भागबन्डामा तरुण दल

भागबन्डामा तरुण दल

पोखरा: कांग्रेस भ्रातृ संगठन तरुण दलको पोखरामा आयोजित चौथो महाधिवेशनका प्रतिनिधिलाई मताधिकार नदिई नेताको भागबन्डामा नयाँ नेतृत्वको खाका तयार पारिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले दलको अध्यक्ष प्रस्ताव गरेका जितजंग बस्नेतबारे अरू नेताहरू सहमत भए पनि अन्य पदको भागबन्डा मंगलबार अबेरसम्म पनि मिल्ने सकेन ।

नेता कृष्णप्रसाद सिटौला पक्षले उपाध्यक्ष पाएको र त्यसमा उनले उत्तम चापागाईंलाई पठाएका छन् । महामन्त्रीमा भने वरिष्ठ नेता रामचन्द्र पौडेलले नाम सिफारिस गर्न नसकेको स्रोत बताउँछ । पार्टी महामन्त्री शशांक कोइराला र पौडेल तथा अर्का नेता रामशरण महतबीच महामन्त्री कसलाई बनाउने भन्नेमा कुरा नमिलेको हो ।

कोषाध्यक्षमा चाहिँ नेता खुमबहादुर खड्काले आफू निकटलाई सिफारिस गर्ने पक्का भएको छ ।पौडेल पक्षले पदाधिकारी र सदस्यको संख्या बढाउने वा नबढाउने भन्नेबारे पनि निर्णय दिन नसकेको गुनासो सभापति देउवा पक्षले लगाएको छ । 'नेताहरूबाट सर्वसम्मतको प्रयास भएको हो, तर सहमति जुट्न सकेन', पार्टीको निर्देशक समितिका संयोजक बालकृष्ण खाँडले अन्नपूर्णसँग भने ।

नेताहरूले भागबन्डाका आधारमा सर्वसम्मतिको प्रयास गर्दा प्रतिनिधि नेतृत्व आफैं चुन्ने अधिकारबाट वञ्चित भएका छन् । सिटौला पक्षले मताधिकारको माग गर्दै मंगलबार दिनभर महाधिवेशनस्थल पोखरा सभागृहअगाडि धर्ना पनि दिएको थियो ।
शनिबार उद्घाटित महाधिवेशनमा आइतबार बन्दसत्र चल्यो । जिल्ला नेता र प्रतिनिधिले मतदानबाट नयाँ नेतृत्वको माग गरे । तर सोमबार र मंगलबार महाधिवेशनका कुनै पनि कार्यक्रम भएनन् ।

अन्तिमका दुवै दिन होटलहरूमा नेताहरूका बन्दसत्र भए पनि महाधिवेशनस्थल पोखरा सभागृहमा कुनै कार्यक्रम भएन । अधिकांश प्रतिनिधिले मंगलबारै पोखरा छाडेका छन् । उनीहरूका निम्ति मंगलबार रातिका लागि होटल र खानाको व्यवस्था पनि आयोजकले गरेका थिएनन् । पद पाइन्छ कि भन्ने आसमा रहेका प्रतिनिधिले मात्र पोखरा छाडेका छैनन् ।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलासहितका शीर्ष नेताहरूले भने पोखरा छाडेका छैनन् ।

'नेताहरूले एकताको सन्देश दिन भनेर सर्वसम्मति चाहनुभयो', निर्देशक समितिका संयोजक खाँडले अन्नपूर्णसँग भने, 'तर सर्वसम्मतिमा नेताहरूकै कुरा मिलेन ।' उनले तरुण दलको ऊर्जा नेताहरूले फेवातालमा लगेर डुबाएको पनि आरोप लगाए ।
नेताहरू बैठक बस्दा सहमत हुने र बाहिर निस्किएपछि फेरि असहमत हुने गर्दा सर्वसम्मतको प्रयास विफल भएको खाँडले बताए । 'निर्देशक समितिकै साथीहरू पनि जुट्न सकेका छैनौं', उनले भने, 'हामी पर्खिरहन्छौं, अरू साथीहरू आउँदै आउनुहुन्न ।'

निर्देशक समिति सदस्य सरिता प्रसाईंले पनि मंगलबार सर्वसम्मतको प्रयास गर्दा पनि सफल हुन नसकेको जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.