ट्रम्प र पुटिनका मित्र बन्न इच्छुक फिलिपिनो राष्ट्रपति
मनिलाः फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले ‘एकजना सुपात्रको शानदार विजय भएको' भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
केही महिनाअघि राष्ट्रपति डुटेर्टेले ठूलै हिम्मत गरी फिलिपिन्समा लागू पदार्थका तस्कर र दुव्र्यसनीहरूविरुद्ध युद्धस्तरमा कारबाही चलाएका थिए । सोही क्रममा धेरैलाई धरपकड, थुनछेक र कठोर दण्डसजाय गर्दा ज्यादती गरेको भनी अन्तर्राष्ट्रिय स्तरमा उनले निकै आलोचना खेप्नु परेको थियो ।
त्यस बखत आफ्नो कारबाहीलाई समर्थन गरी सघाउनुको सट्टा उल्टै आलोचना गरेको भनी अमेरिकी राष्ट्रपति बाराक ओबामासँग रुष्ट भएका थिए । उनले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई लक्षित गरी दुर्वाच्य समेत बोलेका थिए ।
निर्वाचनमा ट्रम्प विजयी भएकोमा हाल आफू निकै प्रसन्न रहेको पनि राष्ट्रपति डुटेर्टेले स्पष्ट पारेका छन् । आफू ट्रम्पसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । त्यसैगरी राष्ट्रपति डुटेर्टेले निकट भविष्यमा पेरुको राजधानी लिमामा आयोजना हुन गइरहेको एसिया तथा प्रशान्त महासागरीय राष्ट्रहरूकाबीच आर्थिक सहयोग मन्च (एपेक) को शिखर सम्मेलनमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न समेत उत्साहपूर्वक प्रतीक्षा गरिरहेको पनि जानकारी दिएका छन् ।
अमेरिका र फिलिपिन्सबीच चिसिएको सम्बन्ध ट्रम्पको कार्यकालमा सुधारिन्छ त भन्ने प्रश्नको जवाफमा उनले भने, ‘किन सुधार नहुनु, मेरो कसैसँग रिस,राग, झै–झगडा छैन । म सबैका मित्र बन्न इच्छुक छु ।'
रूसका राष्ट्रपति पुटिनसँग किन भेटघाट गर्ने भन्ने जिज्ञासा राखिएकोे अर्को प्रश्नको उत्तरमा ‘राष्ट्रपति पुटिन पनि बन्दुक (कडा र अन्तिम कारबाही) निकै मन पराउने नेता भएकाले उनको र आफ्नो धारणा मिल्ने बताएका थिए । एपेक शिखर सम्मेलनमा पुटिसँग रूस र फिलिपिन्स घनिष्ठ मित्र हुनुपर्यो भन्ने प्रस्ताव राख्ने पनि डुटेर्टेले खुलासा गरे ।रासस/एपी