भारतीय रुपैयाँ प्रतिबन्धः राष्ट्र बैंकको पनि कार्यदल
काठमाडौः नेपालीसँग रहेका पाँच सय र हजार दरका भारु सटहीको व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले कार्यदल गठन गरेको छ । कार्यदलले भारु सटहीसम्बन्धी अध्ययन गरी तीन दिनभित्र सुझावसहितको प्रतिवदेन तयार पार्ने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।
‘भारत सरकारले गत साता मंगलबार प्रतिबन्धलगाएका पाँच सय र हजार दरका भारु सटही समस्या समाधानका लागि अध्ययन गर्न कार्यदल बनको हो’, उनले भने, ‘कार्यदलले पहिला अध्ययन गरी सुझाव दिन्छ र पछि कार्यान्वयनका लागि सहजीकरण गर्छ ।’
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा बिहीबार सात सदस्यीय कार्यदल बनको हो । राष्ट्र बैंकले कार्यदल बनाएर नोट सटही प्रक्रिया सहजीकरण गर्न लागेको हो ।
भारतले पनि मंगलबार नेपाल र भुटानमा रहेका भारु सटहीको अध्ययन गर्न कार्यदल गठन गरेको थियो । यससँगै भारु सटही समस्या समाधान हुने सम्भावना बढेको छ । भारु ठूला दरका नोटमा प्रतिबन्ध लगाएपछि कतिपय ठाउँका व्यापारिक क्षेत्रमा साना दरका भारु पनि चल्न छाडेका छन् ।
बैंकले ५० र सयका भारु सहजै स्वीकार गरे पनि व्यापारिक क्षेत्रमा भने पूरै प्रतिबन्धित जस्तै भएको एक व्यापारीले बताए । ‘जोखिम मोलेर व्यापार गर्नुभन्दा बरु नगर्न नै राम्रो’, उनले भने ।
ठूलादरका भारुमा प्रतिबन्धलगाएपछि साना दरका नोट चलन गर्न पनि व्यापारी डराएका हुन् । बैंकले भने सानादरका नोट दिने र लिने दुवै गरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।
कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा भारतलाई नोट सटहीसम्बन्धी प्रतिवेदन पठाइन्छ र त्यसपछि उताबाट नोटका सम्बन्धमा के कति कसरी साट्ने सुझाव आउँछ । त्यहीअनुसारको कार्ययोजना बनाएर भारु सटहीको व्यवस्था मिलाउने राष्ट्र बैंकले बताएको छ । कुन बैंक र शाखाबाट कतिसम्मको रकम साट्न सकिने सीमा तोकिएपछि त्यसलाई कार्यान्वयनमा लैजान कार्यदलले सहजीकरणको भूमिका खेल्नेछ ।
भारु सटहीसम्बन्धी कार्यदलको सदस्यमा अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख, राष्ट्र बैंक विदेशी विनिमय महाशाखा प्रमुख, बैंकिङ कार्यालय थापाथलीका प्रमुख, नेपाल बैंकर्स संघ, विकास बैंक संघका प्रतिनिधि सदस्य छन् । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक कार्यदलको सदस्य सचिव छन् ।
अर्थ समितिको निर्देशन
व्यवस्थापिका संसद्को अर्थसमितिले भारु सटही व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिले बिहीबार नेपालीसँग रहेको भारतले बोक्न र राख्न सुविधा दिएको वैध भारु सटहीका लागि चाँडो पहल गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।
भारतीय पक्षले अहिलेसम्म नेपालमा रहेको भारु सटहीका लागि कुनै निर्णय गरेका छैन । समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारुको व्यवस्थापन गर्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिइएको बताए ।
बैठकमा राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले नेपाली जनतासँग भएका भारु व्यवस्थापनका लागि भारतीय रिजर्ब बैंकसँग निरन्तर सम्पर्कमा रहेको र चाँडै समस्या समाधान हुने दाबी गरे ।