डम्पिङ साइड नहुँदा बजार क्षेत्र र राजमार्ग दुर्गन्धित
बैतडीः डम्पिङ साइड नहुँदा सदरमुकामको बजार, पाटन बजार र राजमार्ग दुर्गन्धित भएको छ । बढ्दो बजारीकरणसँगै नगरपालिकाले फोहर व्यवस्थापन गर्न डम्पिङ साइडका लागि उचित ठाउँ नपाउँदा लामो समयदेखि बजार क्षेत्र दुर्गन्धित बन्दै गएको हो ।
जिल्लामा रहेका पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा फोहर फाल्ने ठाउँको अभाव रहेकाले फोहर व्यवस्थापनमा चुनौती देखिएको छ ।
विसं २०५४ मा स्थापना भएको दशरथचन्द नगरपालिकामा स्थापनाकालदेखि फोहर व्यवस्थापनका लागि डम्पिङ साइडको खोजी गरिए पनि अहिलेसम्म फेला पार्न नसकेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए ।
नगरपालिकाले विभिन्न क्षेत्रमा वातावरणीय प्रभाव अध्ययन गरेर तीन ठाउँ छनौट गरेपनि जमिन नपाउँदा डम्पिङ साइड निर्माण गर्न नसकेको हो’ उनले भने । नगरपालिकाले केही वर्षयतादेखि डम्पिङ साइड निर्माणको कुरालाई प्रमुखताका साथ उठाए पनि डम्पिङ साइडका लागि जमिन नहुँदा निर्माण कार्य अगाडि बढाउन नसकिएको हो ।’
दशरथचन्द नगरपालिकाको वडा नं ६ आमपीपल, वडा नं ७ जलपौडा र वडा नं ८ रानीबुंगामा वातावरणीय हिसाबले डम्पिङ साइड निर्माण गर्न सकिने भए पनि जग्गा बिक्री गर्ने मानिस नआउँदा समस्या भएको छ । उता पाटन नगरपालिकाले पनि अहिले घाङ्ल खोलामा अस्थायी रुपमा नगरपालिकाभित्रको फोहर व्यवस्थापन गरिरहेको कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिए ।
स्वास्थ्यमा गम्भीर असर पार्ने
बजारमा थुप्रेका फोहरको सही व्यवस्थापन नहुँदा विभिन्नखालका रोग लाग्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् । फोहरको स्थायीरुपले व्यवस्थापन नहुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने जिल्ला अस्पतालका डा शशि कँडेलले बताए ।
सार्वजनिकस्थलमा राखिएको फोहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै अस्थायी रुपमा व्यवस्थापन गरिएको फोहर पनि पानीका स्रोतमा मिसिदा पानी समेत प्रदुषित हुने उनको गुनासो थियो ।
सडक छेउमा फोहर हुँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको गोठलापानीका व्यापारी खिमानन्द भट्टले बताए । बजार क्षेत्रबाट निस्किएको फोहरलाई सबै एकै ठाउँमा राख्दा झन समस्या भएको छ । रासस