सवा अर्बमा गोल्छाका दुई उद्योग
काठमाडौंः व्यावसायिक घराना गोल्छा समूहले मंसिरदेखि बजाज बाइक र भ्याक्सिन उत्पादन सुरु गर्ने भएको छ । काभ्रेमा भ्याक्सिन उद्योग र नवलपरासीमा बजाजको एसेम्बल्ड प्लान्ट तयार भइसकेका छन् । दुईवटा उद्योगमा झण्डै सवा अर्ब रुपैयाँ लगानी भएको छ । भ्याक्सिन उद्योगमा गोल्छा र भारतको हेस्टर बायो साइन्सेस कम्पनीको संयुक्त लगानी छ ।
दुईवटै उद्योगबाट मंसिर मध्यदेखि व्यावसायिक उत्पादन सुरु हुने गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छाले अन्नपूर्णसँग बताए । भ्याक्सिन उद्योग आगामी मंगलबार पुजा गरेर उद्घाटन गरिनेछ । ‘दुई हप्तापछि भ्याक्सिन व्यावसायिक रूपमा उत्पादन सुरु हुन्छ' ,उनले भने, ‘बाइक पनि १५/२० दिनभित्र एसेम्बल्ड गर्न सुरु गर्छौं ।' दुवै उद्योग तयार अवस्थामा छन् ।
भ्याक्सिन उद्योग बायो टेक्नोलोजीमा आधारित हो । उद्योगबाट उत्पादित हाइटेक भ्याक्सिन ९० प्रतिशत निर्यात गर्ने गोल्छाले बताए । नेपालमा पशुपंक्षीका लागि ‘बेसिक मेडिसन' उत्पादन भइसकेको छ । तर, अहिलेसम्म ‘बायो मेडिसिन' उत्पादन नभएको उनको दाबी छ । यस उद्योगमा भाइरस र हावाको माध्यमबाट भ्याक्सिन उत्पादन गरिनेछ ।
नेपालमा बजाज बाइक सर्वाधिक लोकप्रिय छ । यही कारण गोल्छा समूहले स्वदेशमै बाइक एसेम्बल्ड गर्न लागेको हो । सुरुमा प्लाटिनम र डिस्कभर मोडल उत्पादन हुनेछ । दुई वर्षभित्र बजाजका अधिकांश मोडल नेपालमै उत्पादन गर्ने गोल्छाले बताए । पछिल्लो तथ्यांकले नेपालमा झण्डै ७० हजार बजाज बाइक बिक्री भएको देखाउँछ ।
भ्याक्सिन उद्योग
काभ्रेमा रहेको भ्याक्सिन उद्योगमा ६० करोड लगानी भएको छ । उद्योगमा हेस्टर कम्पनीको ६० प्रतिशत र गोल्छाको ४० प्रतिशत लगानी छ । हेस्टर पशुपंक्षीका भ्याक्सिन उत्पादनमा अनुभवी कम्पनी हो । हेस्टरले आफ्नो उत्पादन १४÷१५ देशमा निर्यात गर्दै आएको छ । नेपालमा उत्पादित भ्याक्सिन पनि भारतबाट निर्यात हुने मुलुकमा पठाउने योजना छ । हेस्टरसँग भएको साझेदारीले बजारीकरणमा कुनै समस्या नहुने गोल्छाको विश्वास छ ।
‘नेपालमा उत्पादित भ्याक्सिन अफ्रिकामा निर्यात हुनेछ । युरोप तथा मध्यपूर्वका देशबाट पनि अर्डर आइरहेको छ', कार्यकारी निर्देशक गोल्छाले भने, ‘कतिपय विदेशीले नेपालमा आएर भ्याक्सिन उद्योग हेरिसकेका छन् ।' नेपालमा पनि अन्तर्राष्ट्रिय मापदण्डको भ्याक्सिन उत्पादन हुने उनको दाबी छ । यसका लागि भवनदेखि उपकरणसम्म उच्च गुणस्तरको प्रयोग गरिएको छ । हावा र तापक्रम मिलाएर भवन निर्माण गर्नुपर्छ । उद्योगको मुख्य लगानी नै ‘एयर ह्यान्डलिङ' मा हुन्छ ।
गोल्छाका अनुसार ‘लाइभ भाइरस' र हावाको माध्यमबाट हाइटेक भ्याक्सिन उत्पादन गरिन्छ । यसको कच्चा पदार्थ भाइरस र हावा हो । झन्डै ९० प्रतिशत कच्चा पदार्थ स्वदेशी उपयोग हुनेछ । ‘हाइ भ्यालू एडिसन' हुने भएकाले नेपाललाई आवश्यक उद्योग भएको उनको भनाइ छ । भाइरस लाइसेन्स लिएर विदेशबाट आयात गर्नुपर्ने हुन्छ ।
काभ्रेमा भ्याक्सिन उद्योग र नवलपरासीमा बजाजको एसेम्बल्ड प्लान्ट तयार भइसकेका छन् । –दुईवटा उद्योगमा झन्डै सवा अर्ब रुपैयाँ लगानी भएको छ । भ्याक्सिन उद्योगमा गोल्छा र भारतको हेस्टर बायो साइन्सेस कम्पनीको संयुक्त लगानी छ ।
बजाज बाइकको एसेम्बल्ड प्लान्ट नवलपरासीको रामग्राममा छ । अत्याधुनिक प्लान्ट निर्माणमा ६५ करोड खर्च भइसकेको छ ।
‘पशुपंक्षीमा लाग्ने सबै रोगको भ्याक्सिन उत्पादन गर्ने लक्ष्य छ', गोल्छाले भने, ‘तर, लाइभ भाइरस राख्नुपर्ने भएकाले हामीले चाहेर मात्र हुँदैन, सरकारबाट अनुमति पाए सबै भ्याक्सिन उत्पादन गर्छौं ।' घरपालुवा जनावरका लागि इन्जेक्सन र पोल्ट्री फार्मका लागि स्प्रे उत्पादन गरिनेछ ।
भ्याक्सिन बनाउन सुषुप्त अवस्थाको लाइभ भाइरस ल्याउनुपर्छ । भाइरसलाई सर्टेन टेम्प्रेचरमा राख्नुपर्छ । भाइरस हावाबाट सर्टेन फुड दिएर तापक्रम मिलाइ राखेपछि ब्रिड हुँदै जान्छ । त्यही भाइरसबाट औषधि बन्छ । यसमा कच्चा पदार्थ अत्यन्तै कम प्रयोग हुन्छ । जति खर्च हुन्छ, त्यो प्रोसेसिङमा हुने हो । अरु औषधिमा झण्डै ७० प्रतिशत कच्चा पदार्थ भारतबाट ल्याउनुपर्छ ।
बजाज बाइक
बजाज बाइकको एसेम्बल्ड प्लान्ट नवलपरासीको रामग्राममा छ । अत्याधुनिक प्लान्ट निर्माणमा ६५ करोड खर्च भइसकेको छ । अबको २० दिनभित्र बाइक एसेम्बल्ड गर्न सुरु गर्ने गोल्छाले जानकारी दिए । सुरुमा कम इलेक्ट्रोनिक्स प्रयोग हुने प्लाटिनम र डिस्कभर मोडल उत्पादन गरिनेछ । आगामी दुई वर्षभित्र नेपालमा बिक्री हुने सबै मोडल उत्पादन गर्ने लक्ष्य राखिएको छ । पहिलो वर्ष १० हजार बाइक उत्पादन हुनेछन् ।
‘दुई वर्षभित्र भारतबाट बजाज बाइक आयात गरिरहनु पर्दैन, नेपालमा बिक्री हुने सबै मोडल यहीँ उत्पादन गर्छौं', गोल्छाले भने, ‘सोही अनुरुपको भौतिक संरचना तयार भइसकेको छ ।' कम भोल्यूममा बिक्री हुने बाइक भारतबाटै आयात गरिने उनको भनाइ छ । पल्सर नेपालमा सबैभन्दा बढी बिक्री हुने मोडल हो ।
बजाज बाइकको ३० प्रतिशत पाटपुर्जा नेपालमै बनाइनेछ । यसका लागि ४/५ वटा कम्पनीसँग सझेदारी गर्न लागेको गोल्छाले बताए । साइलेन्सर, स्ट्यान्ड, सिट कभर, टायरलगायतका पार्टपूर्जा नेपाली प्रयोग गरिनेछ । ‘ब्याट्रीका लागि जोइन्ट भेइञ्चर ल्याउँदैछौं, टायर बनाउन कोही तयार भएमा यहीँको प्रयोग गर्छौं' उनले भने, ‘दुई वर्षभित्र ३० प्रतिशत पाटपुर्जा स्वदेशी प्रयोग गर्ने हाम्रो लक्ष्य हो ।'
३० प्रतिशत स्वदेशी पाटपुर्जा प्रयोग गरेर पूर्ण क्षमतामा उद्योग चलाउँदा झन्डै ६ हजार रोजगारी सिर्जना हुने गोल्छाको बुझाइ छ । सुरुमा दक्ष र दक्ष गरी डेढ सयजनाले रोजगारी पाउने उनले बताए । ‘जुनसुकै देशमा मदर इन्डस्ट्री भनेर कन्स्ट्रक्सनलाई मानिन्छ जसले हजारौं सहायक उद्योग जन्माउँछ', उनले भने, ‘अटोमोटिभ पनि धेरै सहायक उद्योग जन्माउने कम्पनीमा पर्छ ।'
नेपालको दुईपांग्रे बजारमा बजाजको ४० प्रतिशत हिस्सा रहेको गोल्छाको दाबी छ । चालू आर्थिक वर्षमा ७०÷७५ हजार बजाज बाइक बिक्री गर्ने लक्ष्य राखेको उनले सुनाए । देशका दुर्गम जिल्लामा समेत बजाजको थ्रीएस सुविधा पुगिसकेको छ । हुम्ला, जुम्लादेखि, मुस्ताङ तथा सोलुखुम्बुजस्ता ठाउँमा समेत बजाजको सेवा पुगेको छ । छिट्टै सोलुखुम्बुको फप्लुमा समेत सेवा सुचारु गर्न लागेको उनले बताए । बजाजको पल्सर ग्रामीण क्षेत्रमा लोकप्रिय छ ।