अवैध भारुको असरः क्यासिनोमा आउन छाडे भारतीय
विराटनगरः पाँच सय र हजारका भारतीय नोटमा प्रतिबन्ध लगाइएसँगै पूर्वमा सञ्चालनमा रहेका मिनि क्यासिनोमा भारतीय ग्राहकहरू आउन छाडेका छन् ।
एक साताबाट भारतीय आउन छाडेपछि ग्राहक अभावका कारण क्यासिनो नै बन्द हुने अवस्थामा पुगेका छन् । जुवाजन्य खेलका रूपमा लिइने क्यासिनोमा नेपालीलाई भने प्रवेश निषेध गरिएको छ ।
भारतीय ग्राहकका लागि भनेर सञ्चालन गरिएका क्यासिनो भारतमा एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाइएसँगै अप्ठेरोमा परेका छन् । पूर्वका विराटनगरमा एउटा र काँकडभित्तामा दुईवटा मिनि क्यासिनो सञ्चालनमा छन् ।
विराटनगरमा रहेका दुईवटामध्ये ग्राहक अभावका कारण एउटा यस अघि नै बन्द भइसकेको थियो । पूर्वका क्यासिनोमा यस अघि दैनिक सय जनाभन्दा बढी भारतीय आउने गरेका थिए । ‘एक साताबाट ग्राहक नै आउँदैनन् ।
आइहाले पनि दुई÷चार जना मात्र आउँछन्,' विराटनगरको रत्ना होटेलमा सञ्चालित क्यासिनोका म्यानेजर शिव राईले भने, ‘भारतमा ठूला नोटमा प्रतिबन्ध लगाउँदा त्यसको असर नेपाली क्यासिनो बजारमा पनि परेको छ । यसलाई कसरी व्यवस्थापन गर्ने भनेर मुस्किल परिरहेको छ ।'
विराटनगरमा सेन्ट्रल मिडिया प्राईभेट लिमिटेडको नाममा रत्ना होटेलमा क्यासिनो सञ्चालनमा छ । काँकडभित्तामा रक इन्टरनेशनल प्राईभेट लिमिटेडले रियाज नाम दिएर र ह्याप्पी आवर प्राईभेट लिमिटेडले ढाका नाम दिएर क्यासिनो सञ्चालन गरेका छन् । राईका अनुसार भारतमा ठूला नोटमा प्रतिबन्ध लगाइएका कारण साना नोट बोकेर क्यासिनो आउन भारतीयले झन्झट मान्ने गरेका छन् ।
‘क्यासिनोमा थोरै पैसा बोकेर आउने कुरा पनि भएन,' उनले भने, ‘साना नोट धेरै हुने भएकाले बोक्न पनि अप्ठ्यारे हुन्छ ।' राईका अनुसार क्यासिनोमा आउने भारतीयहरू ठूला नोट लिएर आउने र सटही काउन्टरमा साटेपछि नेपाली नोट बोकेर क्यासिनो छिर्ने गर्थे ।
ठूला नोटमै प्रतिबन्ध लागेपछि र प्रतिबन्धित नोट सटही काउन्टरले साट्न नमानेपछि क्यासिनो आउने ग्राहकमा कमि आएको हो । ‘ठूला नोटमा लागेको प्रतिबन्ध अघि दैनिक सय जनासम्म आउने गरेका थिए,' उनले भने, ‘साताबाट यो संख्या चार÷पाँच प्रतिशतमा झरेको छ ।' राईले ग्राहक संख्यामा कमि आएसँगै क्यासिनोले व्यापार घाटा सहनु परिरहेको सुनाए ।