भारु साट्न नपाउँदा व्यापारी समस्यामा
नारायणगढ चितवनः नक्कली नोटबाट छुटकारा पाउन भारत सरकारले पाँच सय र एक हजार दरका नोट बैंकमा तानेपछि त्यसको असर चितवनका व्यवसायीमा समेत परेको छ । भारतीय नोट साट्न नपाउँदा यहाँका व्यवसायी समस्यामा छन् । विशेषगरी भारतका विभिन्न सहरमा पुगेर थोकमा सामान खरिद गरी ल्याउने व्यवसायी भारतीय नोट साट्न नपाउँदा समस्यामा परेका छन् ।
चितवनमा कपडा, खाद्यान्न, सवारीसाधन, मोबाइल र विद्युतीय सामग्री भारतबाट आयात हुने गरेको छ । ठूलादेखि साना व्यापारीसम्मले आफ्नो हैसियतअनुसार भारतीय रुपैयाँ लिएर कारोबार गरेका छन् ।
नेपालमा भारतीय रुपैयाँ जम्मा पारेर भारतमा गएर सामान खरिद गर्ने व्यवसायीलाई अहिले भारतीय नोट टाउको दुखाइको विषय भएको छ । एक्कासी भारत सरकारले पाँच सय र एक हजारका नोट कारोबार नगर्न सूचना जारी गरेपछि यहाँका व्यवसायी कसरी ती नोट साट्ने भन्ने चिन्तामा परेका छन् ।
‘कपडा खरिद गर्न केही भारतीय नोट राखेको थिएँ, अहिले त्यसलाई कसरी साट्ने भन्ने चिन्ता लागेको छ', कपडा व्यवसायी गणेश सापकोटाले भने, ‘आफूसँग भएको पैसाले काम गर्न नपाएपछि व्यवसाय चलाउन गाह्रो भएको छ । पैसा छ तर कारोबार हुँदैन ।'
भारतले ठूला नोटलाई बन्देज गर्दा आफ्नो व्यापारमा असर परेको नारायणगढका कपडा व्यवसायी लक्ष्मीनारायण श्रेष्ठ बताउँछन् । ‘हामीसँग भएका केही भारतीय नोट साट्न पाएका छैनौं', उनले भने, ‘सरकारले नेपालीसँग भएको पाँच सय र हजारका भारतीय नोट नेपालमै साट्न पाउने व्यवस्था गर्नुपर्छ ।'
कालोबजारमा सटही
नारायणगढका एक व्यवसायीका अनुसार भारतीय नोट साट्न समस्या भएपछि लुकेर कालोबजारमा नोटको सटही गर्ने व्यक्ति सक्रिय भएका छन् । भारतीय एक हजार रुपैयाँको नोट लिएर नेपाली एक हजार रुपैयाँ दिने गिरोह नै सक्रिय रहेको उनले बताए । भारतीय एक हजार रुपैयाँको नेपाली एक हजार ६ सय रुपैयाँ हुन्छ तर गिरोहले भारतीय रुपैयाँ जति हो त्यत्ति नै नेपाली रुपैयाँ दिने गरेको ती व्यवसायीले बताए । नारायणगढमा एक हजार भारतीय रुपैयाँ बराबर एक हजार तीन सय नेपाली रुपैयाँ लिएर बुधबारमात्रै २० हजार भारतीय रुपैयाँ साटेको एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
चितवनमा कपडा, खाद्यान्न, सवारीसाधन, मोबाइल र विद्युतीय सामग्री भारतबाट आयात हुने गरेको छ ।
‘पहिले फोनमा कुरा गरेर भेट्ने ठाउँ तय गरें', उनले भने, ‘हजार र पाँच सय दरका भारतीय नोट २० हजार रुपैयाँ बराबरको दिएर २६ हजार रुपैयाँ लिएँ । ६ हजार रुपैयाँ घाटा खानु पर्यो ।' ठूलो मात्रामा भारतीय नोट राखेका व्यापारीले एक लाख रुपैयाँ भारतीय नोट दिएर एक लाख रुपैयाँ नेपाली लिने गरेका छन् ।
भारतीय रुपैयाँ साट्ने सरकारी व्यवस्था नभएपछि कालोबजारमा पैसा साट्ने समूह सक्रिय भएको नारायणगढका व्यवसायीले बताएका छन् । नारायणगढका एक व्यापारीले दुई लाख भारतीय रुपैयाँ साट्न वीरगन्ज पुगेको बताए । उनका अनुसार चितवनमा एक लाख रुपैयाँभन्दा कम भारतीय रुपैयाँ साट्ने भए पनि त्योभन्दा बढी रकम साट्ने छैनन् ।
गोप्यरुपमा लुकीछिपी भारतीय नोट साटिने गरेकाले प्रहरी ती समूहसम्म पुग्न सकेको छैन । चितवनमा कालोबजारी गरेर पैसा साट्ने गरेको सुनिए पनि त्यसको सत्यता नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले दाबी गरे । ‘यस्तो हल्ला हामीले पनि सुनेका थियौं तर अहिलेसम्म पैसा साट्ने गिरोह फेला पार्न सकेका छैनौं', उनले भने, ‘भारतीय रुपैयाँ सटहीमा हुने कालोबजारीका विषयमा अनुसन्धान सुरु गरेका छौं ।'