सहर बन्दै खुर्कोट
खुर्कोट ( सिन्धुली ): सात दशक पहिले पनि खुर्कोट सानो बजारै थियो । पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने बाटोमा पर्ने खुर्कोट रामेछाप, दोलखा र ओखलढुंगाबाट काठमाडौं जाँदा र तराई झर्दा बास बस्ने ठाउँ थियो । गाडी थिएनन् । भरिया बास बस्ने ठाउँ थियो । उसबेला यात्रु, भरिया बास बस्ने ठाउनै बजारका रूपमा चिनिन्थे । खाना/बासको व्यापार यस्तै ठाउँमा चल्थ्यो । 'खुर्कोटमा ऊ बेला बास बस्न ससाना झुपडी थिए', ७८ वर्षीय स्थानीय लीलानाथ देवकोटा सात दशकअघिको अवस्था सम्झिन्छन्, ' दैनिक केही यात्रु/भरिया खुर्कोटमा बास बसेकै हुन्थे ।'
तैपनि काँचुली फेर्न नसकेको खुर्कोट बीपी राजमार्ग निर्माण भएपछि द्रुत गतिमा सहरोन्मुख छ । पूर्वलाई काठमाडौं जोड्ने सबैभन्दा छोटो स्थलमार्गमा पर्छ, बजार । सुनकोसी नदीमा रामेछाप जोड्ने पुल बनेपछि यसमा रौनक थपिएको छ । बीपी राजमार्गअन्तर्गत सिन्धुली-खुर्कोट, मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट- मन्थली, खुर्कोट-घुर्मी-कटारी सडकको संगमस्थल भएका कारण खुर्कोट छिटो गतिमा सहर बन्न थालेको छ । पैदल हिँड्दा बासबसिने ठाउँ गाडीमा हुँइकिदा रोकिएर खाने ठाउँ बनेको छ । सुनकोसीको किनारै किनार मनारेम दृश्य हेर्दै पुगिने भएकाले काठमाडौंदेखि माछा आदिका परिकार खान मान्छे यहाँ ओईरिन थालेका छन् । बास बस्नका लागि झन्डै ५० वटा सुविधायुक्त होटेल खुलिसकेका छन् । पक्की घर धमाधम ठडिँदै छन् ।
-खुर्कोट आधुनिक सहरमा परिणत हुँदा सिन्धुलीसहित रामेछाप, दोलखा, र ओखलढुंगावासी लाभान्वित हुनेछन् । खेतीकिसानी गर्नेहरू होटेललगायतका व्यापारतिर आकर्षित छन् । आसपासबाट बसाइसराइ धमाधम हँदैछ । धुलिखेल-बर्दिबास सडक जोडिएपछि यहाँ बसाइसराइ बढेको हो ।
खेतीकिसानी गर्नेहरू होटेललगायतका व्यापारतिर आकर्षित छन् । आसपासबाट बसाइसराइ धमाधम हँदैछ । धुलिखेल-बर्दिबास सडक जोडिएपछि यहाँ बसाइसराइ बढेको हो । अरु मार्गको पनि जक्सन बनेपछि बसाइसराइ झन बढेको छ । त्यसैले जग्गाको भाउ अकासिएको छ । खुर्कोट घरले भरिभराउ देखिन्छ । अस्पताल, स्कुल, होटेल, बैंकलगायत सेवा पुगेका छन् । कतिपय निर्माणको चरणमा छन् । यहाँ दुईवटा निजी अस्पताल सञ्चालनमा छन् । यहाँको सुनकोसी नदीमा र्याफ्टिङको सम्भावना छ । मनमोहक दृश्य हेर्दै राजमार्गको यात्रा, र्याफ्टिङ, नदीको माछा खान पाइनेलगायत कारणले आन्तरिक पर्यटक गन्तव्य बन्ने सम्भवना बढी देखिन्छ ।
आधुनिक सहर बन्ने
सरकारले मध्यपहाडी राजमार्गमा बनाउने भनेको १० वटा नयाँ आधुनिक सहरमा खुर्कोट पनि पर्छ । 'आधुनिक सहर बनाउने सूचीमा परेको खबरले चमत्कारिक परिवर्तन हुन थाल्यो', स्थानीय भन्छन् । व्यवस्थित सहर निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले पूर्वाधार निर्माणको काम सुरु गरिसकेको छ । २०९० सालसम्म खुर्कोटलाई आधुनिक सहरमा परिणत गर्ने लक्ष्य छ । सहरमा कम्तीमा एक लाख मान्छे बसोबास गराउने गरी पूर्वाधार निर्माण भइरहेको छ ।
खुर्कोटलाई व्यवस्थित सहर बनाउन कम्तीमा ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खुर्कोटमा सुविधासम्पन्न अस्पताल, शिक्षण संस्था, व्यवस्थित बसपार्क, खेल मैदान, कवर्ड हल, खानेपानी, भित्री सडक, बैंक तथा वित्तीय संस्थालगायत हुनेछन् । अहिले खुर्कोटमा बसपार्क निर्माण तथा व्यवस्थापन गर्ने, सडक चौंडा बनाउने र सानातिना पूर्वाधार बनाउने काममा बजेट खर्च भइरहेको छ ।
खुर्कोट क्षेत्रको सर्भे डिजाइन र लागत इस्टिमेट गर्ने काम सम्पन्न भइसकेको सहरी विकास तथा भवन निर्माण विभागका प्रवक्ता शिवहरी शर्माले जानकारी दिए । भूकम्प प्रभावित क्षेत्र भएकाले सोहीअनुसार निर्माण कार्य अगाडि बढाइएको छ । भूकम्प पीडितले घर पुनर्निर्माण गर्दा सहरको गुरुयोजनाअनुसार निर्माण गर्नुपर्ने हुन्छ । यसका लागि परामर्शदाता नियुक्त गर्ने काम भएको छ । खुर्कोट क्षेत्रको विकासका लागि कार्यालय स्थापना, कामको टोकन तयार, एकीकृत जग्गा विकास गर्ने काम भइरहेको छ । खुर्कोट आधुनिक सहरमा परिणत हुँदा सिन्धुलीसहित रामेछाप, दोलखा, र ओखलढुंगावासी लाभान्वित हुनेछन् । रामेछाप, दोलखा, ओखलढुंगाको क्षेत्रीय व्यापारिक केन्द्र खुर्कोट बन्ने वाला छ ।
-बीपी राजमार्गअन्तर्गत सिन्धुली-खुर्कोट, मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट- मन्थली र खुर्कोट-घुर्मी-कटारी सडकको संगमस्थल भएका कारण खुर्कोट छिटो गतिमा सहर बन्न थालेको छ ।
कुनैबेला सुनकोसीले बगाएर ध्वस्त भएको खुर्कोट पुनःउठेको हो । तंग्रिन नपाउँदै भूकम्पको चपेटामा पर्यो । अहिले पनि सुनकोसीको बाढीको त्रास छँदैछ । तीनवटै जिल्लाका लागि व्यापारिक केन्द्र बन्ने सम्भावना देखिन्छ । उनका अनुसार सहर निर्माण आयोजनाले भित्री सडक बनाउने काम सुरु गरिसकेको छ ।
बसाइसराइ र आवागमन ह्वात्तै बढेकाले पाँच वर्षको तुलानमा २० गुनाले यहाँको कारोबार बढेको व्यवसायी बताउँछन् । खुर्कोट विकास परियोजनाका अध्यक्ष पुष्प कार्कीका अनुसार अहिले खुर्कोट बजारमा दैनिक करोडौंको कारोबार हुन थालेको छ । झन्डै ५० होटेल/लज सञ्चालमा रहे पनि कोठा अपुग छ । यहाँ दुईवटा निजी अस्पताल सञ्चालनमा छन् । यहाँको सुनकोसी नदीमा र्याफ्टिङ व्यावसायको ठूलो सम्भवना छ । यसले पनि खुर्कोटमा पर्यटकीय सम्भावना बढी देखिन्छ । आन्तरिक तथा बाह्य पर्यटक भित्त्याउन सकिने सम्भावना देखेर होटेलमा लगानी बढेको हो ।
सम्भावना धेरै, गति सुस्त
हरीहर विरही/स्थानीय
पूर्वबाट काठमाडौं आउने पैदलमार्गमा पर्ने खुर्कोटमा सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, रामेछाप, दोलखाबाट काठमाडौं ओहरदोहर गर्दा बास नबसी हुन्नथ्यो । त्यो बेला लज हुँदैन थियो । बास दिइन्थ्यो । मेरा हजुरबुवा गोविन्द आचार्य चौतारामा बस्नु हुन्थ्यो, कोही बटुवालाई घरमा ल्याएर खाना ख्वाएपछि बल्ल खाने उहाँको दैनिकी थियो । तैपनि बास बस्ने ठाउँ भएकाले पसल थिए, हामी सानै हुँदा पनि खुर्कोटमा किराना र कपडाका पसल थिए । खाना ख्वाउने पसल थिए ।
चहलपहलनै थियो । एउटा सार्वजनिक पाटी पनि थियो । जयबहादुरको किराना पसल खुब चल्थ्यो । मालिक धेरै फेरिए, तैपनि सुनकोसी पुलनिरैको त्यो पसल अहिले पनि जयबहादुरको पसल भनेर चिनिन्छ । खुर्कोट समृद्ध थियो । फाँटमा प्रशस्त उत्पादन हुन्थ्यो धान, गहुँ, उखु आदि । हामी सानो छँदै खुर्कोटको सख्खर काठमाडौंका बजार आउँथ्यो । पशुपालन थियो, घिउ बनाएर स्थानीयले बनेपामा ल्याएर बेच्थे ।
बास बसिने पुराना ठाउँ कालान्तरमा ठूला सहर बने पनि खुर्कोट लामोसमय परिवर्तन भएन । सडक मार्गमा नजोडिएको कारण काँचुली फेरिन पाएन । उल्टै, २०४१ सालको सुनकोसीको बाढीले यसलाई उजाड बनाइदियो । यहाँको उर्वर फाँट बगर बन्यो । धेरै थातथलो छाडेर अन्तै लागे । तर, एकपछि अर्को मार्ग बन्ने क्रमले खुर्कोटलाई पुनः गुल्जार बनाइदिएको छ । यसको आर्थिक गतिविधिको 'टर्निङ प्वाइन्ट' त बीपी राजमार्गको निर्माणनै हो । मध्यपहाडी लोकमार्गमा परेकाले खुर्कोट थप लाभान्वित भएको छ । बाटोबाहेक सरकारले गर्नुपर्ने पूर्वाधार निर्माणको काम भएको छैन ।
सम्भावना प्रचुर भए पनि सरकारको पर्याप्त ध्यान गएको छैन । बाटो त बन्यो, तर अरु पूर्वाधार बनाइएको छैन । सरकारको सहर बनाउने योजनाको गति सुस्त छ । खुर्कोटमा र्याफ्टिङको एकदम सम्भावना छ । आन्तरिक पर्यटकीय गन्तव्य बनिहाल्छ, होटेल/रिसोर्टमा लगानी हुन पर्यो । यति सुन्दर सुनकोसी छ, गौरीशंकर छर्लंग देखिन्छ । ऐतिहासिक सिन्धुलीगढी २५ मिनेटको ड्राइभमा पुग्न सकिन्छ । बजार रहेको बाटो छेउ खुर्कोटमा धेरै जग्गा छैन तर अलि माथितिर उक्लिएपछि जग्गा छ, पर्ती जग्गानै पर्याप्त छ । अबका सरकारी निर्माणमा तिनलाई उपयोग गरे, खुर्कोटको झन सुन्दर हुनेछ ।