संविधान संशोधनमा प्रचण्ड र ओलीबीच सकारात्मक वार्ता
काठमाडौं: संविधान संशोधन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
व्यवस्थापिका-संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच बुधबार अपराह्न कुराकानी भएको हो ।
करिब ४५ मिनेट भएको कुराकानी सकारात्मक रहेको भेटपछि प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिए ।
भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘एमालेका अध्यक्ष ओलीजीसित संविधान संशोधनको विषयमा सकारात्मक रुपमा कुराकानी भयो ।’
प्रचण्डले दुई नेताबीचको भेटवार्ता सकारात्मक भएको उल्लेख गरे । ‘उहाँ यस विषयमा सकारात्मक देखिनुभएको छ’, प्रधानमन्त्री प्रचण्डले भने ।
सोमबार मधेसी मोर्चाले संविधान संशोधनका निम्ति १५ दिनको अल्टिमेटम दिएपछि प्रधानमन्त्रीले शीर्ष नेतासँगको छलफललाई तिब्रता दिएका छन् ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन साथ दिएको मोर्चाले संविधान संशोधनका नाममा उनले धोका दिएको भन्दै केही समययता व्यवस्थापिका संसद् बैठक समेत बहिष्कार गर्दै आएको छ । मोर्चाले संविधान संशोधन प्रस्ताव छिटो ल्याउनका निम्ति दबाब स्वरुप बैठक बहिष्कार गरेको बताएको छ ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकार गिराएर प्रचण्ड नेतृत्वमा कांग्रेस एमाले गठबन्धनको सरकार बनेपछि दुई नेताबीचको सम्बन्ध चिसिएको थियो । पछिल्ला दिनमा भने ओली र प्रचण्डबीच भेटवार्ताले निरन्तरता पाउँदै आएको छ ।