फुटबल खेलाडीलाई प्रधानमन्त्रीको सम्मान
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फाइनलमा विजयी खेलाडीलाई सम्मान गरेका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास वालुवाटास्थित प्रधानमन्त्रीको सचिवालयमा खेलकूदमन्त्री दलजित श्रीपाइलीको उपस्थितिमा देशको गौरव बढाउने खेलाडीलाई सम्मान गरिएको हो ।
खेलाडीको सम्मानमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले भने, ‘२१ वर्षयता फुटबलको क्षेत्रमा नेपालले ठूला पदक जित्न सकेको थिएन । तर, पछिल्लो एक वर्षमै नेपालले ठूला तीन पदक जितेको छ, नेपालको विजयी सुरुवात भइसकेको छ ।’
यो जितले युवाहरुमा आत्मविश्वास बढाएको प्रधानमन्त्रीको भनाइ छ । ‘यो जितले नेपालको गौरव बढाएको छ, नेपालीको मनोबल उच्च भएको छ, युवाहरुमा आत्मविश्वास बढेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसका लागि सम्पूर्ण बिजेता टिमलाई म हृदयदेखि नै बधाइ दिन चाहन्छु ।’
खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले, ‘तपाईहरुको सम्मान र मनोबलका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।’
खेलाडी सम्मान कार्यक्रममै प्रधानमन्त्रीले रंगशाला निर्माणको विषय समेत सम्झिएका छन् । ‘भूकम्पबाट क्षतिग्रस्त रंगशाला पूनर्निर्माणको काम अघि बढिसकेको छ, छिटै रंगशाला पूनर्निर्माण हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘अब त्यो रंगशाला पनि सानो भइसकेको छ, बृहत रंगशाला निर्माणका लागि सरकारले छिटै काम अगाडि बढाउनेछ ।’
सम्मान कार्यक्रममा एन्फाका कार्यबाहक अध्यक्ष मणि कुंवरले भूकम्पबाट क्षतिग्रस्त पूनर्निर्माण र खेलाडीको प्रोत्साहन एवम् सम्मानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।