हिलारीले भनिन्ः एफबीआइका निर्देशकका कारण पराजित भएँ
एजेन्सीः हिलारी क्लिन्टनले अमेरिकी राष्ट्रपति चुनावमा संघीय जाँच ब्यूरो एफबीआइका निर्देशकका कारण आफू पराजित हुनुपरेको बताएकी छिन् ।
पराजित भएपछि चुनावका विषयमा पहिलो प्रतिक्रिया जनाउँदै हिलारीले ब्यूरोका निर्देशक जेम्स कोमीका कारण आफू पराजित हुनुपरेको बताएकी हुन् ।
हिलारीले कोमीले चुनावको एकसाता अघिमात्र आफू विदेशमन्त्री भएको बेला प्रयोग गरिएका इमेलबारे पुनः अनुसन्धान गरेर चुनावी अभियानमा अवरोध गरेको अरोप लगाएकी छिन् ।
जाँच ब्यूरोका प्रमुख जेम्स कोमीले हिलारी विदेशमन्त्री हुँदा प्रयोग भएका इमेलका विषयमा पुनः अनुसन्धान गर्ने निर्णय गरेर केही दिनमै क्लिन्टनका इमेलमा त्यस्तो केही गल्ती नभेटिएको घोषणा गरेका थिए ।
बिबिसीका अनुसार क्लिन्टनले आफ्ना ठूला दातासँग गरेको टेलिफोन कुराकानीमा आफ्नो हारको कारण जेम्स कोमी भएको बताएकी हुन् ।
अमेरिकन राष्ट्रपति चुनावमा अपेक्षा विपरित रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि सुरु भएका प्रदर्शन अझै जारी छन् ।
हिलारीका पकड क्षेत्रमा प्रदर्शन चर्कदै गएको छ । न्युयोर्क, शिकागो, लस एन्जल्सलगायत क्षेत्रमा भएका प्रदर्शनका क्रममा दर्जनौँ घाइते भएका छन् ।