सक्षम र रुरल माइक्रोफाइनान्सबीच सम्झौता
काठमाडौंः सक्षम र रुरल माइक्रोफाइनान्स डेभेलपमेन्टबीच सम्झौता भएको छ । नेपालका लघुवित्त संस्थाको वित्तीय तथा संस्थागत क्षमता विकासका लागि रुरल माइक्रोफाइनान्स डेभेलपमेन्ट सेन्टरले बेलायती यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच ३४ जिल्लाका ग्रामीण विपन्न समुदायको वित्तीय पहुँच सुधार्न सम्झौता गरेको हो ।
सम्झौता अनुसार यूकेएड सक्षमको सहायतामार्फत संस्थाले देशका ग्रामीण लघुवित्त संस्थाको पहुँच अभिवृद्धि गर्न ‘इन्ह्यान्स इन्क्लुसिभ फाइनान्सियल फ्रन्टिएर टु द पुअर’ नामको कार्यक्रम प्रारम्भ गर्ने जनाएको छ । यस साझेदारीले ग्रामीण लघुवित्त विकास केन्द्रलाई कोहलपुर र इटहरीमा शाखा कार्यालय खोल्न मद्दत गर्नेछ ।
साथै, यस सम्झौताले सक्षमका कार्यक्रम सञ्चालन भएका जिल्लाका करिब ९० लघुवित्त संस्थासम्म जान मद्दत पुग्नेछ । यूकेएड सक्षमको सहयोगमार्फत रुरलले लघुवित्त संस्थाको क्षमता विकास र थोक कर्जा प्रदान गर्न वितरण प्रणालीको रूपमा काम गर्नेछ ।
कार्यक्रममा बोल्दै रुरलका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले नेपालको ग्रामीण भेगमा वित्तीय सेवा प्रदान गर्न लघु वित्त संस्था र थोक कर्जाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले ग्रामीण जनसंख्याको आवश्यकता पूरा गर्न र वित्तीय सेवामा रहेका कमीकमजोरी सुधार्न ग्रामीण लघुवित्त विकास केन्द्र कटिवद्ध रहेको बताए ।