बिक्री दोब्बर भएको छ
काठमाडौंः जेसीबी हेभी मेसिनका लागि नेपाली बिक्रेता एमएडब्लु अर्थमुभर्सले टाढैबाट मेसिनको निगरानी तथा हेरचाह गर्न सकिने अत्याधुनिक टेलिम्याटिक सिस्टम ‘जेसीबी लाइभलिंक' भित्र्याएकाे छ । कम्पनीले यो प्रविधिलाई सुरुमा ब्याकहो लोडरमा जोडिएको बताएको छ । आगामी तीन महिनाभित्र सबै मेसिनमा जडान गरिसक्ने जनाएको छ ।
‘जेसीबी लाइभलिंक अत्याधुनिक टेलिम्याटिक मनिटरिङ सिस्टम हो यसले मेसिनहरूको निगरानी गरी त्यसको उत्कृष्ट प्रयोगको प्रत्याभुत गर्न मद्दत गर्छ,' एमएडब्लु इन्टरप्राइजेजका प्रवन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने, ‘नेपालमा यस प्रकारको प्रविधि पहिलोपटक भित्रिएको हो ।' यो प्रविधिले जेसीबी मेसिनहरूको सर्भिस, अपरेसन तथा सेक्युरिटी (एसओएस) बारे महत्वपूर्ण जानकारी उपलब्ध गराउनेछ ।
जेसीबी लाइभलिंक पहिल्यैदेखि सञ्चालनमा रहेका जेसीभी ब्याकहो लोडरहरूमा पनि रेट्रोफिटिङ गर्न सकिन्छ । जेसीबीका मेसिन चोरिएको खन्डमा भू–उपग्रहको माध्यमबाट ट्रयाक गर्न सकिन्छ । लाइभलिंकले मेसिन राखिएको वास्तविक स्थानको पहिचान गरी भू-उपग्रह र मोबाइल फोन प्रविधिबाट सूचना पठाउँछ । साथै, मेसिन कति समय चल्यो, इन्धन खपत कति भयो र मेसिनको अवस्था कस्तो छ भन्ने जानकारी पनि यसले दिन्छ । यो सबै सुविधा वेभसाइट वा मोबाइल फोनमार्फत पाउन सकिन्छ ।
लाइभलिंकले मेसिनको प्रभावकारी प्रयोग तथा सुरक्षाका लागि ग्राहकलाई मद्दत गर्छ । यसमा विशेष ‘जियोफेन्स' सुविधा पनि छ । यो सुविधाले गर्दा मेसिन तोकिएको परिधिभन्दा बाहिर गएको अवस्थामा ग्राहकले तुरुन्त यसबारे जानकारी पाउनेछन् ।
साथै, मेसिन वर्किङ आवरभन्दा बढी चलेको खन्डमा पनि मेसिन मालिकले जानकारी पाउनेछन् । यसले मेसिनलाई अनाधिकृत प्रयोग र चोरीबाट बचाउँछ । त्यस्तै यसले मेसिन नचलेको अवधि, इन्धनको खपत, इन्धनको मात्रा र इन्जिन लोडबारे सूचना दिन्छ जसले गर्दा कम सञ्चालन खर्चमा अधिकतम लाभ हासिल गर्न सकिन्छ । लाइभलिंकले मेसिनको सर्भिस, अपरेसन तथा सेक्युरिटी (एसओएस) मा महत्वपूर्ण योगदान दिन्छ ।
नेपालमा जेसीबीका ब्याकहो लोडर, ह्वील्ड लोडिङ शोभेल, ट्रयाक्ड एक्साभेटर, भाइब्रेटरी कम्प्याक्टर, स्किड स्टिर लोडर र डिलर जेनसेट लगायतका उत्पादन उपलब्ध छन् ।
विष्णुकुमार अग्रवाल प्रवन्ध निर्देशक, एमएडब्लु इन्टरप्राइजेज
भूकम्पपछि पुनर्निर्माणको चरणमा जेसीबी मेसिनको बिक्री कस्तो रह्यो ?
हामीले जेसीबीका ९ वटा मेसिन भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क दियौं । भूकम्प लगत्तै एमएडब्लुको तर्फबाट एक महिनाका लागि २१ वटा मेसिन प्रहरीमार्फत प्रयोगमा ल्यायौं । भूकम्प र नाकाबन्दी नजिकै अलि गाह्रो भएको थियो । तर, अहिले पूर्वाधार निर्माणको काम धेरै बढेको छ । जेसीबी मेसिनको बिक्री पनि राम्रो छ । गएको वर्ष जेसीबी मेसिनको बिक्री ८५ प्रतिशतले बढेको थियो ।
बजारमा प्रतिस्पर्धी बढिरहेका छन् नी ?
जेसीबीको आफ्नै स्ट्रेन्थ छ, त्यसैले बजार हिस्सा गुम्छ जस्तो लाग्दैन । जति प्रतिस्पर्धी बढेपनि हामीलाई खासै असर पर्दैन । अहिले हाम्रा ब्राञ्च देशभरिका विभिन्न ११ ठाउँमा खोलिएका छन् । जेसीबीका टेक्निकल म्यानपावर एक सय ११ जना छन् । मेसिनको ‘टेक केयर' गर्ने जनशक्ति गत वर्षभन्दा दोब्बर बनाएका छौं । स्पेयर्स पार्टपुर्जाको स्टक पनि झन्डै दोब्बर छ । हाम्रोजस्तो ठूलो नेटवर्क अरुको छैन । यसले पनि जेसीबीलाई अझ विश्वासिलो बनाउँछ । जेसीबी मेसिनका पनि धेरै एडभान्टेजहरू छन् । जसले प्रोडक्टिभिटी बढी दिन्छ, फ्युलको खपत कम गर्छ, रिलायविलिटी बढी छ । अरुकोमा एक सालको वारेन्टी छ, हाम्रो दुई वर्षको वारेन्टी छ । यही कारण पनि हामीले बजार गुमाउँछौं जस्तो लाग्दैन ।
बिक्रीपछिको सेवा कस्तो छ ?
देशका विभिन्न ११ ठाउँमा खोलिएका हाम्रा ब्राञ्चमा स्पेयर्स पार्टसको स्टक गरेका छौं । हरेक ठाउँमा दक्ष सर्भिस मेनपावर उपलब्ध छन् । हाम्रा दुई वटा हेल्पलाइन कलसेन्टर पनि छन् । मेसिन बिग्रिएमा जो कसैले पनि उक्त कलसेन्टरमा कल गर्न सक्छन् । हामीले २४ घण्टाभित्र प्राविधिक पठाएर समस्या समधान गर्ने कोशिस गर्र्छौं । देशका दुरदराजसम्म पुगेर प्राविधिकहरूले मेसिन मर्मत गरिदिन्छन् । हाम्रा ११ वटा ब्राञ्चमध्ये नजिकको ब्राञ्चबाट स्पेयर्स पार्टस लगेर मेसिन बिग्रिएको ठाउँमा टेक्निसियन पुग्छन् ।
जेसीबीको मार्केट सेयर कति छ ?
नेपालमा जेसीबीको ब्याकहो लोडरमा ७० प्रतिशतभन्दा बढी हिस्सा छ । गतवर्ष कुल हेभि मेसिनको बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशत थियो । अहिले जेसीबीका झन्डै ३५ सयभन्दा बढी मेसिन कन्स्ट्रक्सन क्षेत्रमा छन् । पछिल्लो वर्ष जेसीबी मेसिनको बिक्री झन्डै दोब्बर भएको छ ।
नेपालमा जेसीबीका कति भेराइटी उपलब्ध छन् ?
भारतमा जेसीबीले झन्डै ३० वटा हेभी मेसिन बनाएको छ । ती सबै मेसिन नेपालमा उपलब्ध छन् । हामीसँग जेसीबीका ब्याकहो लोडर, ह्वील्ड लोडिङ शोभेल, ट्रयाक्ड एक्साभेटर, भाइब्रेटरी कम्प्याक्टर, स्किड स्टिर लोडर, डिलर जेनसेट लगायतका उत्पादन उपलब्ध छन् ।
एमएडब्लुले भित्र्याएको ‘जेसीबी लाइभलिंक' कस्तो प्रविधि हो ?
लाइभलिंकले मेसिनलाई पुरै कन्ट्रोल गरेको हुन्छ । यसले ग्राहकलाई आर्थिक लाभ पुर्याउँछ । हेभी मेसिन व्यावसायिक प्रयोगका लागि लिइन्छ । त्यसैले बिजनेससँग जोडिएको हुन्छ । लाइभलिंकले मेसिनको हेल्थ कस्तो छ, मेसिनको इञ्जिन कति चलेको छ, इञ्जिनमा कुनै समस्या छ कि छैन, यसको फ्युलको लेवल कति छ, लगायतका सुचना अवगत गराउँछ । यो सबै सुविधा वेभसाइट वा मोबाइल फोनमार्फत पाउन सकिन्छ । जीपीएसमार्फत मेसिनको पुरै सुरक्षा गर्छ । काम सुरु गर्नुअगावै मेसिनको अवस्था थाहा पाउन सकिन्छ ।
लाइभलिंक कुन-कुन मेसिनमा जोड्नुभएको छ ?
हामीले सुरुवात ब्याकहो लोडरबाट गरेका छौं । यो सबै मेसिनमा जडान गर्छौं । आगामी तीन महिनाभित्र सबै मोडलमा लाइभलिंक जडान गरिसक्छौं ।