बिजुली हुकिङ गर्ने ११ पक्राउ
राजविराजः विद्युत् चुहावट बढेपछि सप्तरीमा विद्युत् ‘हुकिङ’ नियन्त्रण गर्ने अभियानअन्र्तगत बुधबार ११ जना विद्युत् चोर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले सदरमुकाम राजविराजबाट उनीहरुलाई विद्युत् हुकिङ गर्दागर्दै पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।
पक्राउ परेका व्यक्तिमाथि विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत कारबाही हुने प्राधिकरणले जनाएको छ ।
यस्तै प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले चौपाया चोरी मुद्दामा अदालतबाट फरार दुई जनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका–२ फतेपुर बस्ने महेन्द्र चौधरी र बहुविवाह मुद्दाका फरार लिल मो मन्सुरी रहेको इप्रका कञ्चपुरले जनाएको छ ।
जिल्ला अदालत राजविराजले चौधरीलाई दुई दिन कैद र रु १२ हजार जरिवाना सजाय तोकेको थियो भने मन्सुरीलाई एक महिना कैद र रु दुई हजार जरिवाना गरेको थियो । रासस