लघुवित्त र भ्रष्टाचार

लघुवित्त र भ्रष्टाचार

लघुवित्त अवधारणाले विगत तीन दसकयता विशेषगरी समाजका विपन्न र निम्नमध्यम वर्गको स्वसंलग्नताबाटै रोजगार र आयआर्जनको अभियानका रूपमा दक्षिण एसियाका विभिन्न मुलुकमा मान्यता पाएको छ । खासगरी बंगलादेशका अर्थशास्त्री तथा नोबेल शान्ति पुरस्कार विजेता डा. महम्मद युनुसले त्यसलाई त्यहाँका अशिक्षित र ग्रामीण महिलाहरूको सहभागिता अपनत्व र नेतृत्वमै लघुवित्त अवधारणालाई व्यावहारिक स्वरूप दिन सफल भएपछि त्यो 'मोडेल' ले नेपाललगायत दक्षिण एसियाका अन्य मुलुकहरूमा पनि अनुमोदन पाएको हो ।

त्यसले बंगलादेशमा खासगरी ग्रामीण महिलाहरूको आर्थिक हैसियत र त्योसँग जोडिएको सामाजिक सम्मान र उनीहरूको जीवनस्तर उकासेको छ देखिने गरी । यद्यपि यो बीचमा डा. युनुस स्वयं माथि पनि अभियानको केन्द्रीय नेतृत्वमा प्रत्यक्ष–परोक्ष पकड जमाइरहेको आरोप लागेको छ । यो दक्षिण एसियालगायत तेस्रो विश्वको नियति नै हो कि राजनीतिज्ञहरूमाथिको जनविश्वास अत्यन्त कमजोर हुँदा अन्य सामाजिक तथा समानता र स्वरोजगारका अभियन्ताको अभिभावकत्व सकेसम्म लाभकर्ताहरूले लामो समयसम्म गुमाउन चाहँदैनन् । त्यस अर्थमा डा. युनुसको निरन्तरता र त्यसबाट उत्पन्न विवादको पृष्ठभूमि बुझ्न सकिन्छ ।

लघुवित्त योजना सहभागिता र स्वराजगारको एउटा सफल प्रयोग बंगलादेशमा बन्न पुगेपछि अन्यत्र पनि त्यो 'मोडेल' अपनाउन थालियो । तर त्यसमा आवश्यक प्रतिबद्धता र लक्षप्रतिको समर्पण भाव रहेन भने त्यसलाई ठगीको अर्को माध्यम बनाउन सकिन्छ । लघुवित्तको नेतृत्व तह 'ग्रासरुट' बाटै आउनुपर्ने मात्र हैन, त्यसका सदस्यहरूमा पनि त्यसको सञ्चालनसम्बन्धी नियम र पारदर्शितासँगै लक्षबारे पूर्ण जानकारी र प्रतिबद्धता हुनु आवश्यक हुन्छ । त्यसले मात्र त्यसको दुरुपयोग र कुनै सदस्यलाई ठगिनबाट रोक्न सक्छ ।

नेपालमा बैंक र सहकारीका नाममा गठित कतिपय स्थानीय तहका संस्थाहरूमा लगानीकर्ता र आम जनता बर्सेनि ठगिने गरेका छन् । यता आएर गोरखाको लघुवित्त संस्थाबाट कर्जा लिनेहरूमध्ये केही आत्महत्याको विवशता स्विकार्न बाध्य भएका छन् । लघुवित्त चर्को ब्याजमा ऋण दिने संस्था हैन, त्यो स्वरोजगार निर्माण र त्यो सिद्धान्तमा आधारित उत्पादन बढाउनको लागि हो र ऋण दिनेदेखि त्यसको अपेक्षित लगानी प्रक्रियामा संस्थाका नियमित निगरानी र मार्गदर्शन आवश्यक प्रक्रिया मानिन्छन् । एउटा प्रयोजनको लागि ऋण निकासा गर्ने अनि त्यसको ब्याज र सावाँ जुनसुकै हिसाबले पनि तिर्ने अवधारणाले लघुवित्त स्थापित भएका हुँदैनन् ।

अर्थात् गोरखा ताङ्लिचोक- ९ की दुनीमाया चेपाङले एक स्थानीय लघुवित्तबाट २० हजार रुपैयाँ ऋण लिएर तिर्न नसक्दा आत्महत्या गर्नु बीचका सबै क्रियाकलापमा भ्रष्टाचार र लघुवित्तको अवधारणाविपरीतका गतिविधि भएको स्पष्ट हुन्छ । यस्तो नियति अन्य कैयौंले भोग्नुपर्ने विवशता आउन सक्छ, समयमै सरकारले यसको छानबिन या सम्बन्धित लघुवित्त योजनाहरूले आत्मसमीक्षासँगै सुधार गरेनन् भने । लघुवित्त योजना या संस्थाका सञ्चालकहरूको राजनीतिक संलग्नता र योग्यता पनि छानबिनको दायरामा आउनु आवश्यक छ ।

सामान्यतया, यस्ता संस्थाहरूबाट लिइने ऋण घोषित उद्देश्यमा खर्च भएन या ऋण दिने प्रक्रियाले धेरै लामो समय लिएमा या कमिसन दिनुपर्ने अवस्था आएमा ऋणकर्तासँग घोषित परियोजनामा लगानी गर्ने हैसियत रहने छैन । अन्ततः त्यो ऋणको दुरुपयोग या अनुत्पादक प्रयोजनमा खर्च भई उनीहरूले आत्महत्या गर्नुपर्ने स्थिति आउनेछ । अहिले गोरखामा त्यस्तो दुरवस्थाको पहिचान भएको छ, यस्ता घटना अन्यत्र पनि हुनुपूर्व समग्र लघुवित्तलाई कसरी चुस्त, सक्षम र पारदर्शी बनाउने, सरकारले विज्ञहरूको उच्चस्तरीय र अधिकारसम्पन्न टोली गठन गर्नु आवश्यक छ, अन्यथा आत्महत्या आम घटना बन्न सक्छ गरिब मजदुर र ग्रामीणहरूका लागि मुलुकमा ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.