ट्रम्पको विजयले सर्वेक्षण अन्योलमा
वासिङटनः अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित व्यक्तित्व डोनाल्ड ट्रम्पले अधिकांश व्यक्ति तथा संस्थाको अनुमान मतदान सर्वेक्षण विपरीत नतिजा ल्याउन सफल भए भन्ने विषयमा अमेरिकी राजनीतिका जानकार, विज्ञ तथा मत सर्वेक्षकले मूल्यांकन सुरु गरेका छन् ।
अमेरिकी निर्वाचनका समयमा भएको मत सर्वेक्षणले सही अनुमान गर्न नसक्दा निर्वाचनको परिणाम जतिबेला घोषणा भयो । त्यसले सबैलाई चकित तुल्यायो । सर्वेक्षणले विश्वभर अमेरिकी पूर्व विदेशमन्त्री तथा रिपब्लिकन पार्टीका नेता हिलारी क्लिन्टन विजय हुने विश्वास गरिएको थियो ।
यस्तो किन भयो भन्ने प्रसंगमा ब्रकिङ्स इन्सिटच्युसनका वरिष्ठ सदस्य डारेल वेस्टले भने, ‘ट्रम्पका मतदाताहरू’ले मत ट्रम्पलाई नै दिने अडान लिएर बसे पनि सर्वेक्षणमा आफूलाई खुलाउन चाहेनन् । यसमा ट्रम्पबाट आएका अभिव्यक्तिप्रति सञ्चारमाध्यम तथा सामाजिक सञ्चालनमा आएका आलोचना कारक थिए।’
अमेरिकी निर्वाचन अभियानको सुरुदेखि नै ट्रम्पद्वारा गरिएको विवादास्पद टिप्पणी वास्तवमै उनीमाथि आएको आलोचनाको कारक बने । रिपब्लिकन नेता ट्रम्पले मेक्सिकोबाट अमेरिकामा आएका मेक्सिकन नागरिकमाथि अपराधी, बलात्कारी भन्दै विश्वबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका आप्रवासीको फिर्ता गर्ने घोषणा गरे ।
यीमध्ये लाखौं स्पेनी भाषी मानिसहरू थिए । लाखौँको उपस्थिति रहेको समुदायविरुद्ध मतदाता खुलेर बोल्दा आपूmमाथि साम्प्रदायिक पूर्वाग्राह राखेको देखिने भयका कारण उनीहरू बोल्न चाहदैनथे तर उनीहरूको मौन समर्थन ट्रम्पप्रति रहेको थियो ।
पछिल्लो तथ्यांकले ५३ प्रतिशत अमेरिकी महिलाले ट्रम्पलाई मत दिएको देखाएको छ । आधाभन्दा बढी गोरा जातिका महिलाले ट्रम्पले आफ्नो चासोलाई सम्बोधन गर्ने आश्वासनपछि ट्रम्पलाई नै मतदान गरे । उनीहरूलाई आफ्नो समस्या सम्बोधन ट्रम्पबाट हुने विश्वास बन्यो ।
ट्रम्पप्रति अमेरिकी जनताको अर्को आकर्षण बाराक ओबामाले अमेरिकी अर्थतन्त्रमा सुधार गर्ने प्रतिबद्धताअनुरूप काम गर्न नसक्नु थियो । अमेरिकी अर्थतन्त्रमा जुन समस्या देखियो यसलाई वर्तमान राष्ट्रपति बाराक ओबामा सत्तामा रहँदा केही हदसम्म सम्बोधन भए पनि अपेक्षाकृत सुधार आउन नसकेकको ट्रम्प समर्थक अमेरिकीको दाबी छ ।
उनीहरूले ग्रामीण समुदायको अर्थतन्त्र सुधार हुन नसक्दा ग्रामीण जनतामाझ राष्ट्रपति ओबामाले आठ वर्षसम्म पनि अर्थतन्त्र सुधार गर्न नसकेको महसुस भएका कारण निराश ग्रामीण क्षेत्रका बासिन्दा ट्रम्पतिर झुके । तर सर्वेक्षणले बढी महत्व घना जनसंख्या रहेका सहरी क्षेत्रलाई महत्व दिए ।
न्युयोर्क तथा वासिङटनमा अथाह रोजगारीका अवसरमा रहे पनि ग्रामीण क्षेत्र भने विगत कैयौँ वर्षदेखि आर्थिक गतिविधिले उल्लेख्य स्थान पाउन नसक्नु र अर्बपति व्यापारी निर्वाचित भएमा यसको सम्बोधन हुने आशाका साथ ग्रामीण क्षेत्रबाट ट्रम्पलाई समर्थन मिल्यो ।
लसभेगसस्थित युनिभर्सिटी अफ नाभाडाका सहप्राध्यापक डान लीले प्राविधिक रूपमा अमेरिकी सर्वेक्षण सही रहेको दाबी गर्छन् । उनले सर्वेक्षणमा दाबी गरिएअनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार क्लिन्टन अमेरिकीबीच लोकप्रिय भएको उनले प्राप्त लाखौं बढी मतले प्रमाणित गर्ने बताउँछन् ।
तर ट्रम्पका पक्षमा ‘इलेक्टोरल भोट’ बढी हुँदा राष्ट्रपति निर्वाचनमा विजय रिपब्लिकन उम्मेदवारको भएको हो । सर्वेक्षणमा अमेरिकी संघीय राज्यमा कसको पकड कति रहेको भन्ने मूल्यांकन गर्न सर्वेक्षक संघसंस्था असफल भएको उनी बताउँछन् । यो ठूलो क्षेत्रमा फैलिएको भूभागका लागि समस्याको विषय बन्ने गरेको ली बताउँछन् ।
सर्वेक्षणमा कमजोरी हुनुमा अमेरिकीहरूबीच ठूलो संख्यामा सेल फोन प्रयोगकर्ता हुनु र कम प्रतिक्रिया आउनु पनि जिम्मेवार भएको लीको दाबी छ । ट्रम्पको विजयको सम्पूर्ण रहस्य खुल्न भने अझै केही समय पर्खिनुपर्ने विज्ञहरूको भनाइ छ ।