एमालेद्वारा निर्वाचन कार्यतालिका माग
काठमाडौं: विपक्षी एमालेले तीनवटै तहको निर्वाचन गराउने कार्यतालिका सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । आफ्नो नेतृत्वको अघिल्लो सरकारले पेस गरेको कार्यतालिका अलपत्र परेको भन्दै एमाले सांसदले नयाँ कार्यतालिका माग गरेका हुन् । निर्वाचनसम्बन्धी तीनवटा विधेयकमाथि संसद्को राज्यव्यवस्था समितिको आइतबारको बैठकमा एमाले सांसद यज्ञराज सुनुवार, गंगालाल तुलाधरलगायतले तीनवटै तहको निर्वाचनसम्बन्धी कार्यतालिका अविलम्ब सार्वजनिक गरी तयारीमा जुट्न सरकारसँग माग गरेका हुन् ।
सांसद सुनुवारले 'फास्ट ट्र्याक' बाट निर्वाचनसम्बन्धी विधेयक समितिबाट पारित गरी निर्वाचनमा जुट्नुपर्ने बताएका हुन् । समितिमा राजनीतिक दल, निर्वाचन आयोग र मतदाता नामावलीसम्बन्धी विधेयकमाथि छलफल प्रारम्भ भएको छ । ठूला दल तीन प्रतिशत थ्रेसहोल्डको पक्षमा छन् भने साना दल त्यसको विरोधमा छन् । नेमकिपाका प्रेम सुवालले साना दललाई निषेध गर्ने गरी थ्रेसहोल्ड राख्न खोज्नु पञ्चायती मानसिकता भएको बताए ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले निर्वाचन आयोगका पदाधिकारी नियुक्तिमा दलगत भागबन्डा अन्त्य गरेर आयोगलाई निष्पक्ष र स्वतन्त्र बनाउनुपर्ने बताए ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा खट्ने कर्मचारीलाई आचारसंहिताविपरीत क्रियाकलाप गरेको भेटिए कारबाही गर्ने अधिकार आयोगलाई दिने व्यवस्था ऐनमा राख्न सुझाव दिए । विगतमा निर्वाचनमा खटिने कर्मचारीले बदमासी गरेका कैयौं तथ्यांक आयोगसँग रहेको उनले बताए ।
'आईजीपी हटाउने कुरा के हो ? '
एमाले सांसद सुनुवारले नेपाल प्रहरीका महानिरीक्षकलाई हटाउन खोजिएको बारे सञ्चारमाध्यममा आएका समाचारबारे प्रस्ट गर्न उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई आग्रह गरे । निर्वाचन गर्नुपर्ने बेला सुरक्षा निकायका प्रमुख हटाउँदा नराम्रो सन्देश जानसक्नेतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए । गृहमन्त्री निधिले भने त्यसबारे जबाफ दिएनन् ।