योगीराज मालनाथ अघोरीको मादल !
पैंतालीसौं अमेरिकी राष्ट्रपतिमा विजयी डोनाल्ड ट्रम्प साँच्चिकै तासको 'ट्रम्प' सावित भए । दोहोर्याइरहन पर्दैन, तासको खेलमा ट्रम्प भनेको जोकर हो, नमिलेका तासको पत्तीमा पनि ट्रम्प लगाउँदा मिल्छ । डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा त्यही अक्किल लगाएर हिलारी जस्ती अनुभवी महिला र हंसमुख उम्मेदवारलाई नारायणहरि पारिदिए ।
'सन्की, मूर्ख, मुखाले, बुद्धि नभएको, दुनियाँ नचिनेको, समय नबुझेको, भर्खरै राजनीति सुरु गरेको व्यक्तिले' कसरी जित्यो अमेरिकाको चुनाव ? संयुक्त राज्य अमेरिका भनिने विश्व महाशक्ति राष्ट्रको सर्वोच्च पद उसले कसरी शान्तिपूर्ण चुनावबाट हात पार्यो ? बुद्धिजीवी, पत्रकार, मत सर्वेक्षणकर्ता र विश्लेषकहरू बल्ल त्यसबारे यथार्थ ओकल्न थालेका छन् । तर उनीहरूले नै डेढ वर्षदेखि नामकरण गरेको एउटा लन्ठधिराज कसरी रातारात बुद्धिविवेक, क्षमता र योग्यता भएको मनुवामा परिवर्तन भयो ?
नयाँ पुस्तामा जबर्जस्त तर्कहरू राख्न माहिर मानिने युवा कानुन व्यवसायी अधिवक्ता विमल ढकालको जवाफ चित्तबुझ्दो लाग्यो । उनले भने, 'जसले ट्रम्पमाथि त्यस्ता आरोप लगाए ती पछौटे हुन् ।' भनाइ नै छ, पछौटेलाई एउटा नायक चाहिन्छ किनकि उनीहरू कानुनको शासन हुन्छ भन्नेमै विश्वास गर्दैनन् । उनीहरू यस्तै भन्ठान्छन् । उनीहरू सधैं भीमसेन थापा कि जंगबहादुर, बीपी वा महेन्द्र वा मदन भण्डारी खोजिरहेका हुन्छन् ।
त्यसैले उनीहरूले अमेरिकी चुनावलाई गुण र दोषको आधारमा केलाउन नसकेका हुन् । उनीहरूले आफ्ना अपेक्षाबाट चुनावलाई हेरे नकि अमेरिकी अपेक्षा र आवश्यकता । हिजो हिलारीबाट उनीहरूको अपेक्षा पूरा हुने देखेका थिए, तिनैलाई समर्थन गरे । आज ट्रम्पले चुनाव जिति नै सक्यो । अब जे हुन्छ, यसैबाट हुन्छ भन्दै ती ट्रम्पपट्टि सल्किसकेका छन् ।
ढकालले थपे, मौसमी विद्वान्हरूले जे भनून् वा गरून् तर नेपाली कम्युनिस्ट वा कांग्रेसी जस्तै अमेरिकामा पनि बिजिनेस नभएका, एक्टिभिस्ट बनेर काम गर्ने अनि संस्था बनाउँदै लबिङ गर्दै खानेहरूविरुद्ध एउटा अमेरिकी व्यापारी/उद्योगपति राष्ट्रपति निर्वाचनमा जबर्जस्त उम्मेदवार बन्यो र चिल्ला चापुल्ला होइन, 'हार्डकोर' कुरा लिएर आयो । अमेरिकी जनताले पनि त्यसैलाई पत्याएर ।
आफ्नो देश बिगारेर अर्काको देश पुग्ने र त्यसैलाई ध्वस्त पार्नेहरूका कुरा अमेरिकी मतदाताले नसुनेका मात्र होइनन्, तिरस्कार नै गरिदिए । राष्ट्रपति, सिनेट र हाउस अफ रिप्रजेन्टेटिभ तीनै ठाउँमा अमेरिकी जनताले ट्रम्पलाई नै स्थापित गरिदिए ।
संसारभर यसलाई अचम्मको रूपमा हेरिँदैछ । हुन पनि अमेरिकाको यो चुनावी प्रतिस्पर्धालाई दस वर्षमाथिका र आमसञ्चार तथा नेट र सामाजिक सञ्जालसँग जोडिएका प्रयोगकर्ताले एकोहोरिएर हेरे । सारा विश्वको ध्यान यो चुनावले अचम्मैसँग खिच्यो पनि । सञ्चार क्षेत्र त तानियो नै, बुद्धिजीवी, पेसाकर्मी, व्यवसायी र स्कुलका विद्यार्थीदेखि हेल्थक्लबसम्म चर्चा, छलफल र बहसको विषय बन्यो, एकछिन वा एक दिन होइन, एक वर्षसम्म । अमेरिकी राष्ट्रपति निर्वाचन 'टक अफ द टाउन, डाइनिङ टु कफी टेबल बन्यो ।
यो चुनाव यस्तो घटना बन्यो, जो अरूभन्दा नितान्त भिन्न रह्यो । ट्रम्प र हिलारीमध्ये को परिवर्तन र यथास्थितिको वाहक भन्ने निर्णय पनि भइछोड्यो । किन अमेरिकाको चुनावले विश्वभर यति प्रभावकारी छाप छोडेको हो ?
राजनीतिशास्त्रका एक प्राध्यापकले भने, दोस्रो विश्वयुद्धपछि अमेरिकाले विश्वलाई नै चुनौती दिइरहेको मात्र छैन, उल एक्लो बादशाह पनि बनेको छ । बादशाहको एकाधिकार र विश्वभर उसको प्रभाव उसकै गृहमा कस्तो परिरहेको छ, त्यसलाई पर्गेल्ने एक अपूर्व अवसर पनि हो यो चुनाव !
के कारणले ट्रम्पले चुनाव जिते र किन हिलारीले हारिन् ? मत सर्वेक्षण नै अनगिन्ती भए । 'मक इलेक्सन' अर्थात् नमुना मतदान त काठमाडौंको अमेरिकी दूतावासमा सम्म भयो । नेपालका पत्रकार, बुद्धिजीवी, समाजमा कहलिएकाहरूले ट्रम्प र हिलारीका ठूला तस्बिरमा उभिएर फोटो खिचेको सामाजिक सञ्जालमा हेर्न पाइयो । ती महामहिम र विदुषीहरूले मोक मतदानमा पनि भाग लिए । यहाँ पनि हिलारी र ट्रम्पबीच जितहार भयो । अमेरिकामा निस्केको परिणामको उल्टो निस्कियो । अमेरिकी जनताले जसलाई जिताए, नेपाली नक्कली मतदाताले उसलाई नराम्ररी हराएको परिणाम निकाले ।
काठमाडौंस्थित अमेरिकी नियोगले अमेरिकी निर्वाचन कति पारदर्शी, लोकतान्त्रिक हुन्छ भनेर अभ्यास गरेर देखायो, तर हाम्रा मान्छेले चुनावमा भाग लिए झैं तस्बिर खिचेर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पारेर वासिंटन पुगेर बसेको अनुभव गरे । हिलारीलाई आफूले जिताएको भन्दै ८० लाख खर्चेर पनि अमेरिका जान खोज्नेलाई बतासे फुइँ लगाए । अचम्म त के भने क्रिकेट, विश्वकप र युरोकप फुटबलमा जस्तै बाजी भए, कसले जित्छ भनेर ? ट्रम्पले त जित्नै सक्दैन भनेर उनको पक्षमा कसैले सुको राखेन । मात्र हिलारीले जित्ने भनेर एकलौटी बाजीका ढ्वाँसहरू मनग्गै प्रदर्शन भए । अमेरिकी जनता भने यसको विपक्षमा रहेछन् ।
यस्तो मत नेपालीबीच पनि त्यत्तिकै बनेको थिएन । यसको कारण थियो, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी चुनावबारे यसरी समाचार, विचार र विश्लेषण सम्प्रेषित गरिरहेका थिए कि ट्रम्प हिलारीको प्रतिस्पर्धामै पुग्दैनन् किनकि ऊ उम्मेदवार हुनलायक मानिस नै होइन । त्यसैले एकछापे भोट हाम्रा पत्रकार, बुद्धिजीवी र यहाँका सम्भ्रान्तहरूले अमेरिकी दूतावासमा हिलारीलाई खसालेका हुन् ।
स्वयं अमेरिकाभित्र दोहोरो प्रतिस्पर्धा थियो । आप्रवासीविरुद्ध ट्रम्प जबर्जस्त रूपमा थिए र फुर्सदिला गरिब देशका बेरोजगार युवा उनलाई हराउन दिलोज्यानले लागेका थिए । तर उनीहरूको हैसियत थियो, शरणार्थीको ! उनीहरूसँग न श्रम इजाजत थियो न त ग्रिनकार्ड नै ! तर पनि उनीहरूले सधैं हिलारीको पक्षमा प्रचार गरिरहे । सामाजिक सञ्जाल प्रदूषित बनाइरहे ।
हिलारी र उनका हनुमान शरणार्थीको मतबाट चुनाव जितिन्छ भनेर मक्ख परिरहे । फेरि न्युयोर्क टाइम्स, वासिंटन पोस्ट, सीएनएन अनि बुद्धिजीवी विश्लेषक निर्वाचन सर्वेक्षक/प्रक्षेपक जस्ता संसारभर पहुँच भएका सञ्चारमाध्यम एकत्रित भएर विभिन्न कोणबाट ट्रम्पको विपक्षमा बमन गरिरहे ।
ट्रम्प हैसियत नभएको मात्र भनेनन्, रिपब्लिकन पार्टीलाई पारकोटे, थोत्रा, पुराना, अल्छी, ढ्याके, चारपाटे, बेकम्मा, विश्वमा भइरहेको परिवर्तन नचिन्ने, सभ्यता, संस्कार, संस्कृति नभएका, आफ्नै उम्मेदवारलाई रिपब्लिकनले भोट हाल्दैनन् भनेर ०४८ को निर्वाचनमा एमाले उम्मेदवार मदन भण्डारीलाई उनकै पत्नी विद्या भण्डारीले भोट नहाल्ने भन्ने जस्ता समाचार विचार र चिठीपत्र प्रकाशित गरेर होच्याइरहे ।
हामीले जुन सञ्चारमाध्यमलाई सच्चा व्यावसायिक र पत्रकारिता धर्मका पालनकर्ता मानेका थियौं, खासमा उनीहरूले निर्वाचनमा धर्म छोड्दारहेछन् । त्यसैले ट्रम्पको सकारात्मक प्रचार हामीले देख्न, सुन्न र थाहा पाउँदै पाएनौं किनभने हामीले हेर्ने सञ्चारमाध्यममा सधैं हिलारीकै बादल, तुवाँलो र कुहिरो लागिरहेको थियो । ट्रम्प सुरुमा हिलारीकै डेमोक्रेटिक पार्टीका सदस्य रहेछन् । त्यो छोडेर रिपब्लिकन पार्टीमा प्रवेश गरेछन् । यो पनि चित्त नबुझेपछि रिफर्म पार्टीमा प्रवेश गरेछन् ।
त्यो पनि दुई वर्षपछि छोडेर हिलारीकै पार्टीमा फर्केछन् । टीभीमा टक प्रोग्राम चलाएछन् । त्यसपछि फेरि रिपब्लिकन पार्टीमा फर्केका रहेछन् । यस अर्थमा उनले व्यापारी÷उद्योगपतिबाहेक राजनीतिज्ञको मात्र होइन, पत्रकारको अनुभव पनि सँगालेका रहेछन् । कुशल वक्ता पनि रहेछन् ट्रम्प । उनी अमेरिकाकै धनीमानी व्यक्ति त थिए नै, त्यससँगै उनी मोजमस्ती, रसिक, नयाँनयाँ विधिव्यवहार र जीवनशैलीका पारखी पनि थिए । तर यो सबै उनी अरूको कमाइमा होइन, आफ्नै परि श्रमको धनमा उपभोग गरिरहेका थिए ।
नेपालमा पनि एकथरी पेसाकर्मी छन्, जसले चुनावको मिति तय हुनेबित्तिकै विदेशको पैसामा मत मनगढन्ते सर्वेक्षण सुरु गर्छन् र यस्ता मतपरिणाम चरणचरणमा बाहिर ल्याउँछन् । कहिले कसलाई जिताउँछन् त कहिले कसलाई निराश बनाएर धुवाँधार खर्च गर्न लगाउँछन् । यिनका प्रदर्शनी र प्रचारप्रसारले उम्मेदवार र पार्टी प्रचारले सञ्चारमाध्यममा स्थान पाउँछन् । संविधानसभाको पहिलो निर्वाचनमा माओवादीलाई दस÷पन्ध्र सिट दिएका थिए ।
कांग्रेस÷एमाले उखरमाउलो रूपमा फेरि आए भनेर प्रचार गरिएको थियो तर निर्वाचन परिणाममा नेपाली जनताले माओवादीलाई देशकै पहिलो पार्टी बनाइदिए । कांग्रेस÷एमाले दोस्रो र तेस्रो पार्टी त बने तर संविधानसभामा निर्वाचित सदस्य भने माओवादीभन्दा चार गुना तल पुगे । त्यसपछि संविधानसभाको दोस्रो निर्वाचनमा माओवादीले बहुमत जित्छ भनेर डंका पिटाए तर परिणाम माओवादी तेस्रो पार्टी भयो र लज्जास्पद हार बेहोर्यो ।
सञ्चारमाध्यम मिसनमा लागेर एकतर्फी बनेपछि यस्तै हुने रहेछ । निर्वाचनका बेला जनताको अभिमत बुझेर सुसूचित गराउनुपर्ने सञ्चारमाध्यमहरू व्यापारिक लाभमा लागेपछि दिग्भ्रमित हुने रहेछन् । अमेरिकाको भर्खरै सम्पन्न चुनावमा पनि यही कुरा दोहोरियो ।
वास्तवमा संसारभर अहिले राष्ट्रवादी र दूरदर्शी स्वप्नद्रष्टा नेताहरूका निम्ति समय बलवान् रहेछ । पृथ्वीलाई उत्तरतिरबाट फन्को मारेर नेपालै फर्केर आउने हो भने पाँच पात्र देखिँदा रहेछन्, जसको तत्देशमा वर्चस्व रहेको छ । जनताले उनीहरूलाई नै परिवर्तनका संवाहक र आफ्नो नेताको रूपमा स्विकारेको पाइयो । चीनका सी जिनपिङ, रूसका भ्लादिमिर पुटिन, भारतका नरेन्द्र मोदी, जर्मनीकी एन्जेला मार्खेल र अमेरिकामा डोनाल्ड ट्रम्प उदाएका छन् !
लोकतन्त्रमा चुनाव समयमा हुनुपर्छ, होइन भने केको लोकतन्त्र ? केको गणतन्त्र ? अमेरिकामा ट्रम्पले जनताको समर्थनमा चुनाव जिते, के पर्लय भयो ? तर अठार वर्षमा पनि हाम्रा नेता स्थानीय चुनावबाट किन डराइरहेका छन् भने उनीहरूलाई मादलभित्र के छ, राम्रोसँग थाहा छ !
राष्ट्रवादी स्वप्नद्रष्टाको रूपमा संसारमै नेतृत्व परिवर्तन भइरहेको उदाहरण हो यो । यसबाट थाहा पाउन सकिन्छ-विश्वमा राष्ट्रवाद र स्वप्नद्रष्टाले वास्तविक जनताको समर्थन पाइरहेका छन् । दलाल, नोकर, बिचौलिया, कायर र अरूको भरौटै हुतिहाराका दिन गएको संकेत हो यो । कृत्रिम, ढोंगीहरूका दिन सकिएकै हुन् त ? अमेरिकाको भर्खरै सम्पन्न चुनावले यही प्रमाणित गरेको छ । नेपालमा पनि स्थानीय चुनाव १८ वर्ष बित्दा पनि हुन पाएको छैन ।
चुनाव हुने हो भने राष्ट्रवादी स्वप्नद्रष्टाहरूले नेतृत्व गरेर समाज रूपान्तरणको गति अगाडि बढाउन पाउँथे । समाज रूपान्तर तीव्र गतिमा हुन सक्थ्यो । तर जाली, झेली, फटाहा, यथास्थितिवादी माफियाहरूले एकपछि अर्को बहानामा चुनावको मिति घोषणा नगरेर जनभावना र जनमत कुण्ठित पारिरहेका छन् । अचम्म छ तीनै लोक र गणतन्त्रको दुहाई दिएर ठूला भाषण गर्छन् र सत्ता कब्जा गरेर बसेका छन् ।
जनताले आफ्नो अभिमत दिन र प्रतिनिधि चुनेर जनप्रतिनिधिमार्फत आफ्नो विकास निर्माण र प्रगति गर्न पाउनुपर्छ । यसको पक्षमा हाम्रा सञ्चारकर्मी, बुद्धिजीवी, पढालिखा प्राध्यापकहरू खै चुनावको मिति घोषणा गराउन लागेको ? दसौंपटक अनसन बस्ने गोविन्द केसी र उनका पछि लाग्ने नयाँ बुद्धिजीवीहरू कता अलमलिएका छन् ? फुर्सदिला नागरिक समाजका विवेकशील नेपाली, समाजमा जागरण ल्याउने गफ गर्ने अभियन्ताहरू खै अनसन बसेका ?
नेपालका केजरीवालको गफ दिनेहरू कहाँ बिलाए ? कि भारत, रूस, चीन, जर्मनी, अमेरिकाका नेता जस्तै नेपालमा ओलीले चुनाव जितेर शासन गर्लान् र चीन जोड्ने रेल, घरघरमा ग्याँसको पाइप, लोडसेडिङ अन्त्य, समुद्रमा नेपाली जहाज र काठमाडौंमा ट्राम चलाउलान् र नेपालको राजनीतिमा एक्का बन्लान् भनेर तर्सिएका हुन् ? मंसिर, पुस र माघमा पहाडमा कठ्यांग्रिने जाडो र तराईमा शीतलहरमा जकडिएर मात्र बसेनौँ र जनतालाई चुनावी सरगर्मीले तताउने हो भने जोजो यसमा लाग्छौ नेताहरू हो, जित तिमीहरूकै हुनेछ !
चुनावसँग नतर्स र हारसँग नझस्क नेताहरू हो ! अन्यथा सुन्दरीजल बीपी संग्रहालयछेउका योगीराज मालनाथ अघोरीले भनेजस्तै नेताहरू मादल हुन् र चुनावले त्यसलाई सावित गर्नेछ । अघोरीको कथाअनुसार दमाहाको दुमदुमी र ठूलो स्वर सुनेपछि स्यालमा कूतुहलता जागेछ, होइन यो मादलभित्र के छ ? उसलाई मादल मोरेको छाला च्यातेपछि पो थाहा भो, त्यो त पुङमाङ रहेछ ।
योगीराजले स्थानीय चुनावको प्रसंग झिक्दै भने, लोकतन्त्रमा चुनाव समयमा हुनुपर्छ, होइन भने केको लोकतन्त्र ? केको गणतन्त्र ? अमेरिकामा ट्रम्पले जनताको समर्थनमा चुनाव जिते, के पर्लय भयो ? तर अठार वर्षमा पनि हाम्रा नेता स्थानीय चुनावबाट किन डराइरहेका छन् भने उनीहरूलाई मादलभित्र के छ, राम्रोसँग थाहा छ !