्नु आवश्यक छ, यो बाटो खुलाउनुपर्छ,’ उनले भने ।
आफू सरकारमा हुँदा चीनसँग नेपाल जोड्ने र पुर्व पश्चिम रेलवेको सम्झौता तथा अवधारणा ल्याएको स्मरण गर्दै नेता ओलीले आफूहरू अहिले सरकार बाहिर रहेता पनि चीनसँग भएका सम्झौता कार्यान्वयनमा दबाब दिने बताए ।
लोकमानविरुद्धको महाअभियोगमा खुट्टा कमाए कांग्रेस पत्तासाफ हुन्छः नेपाल
कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त लोकमानसिंह कार्कीले पद र अधिकार दुरुपयोग गरेका कारण एमालेसहितका दलले कार्कीलाई महाअभियोग लगाएर हटाउन संसद्मा प्रस्ताव ल्याएको बताए ।
महाअभियोग प्रस्ताव बुहमतबाटै पारित हुने र यसमा नेपाली काँग्रेसले खुट्टा कमाउन नहुने उनको भनाइ छ । ‘लोकमानविरुद्धको महाअभियोगमा खुट्टा कमाए देश र जनताबाट नेपाली कांग्रेसको पत्तासाफ हुन्छ,’ उनले भने ।
कार्यक्रमलाई एमालेका केन्द्रीय सदस्य भीम आचार्य, जगन्नाथ खतिवडा र बलदेब चौधरी तथा सांसद इच्छाराज तामाङलगायतले सम्बोधन गरे ।
भवन निर्माणका लागि कटारीका स्थानीय स्वर्गीय पदमबहादुर बलको परिवारले एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेको थियो ।
१५ लाखको लागतमा निर्माण भएको भवन सांसद इच्छाराज तामाङको संसदीय कोष र व्यक्तिगत सहयोगमा निर्माण गरिएको हो । रासस