सेज निर्माण सुस्त

सेज निर्माण सुस्त

सिमराः बाराको सिमरामा प्रस्तावित विशेष आर्थिक क्षेत्र (सेज) को निर्माण सुस्त देखिएको छ । औद्योगिक विकास र रोजगारीको सम्भावना बोकेको सेजलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने भन्दै आठ वर्षअघि औपचारिक उद्घाटन गरिएकोमा निर्माण कार्यले अझै गति लिन सकेको छैन । आठ वर्षमा पर्खाल लगाउने कामसमेत सम्पन्न नभएपछि स्थानीय निरास हुन थालेका छन् ।

काठमाडौं-निजगढ जोड्ने द्रुतमार्ग र टांगियावस्तीमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलसँगै सरकारले सिमरामा सेजको अवधारणा ल्याएको हो । बन्द वीरगन्ज चिनी कारखानाको आठ सय ३३ बिघा जमिन आफ्नो स्वामित्वमा लिँदै सेज निर्माण गर्ने लक्ष्य लिएको सरकारले समयमै प्रभावकारी कार्यक्रम ल्याउन नसकेका कारण समस्या देखिएको हो ।

सिमरासहित भैरहवा, काभ्रेको पाँचखाल गरी देशका १४ स्थानमा सेज स्थापना गर्ने सरकारको लक्ष्य छ । सेज निर्माणलाई प्राथमिकतामा राख्ने भन्दै तत्कालीन उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले ०६५ सालमा सिमरामा सेजको उद्घाटन गरेकी थिइन् ।

अहिलेसम्म सेज निर्माणको प्रारम्भिक कामसमेत सम्पन्न हुन सकेको छैन । हालै सिमरा–डुमरवानाको बीचमा पर्ने दुधौरा खोलामा पक्की पुल सञ्चालनमा आएको छ । दुधौरा खोलानजिकै ‘औद्योगिक सुरक्षा बल' बसेकाले यस क्षेत्रमा आशा बढेको छ ।

निर्माण सुरु भएको आठ वर्षमा पर्खाल लगाउने कामसमेत सम्पन्न नभएपछि स्थानीय निरास हुन थालेका छन् ।

व्यवस्थापिका संसद्बाट हालै सेज ऐन पारित हुनुअघि सिमरामा प्रस्तावित सेज निर्माणको प्रारम्भिक चरणमा सरकारको करोडौं खर्च भइसकेको छ । हाल गढिमाई नगरपालिकामा पर्ने सिमरा र डुमरवाना क्षेत्रको आठ सय ३३ बिघा जमिनलाई पाँच ब्लकमा विभाजन गरिएको छ ।

पहिलो चरणमा ‘ए' ब्लकमा पर्ने सिमराको जमिनमा पूर्वाधार निर्माण गन पटकपटक लगाइएको ठेक्कामा २० करोडभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । पछिल्लोपटक जमिनको सतह मिलाउने, नाला निर्माण र सडक छुट्याउने कामका लागि मात्रै ११ करोड ७३ लाख खर्च भएको छ ।

 

‘ए' ब्लकको जमिनको सतह मिलाउने काम सम्पन्न भएको बताउँदै विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यालयका सहायक इन्जिनियर अजयकुमार चौधरीले पर्खाल र नदी नियन्त्रणका लागि अहिले थप पाँच करोड ५० लाखको ठेक्का लगाइएको बताएका छन् ।

‘गुरुयोजना बनाएर पहिलो चरणमा जमिनको सतह मिलाउने, नाला निर्माण र सडक निर्माण गर्ने स्थानको पहिचान गर्ने काम सम्पन्न भएको छ । ‘अहिले त्यही ब्लकमा पर्खाल लगाउन र नदी नियन्त्रणका लागि अर्को ठेक्का लगाएका छौं', सहायक इन्जिनियर चौधरीले भने, ‘ठेक्का दिए पनि सम्झौता गर्न बाँकी छ । त्यसलगत्तै काम सुरु हुनेछ ।'

जमिनको सतह मिलाउन ११ करोड ७३ लाखको ठेक्का पाएको हेटौंडाको अमर कन्स्ट्रक्सनले नै अहिले दोस्रो ठेक्कासमेत सकारेको छ । कान्छाराम र सायर कन्स्ट्रक्सनलाई साथमा लिएको अमरले सम्झौतापछि काम सुरु गर्ने चौधरीको भनाइ छ । बी र सी ब्लकको कामका लागि समेत टेन्डर आह्वान गरिएको भन्दै चौधरीले दुई वर्षमा ‘ए' ब्लकको काम सम्पन्न गरी उद्योग सञ्चालन गर्ने तयारी रहेको बताए ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएको ‘ए' ब्लकको क्षेत्रफलभित्र झन्डै दुई सय ५० घरधुरीको बसोबास छ । लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयलाई अन्यत्र स्थानान्तरण नगरेसम्म निर्माण सम्पन्न हुनेमा जटिलता देखिएको छ ।

सहायक इन्जिनियर चौधरीले पनि बस्ती व्यवस्थापनका कारण समस्या भइरहेको बताए । ‘बस्तीलाई कसरी व्यवस्थापन गर्ने भन्ने अन्योलता छ', उनले भने, ‘अब यसका लागि ठोस नीति आवश्यक छ । जटिल समस्या बनेको बस्ती स्थानान्तरण पनि सेज निर्माण ढिलाइको एक कारण हो ।'

स्थानीयको बसोबास ‘ए' ब्लकमा मात्र नभई विभाजन गरिएका अन्य ब्लकमा समेत बाक्लो छ । चौधरीका अनुसार एक सय २८ बिघा रहेको ‘बी' ब्लक र ४९.५ बिघा रहेको ‘सी' ब्लकमा ५०/५० घरधुरी छन् । ‘ई' ब्लक खाली रहे पनि ‘डी' ब्लकको अधिकांश भागमा बस्ती छ ।

वीरगन्ज चिनी कारखानाले आफ्नो उद्योगमा काम गर्ने मजदुरलाई खेती गर्न जमिन दिएपछि बस्ती बस्न सुरु भएको हो । उद्योगले आफ्ना मजदुरलाई ६ कठ्ठाका दरले खेती गर्न जमिन दिएको थियो । कारखाना बन्द भएपछि मजदुरले सोही जग्गामा खेती र बसोबास गर्न थालेपछि बस्ती बाक्लिदै गएको हो ।

कारखाना बन्द भएपछि खाली जमिन मिचेर लामो समयदेखि बसोबास गर्दै आएका स्थानीय बस्ती छाड्न तयार देखिँदैनन् । वर्षौदेखिको बस्ती व्यवस्थापनका लागि सरकारी नीति स्पष्ट नहुँदा सेजका कर्मचारीसमेत अन्योलमा छन् ।

‘बस्ती व्यवस्थापन हामीले गर्न सक्दैनौ, त्यसका लागि सरकारले पहल थाल्नुपर्छ,' कार्यालयका इन्जिनियर दिनेश न्यौपानेले भने, ‘जग्गाको स्वामित्व सरकारलाई हस्तान्तरण गर्ने समयमा यो कुरा स्पष्ट हुन सकेको भए राम्रो हुन्थ्यो । अहिले समस्या भइरहेको छ ।' न्यौपानेका अनुसार सेजभित्रका बस्ती खाली गर्न सूचना जारी गरिएको छ ।

राज्यले घोषणा गरेको आयोजना निर्माणका लागि दवाव दिन मध्यतराई सहकारी सरोकार समितिका संयोजक डा. कृष्ण पौडेलले राज्यको प्रभावकारी नीतिको अभावका कारण जटिलता बढ्दै गएको बताए ।

योजना घोषणा गर्ने तर निर्माणका लागि राज्यले उदासीनता देखाउँदा लामो समय बितिसक्दा पनि सेज निर्माण कार्यले गति लिन नसकेको पौडेलको भनाइ छ । ‘राज्यको उपस्थिति नभएकाले पनि सेज निर्माण अलपत्रजस्तै देखिन्छ,' पौडेलले भने, ‘आवश्यक प्रभावकारी नीति संयोजन गरेर राज्य अघि बढ्नुपर्छ ।'

पर्याप्त बजेट र आवश्यक नीति लिएर राज्यले उपस्थिति जनाए अहिले देखिएका सबै समस्या समाधान हुने पौडेलको भनाइ छ । उद्योग वाणिज्य संघ सिमरा शाखाका अध्यक्ष युवराज पौडेलले जनचासोको विषय रहेको सेज निर्माणमा सरकारले ढिलाइ गरिरहेको बताएका छन् ।

सेज क्षेत्रमा उद्योग सञ्चालन गर्न उद्योगीव्यवसायी उत्साहित भइरहेका बेला निर्माणकार्यले गति लिन नसक्दा निराशा थपिएको उनको भनाइ छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.